सिके राउतको अर्को चाल

 सिके राउतको अर्को चाल

स्वतन्त्र मधेस गठबन्धनको चैत्र ४ गते लहानमा सम्पन्न बैठकले जनमत नामको नयाँ पार्टी बनाएपनि ‘स्वतन्त्र मधेस गठबन्धन’ विघटन भएको कुनै निर्णय बाहिर नआएकोमा पुनः संशय बाहिर आएको छ । पूर्व गठबन्धनलाई पुर्ववत राखेर वा त्यसबारेमा कुनै निर्णय नगरी जनमत पार्टी बाहिर ल्याउनुमा मधेसका जानकारहरुले सिके राउतको कुटील चालको रुपमा अथ्र्याएका छन् । उनीहरुले जनमत पार्टी वैधानिक मोर्चाको रुपमा रहने र गठबन्धनलाई ‘न्युक्लियस’को रुपमा राखेको चर्चा गर्ने गरेका छन् ।

गत फागुन २४ गते सरकार र गठबन्धनबीच सहमति हुँदा यसबारे कुनै बुँदामा उल्लेख नहुँदा सिकेलाई मधेसको समर्थन लिइरहने यो एउटा गजबको तुरुप बनेको छ । भारतीय जनता पार्टीले राष्ट्रिय स्वयम् सेवक संघ (आरएसएस) मार्फत उग्र राजनीति गर्ने र भाजपालाई ऊर्जा दिएर सहयोग गरेझैं भविष्यमा सिकेले पनि गठबन्धनलाई प्रयोग गर्न सक्नेछन् । सरकारसंगको सहमतिले गति नलिए उनले गठबन्धनलाई अगाडि बढाउन विघटनको निर्णय नगरेको जानकार स्रोतहरुले जनाएका छन् ।

बैठकको निर्णयले स्वतन्त्र मधेसको नारा नछोडेको अर्थ लाग्दछ । यदि स्वतन्त्र मधेसको विखण्डनवादी नारा त्याग गरेको हुँदो हो त बैठकले यस्तो जिकिर गर्नु पर्दथ्यो । गठबन्धनका हर्ताकर्ता कैलाश महतोले विखण्डनवादीहरुको अन्तराष्ट्रिय संस्था युएनपीओको सदस्यता त्याग गर्न नसक्ने बैठकपछि पनि सार्वजनिक गर्दै आएका छन् । उनले युएनपीओको सदस्यता त्याग गर्ने कुनै निर्णय नभएकोले सदस्यता कायम रहने जनाएका छन् । यसको सिधा अर्थ हुन्छ जनमत पार्टी सरकारको आँखा छल्न बनाइएको वैधानिक मोर्चा मात्र हो । स्वतन्त्र मधेसको नारा त्याग गरेको पनि कुनै भरपर्दो निर्णय बैठकले गरेको छैन् । मधेसको स्वायत्तता र स्वशासन संघीयतामार्फत संस्थागत गर्ने विषय पनि उल्लेख छैन । जनमत पार्टीमा प्रतिनिधित्व गरेको साँगठानिक आधारले पनि सिके अर्को चालवाजीको निम्ति शक्ति सञ्चयमा लागेको मधेसका जानकारहरु नै बताउन थालेका छन् ।