सिके राउतको पार्टीको नाम जनमत पार्टी, निर्वाचन आयोगमा दर्ता गर्ने 

सिके राउतको पार्टीको नाम जनमत पार्टी, निर्वाचन आयोगमा दर्ता गर्ने 

सिरहा, ४ चैत्र । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको लहानमा सम्पन्न बैठकले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ । 

सरकारसँग भएको ११ बुँदे सहमतिपछि पहिलो पटक दुई दिनसम्म लहानमा चलेको गठबन्धनको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो । यसअघि राउत समूह ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय थियो ।

पार्टीको अध्यक्ष सीके राउतलाई चयन गरेको बैठकपछि पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले आज जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । 

पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहने र पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्ट दल रहने निर्णय गरिएको बिज्ञप्तिमा उल्लेख छ । 

यस्तै चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको पनि खानद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिने जनाएको छ । बैठकले सरकारसँग भएको सहमति अनुरुप स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनका लागि पहल गर्न चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कार्यान्वयन समिति गठन समेत गरेको छ । 

साथै पार्टीको गठनसँगै जनमत जुटाउन जनतामा जाने र जनताबाटै संबैधानिक रुपमा जनताको समस्या, माग हकहित र अधिकारका लागि अनबरत रुपमा समर्पित र निःस्वार्थ रुपमा संघर्ष गर्ने प्रतिबद्धता बैठकमा जाहेर भएको विज्ञप्तिमा उल्लेख छ ।