डा गोविन्द केसी : जो देशलाई द्वन्द्वमा धकेल्न प्रतिक्रान्तिकारीको सेवक बन्दैछन्

डा गोविन्द केसी : जो देशलाई द्वन्द्वमा धकेल्न प्रतिक्रान्तिकारीको सेवक बन्दैछन्

शंकर तिमल्सिना

डा गोविन्द केसी स्वास्थ्य सुधारको नाममा लोकप्रिय बनेर नेपालमा अग्रगमनका अजेण्डा तुहाउने र देशलाई अनन्त द्वन्द्वमा लैजान खोज्ने प्रतिक्रान्तिकारी बन्दैछन् भन्ने उनका पछिल्ला गतिबिधिबाट प्रमाणित भएको छ । 

चिकित्सा शिक्षाका आडमा उनले जनसमर्थन लिएर राजनीतिमा प्रवेश गर्दै आफ्नो अभिष्ट पूरा गर्न खोजेको पछिल्लो पटक उनले राष्ट्रसंघमा चढाएको निवेदनबाटै स्पष्ट हुन्छ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको उपचारका लागि अमेरिका रहेको बेलामा जनयुद्धका दोषीलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्धा चलाउर्ने माग राख्दै डा। गोविन्द केसीले संयुक्त राष्ट्र संघलाई स्मरणपत्र बुझाएपछि उनी चिकित्सा शिक्षाको कार्ड प्रयोग गरेर नेपालमा कस्तो राजनीति गर्ने बाटो खन्न लागेका छन् त्यो थप स्पष्ट भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका रहेको बेलामा विगतका द्वन्द्वकालीन मुद्धा उछालेर त्यस अवधिमा भएका निर्दोषको हत्या, अंगभंग, भौतिक क्षति गरेको र दोषीलाईं अन्तर्राष्ट्रिय अदालतमा मुद्धा चलाउनु पर्ने भन्दै ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्र संघको भवनमा र राष्ट्रिय मानव अधिकार आयोगमा डा गोविन्द केसीसहितको टिमले उजुरी दिएको थियो ।

उजुरी दर्ता गराउनेहरुमा डा गोविन्द केसीसँगै प्रा डा शिवहरि तिमल्सिना, अधिवक्ता ओमप्रकाश अर्याल, इञ्जिनियर प्रितम सुवेदीसहितले हस्ताक्षर गरेर स्मरणपत्र बुझाएका छन् । 

तत्कालीन नेकपा माओवादीले बाध्यात्मक परिस्थितिमा नेपालमा दश वर्षे जनयुद्ध गरेको थियो भने त्यो युद्ध १२ बुँदे शान्ति सम्झौता मार्फत टुङ्गिएको थियो । जसलाई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुङ्ग्याउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रचण्डले हस्ताक्षरमार्फत प्रतिबद्धता जनाएका थिए । सोही विषयलाई अहिले डा गोविन्द केसीले उछालेर आफू चर्चामा आउने दुस्प्रयास गरिरहेका छन् । जुन दुस्प्रयासले गर्दा उनलाई पछाडिबाट टेको दिएर थामिरहेकाअन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतिगामी शक्ति नै बदनाम हुने स्थितिमा पुगेको छ ।

काँग्रेस पनि यतिबेला सरकारको प्रमुख प्रतिपक्षि दलका रुपमा रहेको छ र उसलाई सरकारको बिरोध गर्ने अजेण्डाको खाँचो छ । त्यही भएर गोविन्द केसीलाई काँग्रेसको एउटा हिस्साले समेत कहिले चिकित्सा शिक्षाका बहानामा अनसन बस्न उकासेको छ त कहिले गोविन्द र उनी जस्ता अन्य आईएनजीओ सञ्चालन गरेर डलरको खेती गरिरहेकाहरुलाई शान्ति सम्झौता बिरुद्ध बिषबमन गराउन जवर्जस्ती उनीहरुको मुखमा औँला कोच्दै छ ।

