सिकेको कार्यदिशा : जोगिरा सरररर..... 

सिकेको कार्यदिशा : जोगिरा सरररर..... 

सिके राउतको ‘जनमत पार्टी’ होली हंगामाको जोगिरा सररर... धुनमा तराईमा मच्चिएको छ । स्वतन्त्र मधेसको नारा दिएर युवा मधेसीको संवेदनशील मनोविज्ञानमा राज गर्न सफल राउतले त्यो मनोविज्ञानलाई आफूतर्फ आकर्षित गरिरहन यस्तै भँगेडी कार्यक्रमहरुको आयोजना गरिहनु पर्ने बाध्यता छ । न रणनीति न त कुनै कार्यनीति, कार्यदिशा बोकेको जनमत पार्टीसंग ‘जनमत’ नामको ट्रेडमार्क  बाहेक कुनै आकर्षण छैन् । यो आकर्षण पनि नौलो भइरहन सक्तैन । 

मूल धारका राजनैतिक पार्टीहरुको विकर्षणमा पाएको आकर्षण धेरै समय टिक्न सक्ने पनि होइन । जनमत नामको शुद्ध ट्रेड मार्कभित्रको अशुद्ध खेल जब पर्दाफास हुँदै जान्छ, सिके र जनमतको पतन त्यहीँ क्षणबाट सुरु हुन्छ । अहिले नै पनि सिकेको जनमत उर्लिएको त छदैं छैन । मधेस केन्द्रित दलको किकर्तव्यविमुढको स्थितिले सिकेले मधेसमा जोगिरा गर्न पाएका मात्र हुन । मधेस र मधेसी जनसमुदायवीचको अन्तरविरोध यस्तै पाखाली ‘जोगिरा.....’ कार्यदिशाले कतै सम्बोधन गर्न सक्तैन । 

सिकेको जनमत पार्टीको ‘जनमत’ केजरीवालको आमआदमी जत्तिको मुद्धामा मात्र पनि केन्द्रित छैन् । कमसेकम आम आदमीले भारतमा संस्थागत भएको भ्रष्टाचारको पोल खोल्न लोकपाल विधेयकको माग गरेका थिए । दिल्लीको जन्तरमन्तरमा गान्धीवादी सत्याग्रहको नाटक मञ्चन गरेका थिए । जनमत पार्टीसँग त नेपालमै खुलेका नयाँ शक्ति वा विवेकशील साझासँग भएका भ्रष्टाचार, सामाजिक रुपान्तरण वा विकास समृद्धि जत्तिका अल्मल्याउने मुद्धा पनि छैनन् । मधेसमा विगतदेखि हुँदै आएको उत्पीडनको मुद्धालाई किनारा लाउने विधिसम्मत सूत्र त छँदैछैन् । मधेसी नश्लसँग गाँसिएको रंगीन कलेबरको भावनात्मक छिपछिपे मनोविज्ञान छ, त्यस्तो मनोविज्ञान यस्तै होलीको जोगिरा वा छठको सूर्य उपासनामा देख्न पाइन्छ । राजनैतिक यात्रामा यस्तो मनोविज्ञान पानीको फोका भन्दा बढी केही हुन्न ।