आज रङ्गहरुको पर्व होली, यस्तो छ यसको पौराणिक महत्व

आज रङ्गहरुको पर्व होली, यस्तो छ यसको पौराणिक महत्व

फणीन्द्र फुयाल

विगत वर्ष झैं यस वर्ष पनि रंगहरुको पर्व होली आज मनाइदै छ । सदियौंदेखि होली रंग दलेर शुभकामना साटासाट गर्दै मनाइने गरिएको छ ।

तर, होलीका नाममा रङमा खुर्सानीको धुलो हाल्ने, फोहोर पानी छ्याप्ने, कुहिएको अण्डा हान्ने लोलामा फोहर पानी भरेर हान्ने र इच्छाविपरीत अर्कालाई जबर्जस्ती रंग दल्ने पनि गरिन्छ । जुन कानून विपरीत हो । यस्तो कार्यले होलीप्रति नकारात्मक सोच जगाउँछ ।

होलीका दिन अतिआवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई सहमतिमा नै रंग दल्नु वेश हुन्छ । कतिपय मानिस शोकको घडीमा रहेकाले रंग लगाउने गर्दैनन् । त्यसप्रति पनि सबै सजक हुनुपर्छ । इच्छा विपरीत कसैको शरीरमा रंग र लोला हान्न कसैलाई छुट छैन । भाङ, गाँजा र मदिराको नशामा खेलिने होलीले स्वास्थ्यमा असर त छदैछ अकल्पनीय दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले यसप्रति सबै सजक हुन आवश्यक छ । केही क्षण यसको रमझममा भुले पनि बानी परेको खण्डमा यसको दीर्घकालिन असर पनि हुने गरेको चिकित्सकहरुको भनाइ छ ।

होली हामी नेपालीको उत्सव भएता पनि होली पहाड र तराईमा छुट्टाछुट्टै दिन मनाउने गरिन्छ । तराईमा होलीको उल्लास हुँदा पहाडमा पनि खुशीयाली छाउनु पर्छ अनि हिमाल पनि हाँस्नु पर्छ ।   

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एक महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइए पनि तिथिका हिसाबले यो कहिले चैतमा पनि पर्ने गर्छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर आपसमा रङ्गिन बन्ने गर्छन् । होली पर्व मनाउनुको एउटा पौरणिक महत्व पनि छ । होली खेल्ने दिन भन्दा एक दिन अघि राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

साना बच्चादेखि वृद्ध वृद्धासम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाँच्दै होली खेल्छन् । भनिन्छ कि, होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन् । फागुन महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा बिभिन्न रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हुल तथा जत्थाहरू हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसइवीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाउने गरिन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर— विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरु भएको मानिन्छ । फागुपर्व पूर्णिमाको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि होली समाप्त भएको ठानिन्छ ।

होलीको पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशेपु नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रल्हादलाई मार्न हिरण्यकशेपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रल्हादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् । तर प्रल्हादलाई केही भएन ।

होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको पौराणिक कथामा छ ।

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरुका अनुसार यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । विध्य क्षेत्रको राम गढ स्थानमा इसाभन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।

भक्तपुरमा चिर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ । जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिरसँगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन भिमसेन मन्दिरमा राखिएको लिङ्ग अर्थात लगलाई टोल—टोलमा घुमाएर घुमाएर पूजा गरी पुन मन्दिरको पाटीमा राखिने परम्परा छ । काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाइ रहेको छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनीको रूपमा लिने गरिन्छ । लिंगको टुप्पोमा सेतो कपास राखिएको हुन्छ जसले यौन सम्पर्कका बेला निस्किएको विर्यका संकेत गर्छ ।  

घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्श गरी ढोग्ने र दान दक्षिणा चढाउने गर्छन् । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ । चिर स्वायगू अर्थात लिङ्ग झुन्ड्याएपछि नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । बिशेषगरी होली भरी शनिबार र मंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाँका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गरेका छन् । फाल्गुन शुक्ल पूर्णिमाका दिन रङ्ग होली खेलेपछि उक्त दिन साँझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ ।

त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साँझपछि दत्तात्रय मन्दिर पु¥याउँने प्रचलन रही आएको छ । साँझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राख्ने गर्दछन् । यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिङ्ग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको छ । लिङ्ग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ । (होली सम्बन्धी प्रकाशित बिभिन्न खोज तथा अनुसन्धानमूलक पुस्तकहरुका आधारमा)