राज्यकोषबाट तलब भत्ता बुझ्ने एक राष्टसेवक कर्मचारी किन यसरी राज्यले नै गरेको शान्ति सम्झौता बिरुद्ध लागेका छन् रु यो एउटा सामान्य प्रश्न मात्र होइन यसभित्र गम्भीर कारणहरु लुकेका छन् । नेपालको शान्ति प्रक्रिया आफ्नै मौलिक प्रकारको छ । यसमा कुनै विदेशी निकायको हस्तक्षेप हुनुहुदैन । तर, डा गोविन्द केसी जस्ता अन्य सयौँ आईएनजीओ सञ्चालन गरेर डलरको खोतीपाती गर्न पल्किएकाहरु युद्धको खाटा लागेको घाउ कोट्याएर खाइरहन उद्यत छन् । यदि विगतको युद्धलाई कोट्याउने हो र व्यक्ति व्यक्ति चाहर्दै जाने हो भने पूर्व राजा ज्ञानेन्द्र शाह, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, उनको मन्त्री मण्डलका सबै सदस्य, तत्कालीन साँसदहरु, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रका उच्च पदस्थ कर्मचारीहरु पनि तानिने छन् । 

त्यसैले आफैले खनेको खाडलमा गोविन्द केसी र उनलाई गलत बाटो सिकाउन प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नेहरु सबै फँस्ने छन् । त्यसैले भीरबाट खस्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिन्न भनेझैँ गलत बाटोमा हिँडिरहेका गोविन्द केसीहरुलाई यो अँधेरी राततर्फको गलत बाटोमा नहिँड्न लागि यतिबेला सबै राजनीतिक दलले उज्यालो बत्ती बालिदिनु पर्ने बेला आएको छ ।

भ्रस्टाचार बिरोधी नै हुन डा केसी ?

अति आवश्यकिय सेवाहरु जस्तै अस्पताल, खानेपानी ट्यान्कर, ग्यासमा हड्ताल गर्न नपाइने भनी सर्वोच्च अदालतको मिति २०६६ / १२ / २२ ले अन्तरिम आदेश जारी गरेको छ । डा केसीले नेपालका राजनेता, अदालत एवं अख्तियारका व्यक्तिहरु, त्रिविका पदाधिकारी, चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व पदाधिकारीहरु, सांसद, मन्त्रीहरुलाई भ्रष्ट, माफिया, दलाल, जस्ता अनैतिक शव्द प्रयोग गर्ने गरेका छन् । डा गोविन्द केसी देशका मन्त्री र प्रधानमन्त्री लगायत शीर्ष राजनीतिज्ञहरु अरबौंको भ्रष्टाचार गर्न वा भ्रष्ट व्यक्तिलाई संरक्षण गर्नमा लिप्त छन् भन्ने भाषा पटक पटक प्रयोग गर्छन् । बहालवाला प्राध्यापक जस्तो व्यक्तिले विना प्रमाण यस्ता शब्दहरुद्वारा सार्वजनिक रुपमा आरोप लगाउन मिल्छ ? बहालवाला प्राध्यापक जस्तो व्यक्तिले विनाप्रमाण शिक्षामन्त्री, दुईवटै विश्वविद्यालयका पदाधिकारीहरु, अदालत, अख्तियार एवम् नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरु, जनताद्वारा निर्वाचित सांसदहरुलाई भ्रष्ट, दलाल र माफिया भन्नु लज्जाजनक, आपत्तिजनक एवम् पुर्वाग्रहपूर्ण कुरा हो ।

