तराई राजनीतिको केन्द्र

तराई राजनीतिको केन्द्र

केही समयदेखि राजनीतिको केन्द्र बन्दैछ तराई/मधेस । प्रचलित पदावली प्रयोग गर्ने हो भने राजादेखि रङ्कसम्म तराई–मधेसको राजनीति आफू अनुकूल बनाउन भिडिरहेका छन् । अमेरिकी राजदूत ¥याण्डी बेरीदेखि भारतीय राजदूत मञ्जितसिंह पुरीसम्मका कूटनैतिक प्रमुखहरू यतिखेर तराईको दौडाहामा पानी पँधेरो गरिरहेका छन् । 

अमेरिकी राजदूत बेरीको नेपालगञ्ज भ्रमण र त्यहाँ उनले गरेको सामुदायिक मन्त्रणा विवादास्पद बनेको छ । सत्तारुढ दलका अध्यक्षहरूले मध्य तराईको गरुडा, जनकपुरदेखि झापा मोरङसम्म भ्याइसकेका छन् । प्रतिपक्षी दलका उपल्ला नेताहरूले पनि मधेस दौडाहा छोडेका छैनन् । 

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, विमलेन्द्र नीधिले प्रदेश नं. २ को राजधानी जनकपुरमा गएर मधेसी जनतालाई संविधान संशोधन गरेर उनीहरूको अधिकार स्थापना गर्ने अश्वासन बाँडी सकेका छन् । यतिमात्र होइन उनीहरूले प्रदेश नं २ लाई पहिचानको आधारमा मिथिला राज्य नामाकरण गरिनु पर्ने र राज्यको भाषा मिथिला हुनु पर्ने जिकिर/माग/अश्वासन सबै थोक बाँड्दैै आएका छन् । आफ्नो वर्चस्व कायम गर्दै आएका मधेसी जनाधिकार फोरम र राष्ट्रिय जनता पार्टी पनि मधेसकै राजनीति वर्चस्व कायम गर्न सक्रिय छन् । 


यता फागुन २४ गते सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ सिके राउतसँग ११ बुँदे सहमति भएपछि तराई झनै राजनीतिक चर्चाको केन्द्रमा छ । फागु पुर्णिमाको रङ्गमा मधेस र मधेसी रङ्गिनु पूर्व राजनीतिको रङ्गमा भने पूरै हेलिएको छ । सिके राउतसँग भएको सहमतिसँगै पूर्व राजा ज्ञानेन्द्र पनि लावालस्करसहित तराई–मधेसमा झरेर पूजाआजा गर्न व्यस्त भएका छन् । उनले ‘मधेस’ भूमिलाई तराई भन्नु पर्ने ‘महान वाणी’ पस्केर राजनीति गर्न आएको प्रस्ट पारिसकेका छन् । यो समाचार तयार पार्दासम्म सिके राउत समूहको रोमान्टिक बैठकका समाचार बाहेक ठोस कुरा बाहिर आउन नसके पनि सबै वर्ग, तह, तप्का राजनैतिक होलीमा रङ्गिएका छन् ।

मधेस अझै ऐलानी/पर्ती     

नेपालले आधुनिक युगमा प्रवेश गरेपछि पनि मधेसलाई राजनैतिक जिम्दारी र पटवारीले लामो समयसम्म कज्याएको थियो । प्रजातन्त्र स्थापना र दोस्रो गणतान्त्रिक युगमा प्रवेश गरे पनि मधेस अझै राजनैतिक रूपमा ऐलानी पर्तिकै अवस्थामा रहेको छ भन्ने यो प्रमाण हो । मधेसले आन्तरिक उपनिवेशको नाममा वेदानन्द झादेखि गजेन्द्र नारायण हुँदै फोरम, राजपा र सिके राउतको अभियानसम्म आइपुग्दा मधेस राजनीतिको रोटी पाकिसकेको छैन । पछिल्लो पटक त अमेरिका, युरोपियन युनियनसहितको चाख बढेको छ । यस्तो देशी विदेशी चाखले मधेसी राजनीतिलाई झनै तरल बनाएको छ । 

सबैभन्दा सहज, ठूलो जनसंख्या भएको भूगोलमा आएको यो तरलतासँगै संक्रमणको अन्त्य हुने छाँट देखिन्न । सिके रावतसँग भएको सहमतिले गठबन्धनलाई मूल धारमा ल्याउन सफल भयो तर ती सहमतिमा अझै पनि मधेसको आन्तरिक समस्या समाधान गर्ने सूत्र भेटिदैन । जनमत र जनअभिमत शब्दको अर्थ कोट्याउँदै समय व्यथित भएको यो सहमतिले विगतमा भएका र यता सरकार गठन हुँदा भएका सहमतिलाई ओझेलमा पारेको छ । यस्तो परिदृश्यमा राजनीति सङ्लिने गुरुमन्त्रको अभावमा मधेसमा यतिखेर धेरै पश्चगामी चहलपहल बढेको हो । 

यसै सन्दर्भमा प्राद्यापक विजयकान्त कर्णले पूर्व राजा ज्ञानेन्द्रको तराई भ्रमणको व्याख्या गर्दै लेखेका छन्, ‘तराई–मधेशमा साधु, मदारी, जादू–टोना वाला, नौटंकी गर्नेहरू, भालू र बाँदर नचाउने, हावा मिठाई बेच्ने, भूत भगाउने, चना चटपटी बेच्नेहरू, शिरक–डसना बनाउने आदि गाउँ–गाउँमा मौसम अनुसार घुमिरहेका हुन्छन, तिनलाई हेर्न, सामान किन्न अनेक थरीका मानिसहरूको भीड’ लाग्ने गर्छ । 

त्यस्तै पहिले पहिले सरकारी कर्मचारीहरू दौरा–सुरुवाल र ढाका टोपी लगाएर आउँदा पनि भीड’ लाग्ने गर्दथ्यो । एउटा मित्रको सल्लाह अनुसार दुलदुल घोडा हेर्न पनि भीड’ लाग्ने गर्छ. । अहिले ज्ञानेन्द्र शाहलाइ हेर्न आउने भीड’ त्यस्तै हो जस्तो लाग्छ । मधेशमा थरुहटमा जुन राजाका पुर्खाहरूले अत्याचार, दमन, गरेर औपनिवेशिक शासन चलाए, मधेशको इतिहास, संस्कृतिलाई समाप्त पारे, त्यस्तालाई मधेसी, थारूहरूले समर्थन गर्छन भन्ने सपनामा सोंच्न सकिदैन ।’

अर्का विश्लेषक रामनारायण देवले समयबद्धसँग कुरा गर्दै अहिलेको तराई÷ मधेसको राजनीतिक परिघटना अन्तर्राष्ट्रिय फेनामेनासँग जोडिएको बताएका छन् । उनले भनेका छन्, ‘यी सबै प्रक्रियालाई जोडेर हेर्दा यसको अन्तर्यमा नेपालमा टेकेर चीन विरूद्ध प्रहार गर्ने नीतिले काम गरिरहेको छ ।’ समयबद्ध साप्ताहिकबाट