कान्छो गाउँपालिकाको जेठो निर्णय

कान्छो गाउँपालिकाको जेठो निर्णय

धेरै स्थानीय तहमा जनप्रतिनिधिले सवारी साधन खरिद गर्न मरिहत्ते गरेको त सुन्दै आइएको हो । तर नेपालमै पनि यस्ता जनप्रतिनिधिहरु बाँकी रहेछन जसले आफ्नो सुविधा र शानसौकतलाई तिलाञ्जली दिँदै जनताको सुविधा हेरेछन । यस्तै एउटा गाउँपालिका हो उदयपुरको लिम्चुङबुङ गाउँकार्यपालिका । जिल्लाको सबै भन्दा कान्छो गाउँपालिका लिम्चुङबुङले पदाधिकारीहरुको लागि छुट्याएको पैसाले सार्वजनिक सवारी खरिद गर्ने भएको हो । शनिबार बसेको लिम्चुङबुङ गाउँकार्यपालिकाको बैठकले सदरमुकाम गाइघाट आतेजाते गर्न सार्वजनिक बस किनेर सञ्चालन गर्ने भएका छन् । 

दक्षिण कोरियामा लामो प्रवास जीवन गुजारेर नेपाल आएका मेजर राई यो गाउँको निर्वाचित अध्यक्ष हुन । उनै अध्यक्ष मेजरकुमार राईको नेतृत्वमा यस्तो निर्णय भएको हो । ‘लिम्चुङबुङ गाउँपालिकाले जनपक्षीय निर्णय गरेको छ,’ अध्यक्ष राईले भने । उनले थपे ‘गाउँपालिकाको जनप्रतिनिधिहरूले प्रयोग गर्ने गरी सवारी साधन किन्नको लागि छुट्याइएको बजेटले सर्बसाधारण जनताहरूको सहजताका लागि दुई वटा यात्रु बाहक बस खरिद गर्ने निर्णय गरेको छ ।’

अध्यक्ष राईले गाउँपालिकाको निर्णयबारे खुसी प्रकट गर्दै जनप्रिय निर्णय गर्न सहयोग गर्ने कार्यपालिका सदस्यसँग खुसी साटेका छन् । गाउँपालिकाले जनपक्षीय निर्णय गरेकोमा उदयपुरका राजनीतिककर्मी तथा समाजसेवीहरुले स्वागत गरेका छन् । रौतामाई गाउँपालिकाका राजनितिज्ञ ईश्वर मगरले लिम्चुङबुङले सार्वजनिक बस खरिद निर्णयलाई प्रशंसा गरे, ‘लिम्चुङबुङबासीको लागि यो सुखद समाचार हो, सबै पालिकाहरुले लिम्चुङबुङको सिको गरेर सर्वसाधरणलाई सेवा दिन आवश्यक छ ।’ मगरले भने ‘गाडी खरिद गर्ने लोकप्रिय काम त छदै छ अब त्यस गाडी गुड्नलाई १२ महिना नै चल्न सक्ने सडक बनाउन सुझाव दिन चाहन्छु ।’

सवारी गाईघाट, मुर्कुची, लिम्चुङबुङ, हलेसी सडक अन्तरगत सञ्चालन गरी गाईघाटबाट सिधै हलेसी सम्मको संचालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दुई वटा यात्रुबाहक बस खरिद गर्ने ५७ लाख रकम विनियोजन गरेको छ । कान्छो गाउँपालिकाले जेठो निर्णय गरेकोमा गाउँबासीको धन्यवादका पात्र भएका छन, अध्यक्ष मेजर राई ।