विज्ञानमा विश्वास गर्नेले प्रमाण विना बोल्न मिल्दैन । विना प्रमाण कसैलाई लाग्दैमा फलानो भ्रष्टाचारी भन्न मिल्छ ? हचुवाको भरमा विरामीलाई क्यान्सर रोग लागेको भनेर औषधि दिंदा त्यसले के असर पार्छ भन्ने कुरा डा गोविन्द केसीलाई थाहा छ । अन्य देशमा विना प्रमाण अनुमानको भरमा कसैको चरित्र हत्या गर्नु अपराध मानिन्छ । त्यस्ता व्यक्तिलाई उल्टो कारवाही हुन्छ । कसैले भ्रष्टाचार गरेको भए कारवाही गर्ने अंगहरु नेपालमा सक्रिय नै छन् । डा केसीले भनिरहनु पर्दैन । कसैलाई कारवाही गराउन उनले प्राण त्याग्ने धम्की दिनु पर्दैन । भ्रष्टाचारको विरोधी भन्ने प्रचार गर्न पाए जनताबाट लोकपिय भइन्छ भन्ने उनलाई लागेको छ । अदालतको आदेश नमान्ने जागिरेलाई नैतिकवान भन्ने देश सायद नेपाल मात्र होला ।

अनसन बसी जनताको पैसा खर्च गराउने, अस्पताललाई करोडौं घाटा पु¥याउने, हडतालको कारणले हडताल अवधिमा उपचार नपाएर दर्जनौ व्यक्तिले ज्यान गुमाउन बाध्य पार्ने एक कर्मचारीलाई कारबाही गर्नु पर्छ कि पर्दैन रु जुन देशका जनता कामको खोजीमा विदेशका गल्लीहरुमा भारी बोक्न नाम्लो लिएर हिडिरहेका छन । त्यही जनताबाट उठेको राजश्ववाट महिनाको लाखौ तलव खाने, अनसनको कारणले अस्पताल घाटामा गएपछि घाटा पूर्ति गर्न त्यही राजश्वबाट उठेको पैसा राज्यले अस्पताललाई दिनु पर्ने, यो कुरा न्यायोचित हुन सक्दैन । यो पनि भ्रष्टाचार नै हो । 

तत्कालीन श्री ५ को सरकारको छाबृत्तिमा बंगलादेश (सन् १९८९ देखि १९९३ सम्म) गई हाडजोर्नी विशेषज्ञ बनेका हुन् उनी । यसरी छात्रवृत्तिमा पढेका व्यक्तिले काठमाडौं बाहिर गई कम्तीमा दुई वर्ष दुर्गममा सेवा गर्नै पर्ने अनिवार्य शर्तलाई केसीले लत्याए र दुर्गममा एक दिन पनि सेवा गर्न गएनन् । कहिलेकाही स्वास्थ्य शिबिर गर्न दुर्गम गएकोलाई दुर्गाममा सेवा गरेको मानिदैन । डा केसीले उल्टो सरकारी जागिरबाट दुर्गममा जानु पर्ने भएकोले वीर अस्पतालबाट राजीनामा दिएर महाराजगंज शिक्षण अस्पतालमा नियुक्ति लिएका हन् । यसो गर्दा कि त उनले पढेको पैसा फिर्ता गर्नु पर्छ कि त दुर्गममा जानै पर्छ । दुर्गममा नगएकाले सरकारलाई तिर्नु पर्ने पैसा उनले तिरेका छैनन् तसर्थ उनले छात्रवृति पैसाको साँवा व्याज तिर्ने गरी उनलाई राज्यले दण्डित गर्नैपर्छ । यो मानेमा उनी भ्रष्टचारी हुन् । 

यस्तो छ उनको राजनीतिक निकटता

डा गोबिन्द केसी एक राजनैतीक पार्टी, नेपाली काग्रेससँग सम्बन्धित हुन् ।  जुन कुरो महाराजगन्ज शिक्षण अस्पताल जाँदा प्रस्ट हुन्छ । गत आम निर्वाचनमा नेपाली काँग्रेसका नेता गगन थापालाई जिताउन उनले सक्दो प्रचार गरेका थिए । भिडियो बनाएर, भाषण गरेर नैं उनले प्रचार गरे । उनको मुख्य उद्देश्य नै नेपालमा वामपन्थीहरुको तेजोबध गर्ने, अग्रगामी अजेण्डालाई तुहाउने हो ।

