राजनीतिमा ‘त्याग’ को खडेरी

राजनीतिमा ‘त्याग’ को खडेरी

राजनीतिमा ‘त्याग’ भन्ने शव्दावली भएन भने के हुन्छ ? राजनीतिमा लाग्ने नेताहरुले घर, परिवार, आफन्त, नातागोता, छिमेकी सबै त्यागेर अघि बढ्ने हो भने उनीहरुले कुनै पनि देशमा क्रान्ति र परिवर्तनको लागि नेतृत्व गर्न सक्छन् । कुनै पनि समाजमा त्यागी मानिस भएनन् भने कसरी त्यो समाज विकासको बाटो अघि बढ्छ रु नेतृत्व गर्ने नेता नहुँदा निरंकुशता कसरी अन्त्य हुन्छ ?

यही नेतृत्वको सवालले यतिबेला नेपालको राजनीतिलाई तीब्र बहसमा ल्याएको छ । अझ भनौं, नेपालको आमूल परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको कम्युनिष्ट पार्टीका नेताहरुमा अहिले त्याग हराउँदै जान थालेको छ । 


दश वर्षे जनयुद्धमा त्याग गरेका पूर्व माओवादीका नेता र नेतृत्वमा त्याग हराउँदै जानु उनीहरुले क्रान्तिका लागि गर्नुपर्ने योगदान र दिनु पर्ने कोटा पूरा गरेकै कारण त्याग भन्ने शव्दावली हराएर ‘म र मेरो’ मा रुपान्तरण भएको त होइन ? त्यसैगरी पूर्व नेकपा एमालेमा पनि यही त्यागको खडेरी देखिएको छ । पूर्व एमाले र पूर्व माओवादी मिलेर बनेको नेकपा अहिले सरकारको नेतृत्व गरिरहेको छ । तर नेकपाभित्र पनि आफ्नो धारणाको त्याग, लाइनको त्याग, र गुटको त्याग हुन नसक्दा पार्टी नैं विघटन हुने त होइन भन्ने आशंका उत्पन्न भएको छ । 

त्यसैगरी मन्त्री बन्ने मोहको त्याग गर्न नसक्दा, पार्टीमा अध्यक्ष वा महासचिव बन्ने पदको लागि मोह त्याग गर्न नसक्दा कम्युनिष्ट, काँग्रेस, पञ्च, राप्रपा, राजावादी, मधेसी, फोरम, साझा, विवेकशील लगायतका पार्टीहरु बिगतमा फुटेको र चोइटिएको हामीले देखेकै हौँ ।

यदि नेपाली राजनीतिमा त्यागको खँडेरी थिएन भने हेलिकोप्टरमा दुर्घटनामा परी दिवंगत भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको तीन हप्ता हुन लाग्दा पनि किन उनको स्थान पूर्ति हुन सकेन रु सबैलाई झण्डावाल गाडीमा मन्त्रालय छिर्नुको शान र स्वाद चाहिएको छ अनि कसरी हुन्थ्यो त्याग र कसरी छानिन्थे मन्त्री ? 

पहिलेको राजनीतिमा खुव त्यागका बखान गाउँथे नेताहरु । तर अहिले तिनै नेता फुर्सदिला बनेका छन् र लडाई सुरु भएको छ त्यागको नभई प्राप्तिको । जव सरकार निर्माणको बेला आउँछ तव पार्टी अध्यक्षलाई सुरु हुन्छ टाउको दुखाई । यो गुट, ऊ गुट, यो समूह, ऊ समूह सबै आफूलाई मन्त्री र लाभको पद चाहियो भन्दै अध्यक्ष वा महासचिवलाई धम्क्याउने, थर्काउने, फकाउने आदि गरेर प्रभावमा पार्दै आफ्नो पोल्टामा पद हाल्न लालायित बन्ने गर्छन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रीमण्डलमा केही हेरफेर गर्ने भित्री सहमति गरेको चर्चा वाहिर छ । तर हेरफेर गरिने मन्त्री र मन्त्रालयमा आफ्नो पक्षका पर्ने हुन् कि नहुने हुन् भन्नेमा सर्वसाधारणदेखि, समर्थकसम्मलाई कौतुहलता छ । तर, नयाँ मन्त्री बन्ने अवको बाटोमा पनि कुनै सांसदले खुलेर त्याग गर्ने उद्घोष गरेको देखिएको छैन, सुनिएको छैन ।

त्याग भन्ने शव्दावली यति सस्तो भएर सेलाउँदै गएको छ कि श्रीमती मन्त्री भए श्रीमान् स्वकीय सचिव, श्रीमान मन्त्री भए श्रीमती स्वकीय सचिव वा यस्तै यस्तै । हेरौँ, यो त्यागबिनाको नेपाली राजनीतिले आगामी दिनमा कुन नेतालाई कहाँ पुर्याउँछ र नेपाली समाजलाई कुन मार्गमा डोर्याउँदै लैजान्छ !