राउतको विखण्डनको मुद्धा औपचारिक रुपमा विसर्जन

राउतको विखण्डनको मुद्धा औपचारिक रुपमा विसर्जन


नेपालको राजनीतिमा डा. सीके राउतको प्रवेश जति नै आश्चर्य लाग्दो थियो, यसको पटाक्षेप पनि आश्चर्य ढंगले भयो । तराई विखण्डनको मुद्धा लिएर राजनीतिमा हठात प्रवेश गरेका सीकेले पार्टीको वैठकबाट औपचारिक तवरले विसर्जन गरे । 


त्यत्रो भीषण जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा सीकेको उपस्थिति कहीं कतै थिएन । पहिलो संविधानसभाको हठात् विघटनपछि उनको राजनीतिमा प्रवेश भएको थियो । स्वतन्त्र मधेश समूह बनाएर मधेशलाई अलग गर्ने नारा लिएर उनी राजनीतिमा होमिए । उनले निर्वाचनमा भाग लिएनन् । 


केपी ओली नेतृत्वको सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा वादलसँग फागुन २४ गते ११ बुँदे सम्झौता गरेपछि उनी एकाएक चर्चामा आए । यसले मधेसको राजनीतिमा तीब्र बहस छेडियो । 


तराई÷मधेसका राजनीतिका मसिहा ठान्ने राजपा र संघीय समाजवादी फोरमका नेताले उनलाई मधेसमा वैधानिकता दिएका थिएनन् । उनलाई उपेक्षा गरिरहेका थिए । तर, केपी ओली सरकारले दिएको भाउबाट उनीहरु यतिबेला धेरै नै तर्सिएका छन् । डराएका छन् । 


डा. सी के राउतले पश्चिमा राजनीतिलाई मधेसमा फैलाएर चीनलाई घेर्ने र भारतलाई हेर्ने रणनीतिलाई सहयोगी भूमिका खेलिरहेको धेरैले बताउने गरेका थिए । नेपाललाई कमजोर पार्ने रणनीति त केन्द्रमा छदैं थियो ।  


स्वतन्त्र मधेसको मुद्धाको औपचारिक विसर्जनले उनको अबको गन्तव्य के हुन्छ ? उनी पनि अरु पार्टी जस्तै निर्वाचन आयोगमा दर्ता भएर जनमत मार्फत आफ्नो मुद्धा उठाउन तयार भएका छन् । सबैभन्दा महत्वपूर्ण कुरा नेपालको विखण्डनको मुद्धालाई पार्टीको औपचारिक फोरममार्फत् सेलाएका छन् । उनको अरु मधेस, तराईका पार्टीको भन्दा अबको बाटो के मानेमा भिन्न हुन्छ र उनको मौलिकता कसरी अभिव्यक्त होला ? अहिले नै भन्न हतारो हुन्छ ।