उनी घोर कम्युनिष्ट बिरोधी भएकोले कसरी कम्युनिष्टलाई अपमान गर्न सकिन्छ भन्दै पदको दुरुपयोग गर्दै प्रेस विज्ञप्ति पनि उनले जारी गरेका थिए । महाराजगन्ज मेडिकल कलेजमा कसरी वामपन्थी शिक्षकहरुलाई अपमान गर्ने, ठुला पदमा नियुक्ति हुन नदिने, वरिष्ठ भए पनि वामपन्थी भएकै कारण अनेक हर्कत गर्दै बौद्धिकताको कदर नगर्ने केसी घोर कम्युनिष्ट बिरोधी हुन् । हाल कम्युनिस्ट पार्टीको बहुमतको सरकारलाई कसरी अप्ठ्यारोमा पार्ने, घेरामा पार्ने, अलोकप्रिय बनाउने भनेर नेपाली काँग्रेसको योजना र निर्देशनमा पटक पटक जागिरमा यथाबत रहेर अनशन, हडतालरुपी नाटक मन्चन गरेका छन् ।

राजावादी विगत 

आफू सरकारी कर्मचारी भएर कानुन विपरीत अस्पतालमा डा केसीले स्वास्थ्य बाहेकका राजनैतिक मागहरु राखी पटक पटक आमरण अनशन बसे । उनको आन्दोलनले सिधै कानुन र संविधानलाई चुनौती दियो । तर शान्ति फर्किसकेको मुलुकमा द्वन्द्वकालका मागहरु उठाएर मुलुकलाई पुन हिँसामा फर्काउन गरिएको आन्दोलन सत्याग्रह हुन सक्दैन । ०४६, ०४७, ६२–६३ को आन्दोलनमा डा केसी निस्क्रिय मात्र बसेनन् उनले राजतन्त्रलाई सहयोग गरे, तसर्थ उनी फेरि प्रतिगमन र अराजकतातिर मुलुक गएको हेर्न चाहन्छन् । उनका पिता पनि निरंकुश पञ्चायतकालमा प्रधानपञ्च थिए, तत्कालीन पञ्च नेता नबराज सुवेदीको आडमा सर्वसाधारण जनतालाई हैरानी नै दिएका थिए । उनको पिताको कालो विगतका कोटिन्छ भनेर आफ्नो जन्मेको, हुर्केको र सानामा पढेको जिल्ला रामेछापमा उनलाई धेरै अनुरोध गर्दा पनि जाँदैनन् । 
 
उनी नेकपाको सरकार, पार्टीका नेता तथा कार्यकर्तालाई कहाँनिर हानौं भनेर ढुकेर बसेका छन् । नेपाली स्वास्थ्य क्षेत्रमा बिद्यमान अराजकता, दण्डहीनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको कारण नै बर्तमान सरकार हो भन्ने पुस्टि गर्न बल गरिरहेका छन्, त्यो सरासर गलत हो । कांग्रेसको शिक्षा, स्वास्थ्यमा भएको निजीकरणको गलत प्रभावका कारण मुख्य समस्या हो, यो कुरालाई डा गोविन्द केसीले कहिले भन्दैनन् ।

कांग्रेसको यो गलत विरासतलाई सुधार्न कम्युनिस्ट पार्टी र सरकारले आफैं पहल गर्नुपर्छ, डा गोविन्द केसीले अहिले स्वास्थ्यमा उठाएको सुधारका मुद्धा जनताको ध्यान आफूतिर तान्नमात्र हो, प्रतिगामी राजनीतिको सेवाका लागि लोकप्रिय नारा उठाएको हो भन्ने कुरा उनका पछिल्ला घटनाबाट प्रमाणित भएको छ ।