चैत्र ५ गते अनेकोट हत्याकाण्ड : ‘संदिग्ध आतङ्ककारी’ हरूको सम्झनामा

चैत्र ५ गते अनेकोट हत्याकाण्ड : ‘संदिग्ध आतङ्ककारी’ हरूको सम्झनामा

०५५ पुसमा जनादेशमा गरिएको गिरफ्तारी र लुटपाटपछि पत्रिका अद्र्धभूमिगत रूपमा प्रकाशन गरिरहेका थियौं । २० वर्ष अगाडि आजकै दिन, चैत्र ५ गते साँझ भोटेबहाल गल्लीको पुरानो घरको तेस्रो तल्लामा महान् शहीद कृष्ण सेन ‘इच्छुक’, पत्रकार महेश्वर दाहाल, शारदा अधिकारी र म सँगै थियौं । सेन, महेश्वर र म अद्र्धभूमिगत रूपमा जनादेश पत्रिकाका लागि काम गरिरहेका थियौं । शारदा अधिकारीले हामीलाई व्यवस्थापनमा सघाएका थिए ।

समय ठ्याक्कै ख्याल छैन । साँझको खाना खाने समयमा अनेकोट घटनाबारे रेडियोबाट सुनियो । सत्यतथ्य बुझ्ने कोसिस गरिरहेका थियौं । हामीसँग ल्याण्डलाइन टेलिफोन थिएन र अहिलेजस्तो मोवाइलको सुविधा पनि त्यतिबेला थिएन । घटनाबारे वास्तविक तथ्य थाहा नभए पनि केही गडबड भएकोमा शङ्का थिएन । स्वभावैले संवेदनशील कृष्ण सेन यो घटना सुनेपछि रोइरहनु भएको थियो । महेश्वर र म पनि आँशु लुकाउन सक्ने अवस्थामा थिएनौं । 

‘दोहोरो भिडन्त’ का नाममा प्रचार गरिने यस्ता कुख्यात हत्याकाण्डहरू पलपल सुन्नु हाम्रो बानी र विवशता बनिसकेको थियो । यस्ता काण्डहरू सुन्दासुन्दा हाम्रो संवेदनाचेत पनि ढुङ्गाजस्तो बन्दै गइरहेको थियो । कति मात्रै रुनु ?आँशु रित्तिंदै गएको थियो । पौने नौ बजेको बीबीसीले पनि अनेकोट काण्डबारे उल्लेख ग¥यो । त्यस दिन हामीमध्ये कोही पनि निदाउन सकेनौं । घटनामा हत्या गरिएकी निर्मला देवकोटा शारदा अधिकारीका निकट आफन्त थिइन् । पारिवारिक घटना भएकाले शारदा त्यहाँबाट हिंडिहाले ।

घटनाबारे स्पष्ट हुँदै गयो– गिरफ्तार गरेर मुठभेडको नाममा हत्या गर्दै आएको  सत्ताले अनेकोटमा नयाँ प्रयोग गरेको थियो । त्यहाँ घरभित्रै रहेका कलाकारलाई बाहिरबाट आगो लगाएर नाजीशैलीको प्रयोग गरिएको थियो । अनेकोटका वीर–वीराङ्गनाहरूले पनि प्रतिरोधको नयाँ रेकर्ड राखे । आगोको लप्का र धुवाँको मुश्लोबीच  आत्मसमर्पणका लागि गरिएको आदेशलाई उनीहरूले अस्वीकार गरे । आगोको लप्कोले लपेटिरहेको ज्यान, धुवाँको मुश्लोले सासै फेर्न पारेको कठिन अवस्थालाई पनि उनीहरूले पर्वाह गरेनन् । ‘बाँच्नका लागि आत्मसमर्पण गर’ भन्ने सत्ताको आदेशलाई उनीहरूले चुनौती दिए । त्यतिबेलाको पार्टी स्कुलिङ अनुसार भौतिक जीवनभन्दा विचार, आस्था र निष्ठाको महत्वलाई उनीहरूले पुष्टि गरे । 

जनयुद्धसँग वैचारिक सहमति राखेकै कारण ०५५ चैत्र ५ गते काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा ७ जना कलाकारको हत्या भएको आज २० वर्ष पूरा भएको छ । अनेकोटमा घरभित्रै बसिरहेको अवस्थामा हत्या गरिएका कलाकारको अपराध भनेको जनमुक्तिको गीत गाउनु थियो । उनीहरूले गाउने जनमुक्तिको भाकालाई सत्ताले ‘आतङ्ककारी’ नारा ठान्यो र उनीहरूको भाखामा साथ दिने गिटार, बाँसुरी, मादल, हार्मोनियमलाई सत्ताले विध्वंशक ‘बन्दुक’ देख्यो । उनीहरूले गाउने जनताको भाकाबाट आतङ्कित सत्ताले कलाकारहरूलाई आतङ्ककारी देख्नु अनौठो थिएन ।

कलाकार मात्र होइन, मेलापात गएका कयौं सर्वसाधारणलाई सत्ताले आतङ्ककारी देखेको थियो र मेलापातमा उनीहरूले प्रयोग गर्ने कुटोकोदालो, हँसिया, नाम्लो– जेसुकैलाई पनि खतरनाक हतियार ठानेर हत्या र आतङ्कको शृङ्खला थोपरिहेको थियो । जनयुद्धसिर्जित जनचेतनाबाट त्रस्त सत्ताले दिनहुँ मात्र होइन, क्षण–क्षण ‘दोहोरो भिडन्त’ का नाममा कयौं हत्याकाण्डहरू मच्चाइरहेको थियो ।

अनेकोट त्यही शृङ्खलाको एउटा पाटो थियो । आतङ्कित स्थानीय जनविरोधी तत्वको उक्साहटमा जनकलाकारहरूको हत्या योजना बुनिएको उतिबेलै सार्वजनिक भएको थियो । स्थानीयको भेषमा रहेका सुराकीहरूको सहयोगमा सत्ताले देशैभरि यस्ता हत्याकाण्डहरू मच्चाउँदै आए पनि जनताको गीत गाउने कलाकारहरूको सामूहिक हत्या पहिलो पटक भएको थियो । कलाकारहरू च्याङ्वा लामा, निर्मला देवकोटा, सुभद्रा सापकोटा, चिनीमाया लामा, गुम्बासिंह तामाङ, डम्बर श्रेष्ठ र मञ्जु कुँवर बसेको घरमा आगो झोसियो र चारैतर्फबाट घेरा हाली अन्धाधुन्ध ‘फायर’ गरियो ।

चौतर्फी आतङ्क खडा गरेर कलाकारहरूलाई आत्मसमर्पण गर्न आदेश दिइयो । तर उनीहरूले जीवनको भीख मागेनन् र स्वीकार गरेनन् आत्मसमर्पणको आदेश । बरु, आफ्नो सामथ्र्यले भ्याएसम्म बन्दुकविरुद्ध आवाजले प्रतिरोध गरिरहे । इँटा, ढुङ्गा, भाटाले प्रतिरोध गरिरहे । मृत्यु स्वीकारे तर आस्था र निष्ठामा कुनै खोट हुन दिएनन् । त्यसैले त उनीहरू महान् भए ।

जनयुद्धमा लागेकाहरूको सपना एउटै थियो– सुरन्दर संसार रचना गर्ने । उद्देश्य एउटै थियो– सबैका लागि समान अवसर उपलब्ध गराउने । सपथ एउटै थियो– मृत्यु या मुक्ति । अनेकोटकाण्डको बीस बर्षपछि देशमा ठूलै राजनीतिक परिवर्तन भएको छ । राजतन्त्रको ठाउँ गणतन्त्रले लियो । राजनीतिक रूपमा व्यवस्था परिवर्तन भए पनि जनजीवन र जनसरोकारका समस्या ज्युँका त्युँ छन् । 

एउटै सपना र उद्देश्य बोकेका र एउटै सपथ खाएका योद्धाहरू कयौं शहीद भए, कयौं बेपत्ता भए, कयौं घाइते–अपाङ्ग छन् । ‘सकुशल’ बाँचेकाहरूमाथि प्रश्नहरू उठेका छन् । अझ कतिपयमा आएको वर्गोत्थानले हिजो सँगै खाएको सपथ, एउटै उद्देश्य र सपनाको धज्जी उडाएको छ । भौतिक सुविधालाई नै जीवनको सबैथोक ठान्ने एउटा ‘ठालु’ वर्ग जनयुद्धकै जगमा खडा भएको आरोप छ । अनेकोटजस्तै कयौं बलिदानको जगमा निर्माण भएको नेतृत्व वैचारिक रूपमा स्खलित, व्यक्तिगत, पारिवारिक स्वार्थका लागि ¥याल काढ्ने, पद–प्रतिष्ठा र भौतिक सुविधा प्राप्तिका लागि जेसुकै गरिरहेका समाचार सुन्नु अहिले हाम्रो बाध्यता बनेको छ ।

घटना घटेको २० वर्ष पूरा भए पनि अनेकोटकाण्डको स्मरण ताजै छ । अनेकोट काण्डलाई साँस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउने निर्णय तत्कालीन माओवादीले ग¥यो । बृहत् शान्तिसम्झौतापछि कर्मकाण्डी रूपमा मनाइँदै आएको त्यो दिवस पनि पछिल्लो समय हराउन थालेको छ । जसको बलिदानीले गणतन्त्र आयो, उनीहरूलाई नै भुल्ने हामीले कस्तो सँस्कृति निर्माण गरिरहेका छौं ? 

राजनीतिक प्रणालीमा परिवर्तन आए पनि साँस्कृतिक रूपान्तरण हुन सकेन । बरु त्यो अझ भद्दा रूपमा प्रस्तुत भएको प्रतित हुन्छ । विचार, आस्था र निष्ठाका लागि अनेकोट काण्डका शहीदहरूले देखाएको बलिदानको गाथालाई कायम राख्न नसके पनि गिज्याउने काम नगरे शहीदहरूको ‘आत्मा’ले शान्ति पाउँथ्यो कि ? अनेकोटका ‘संदिग्ध आतङककारी’हरूलाई सलाम ! समयबद्ध साप्ताहिकबाट