अमर्यादित भाषा असंवैधानिक

अमर्यादित भाषा असंवैधानिक

राजनीतिक दलहरूले एक अर्काप्रति आरोप–प्रत्यारोप र ब्यंग्य गर्नु सामान्य नै मानिन्छ । अझ लोकतन्त्रमा असहमतिको राजनीतिलाई गहना नै मानिन्छ । तर, आजभोलि शीर्ष नेताहरू नै दुर्भावना, घृणाभाव पैदा गर्ने गरी आफ्ना विपक्षीलाई होच्याउने काम गर्दै आएका छन् । आफ्नो निस्ठा, प्रवृत्ति अनुसार चलेका शक्ति, व्यक्तिलाई हेप्ने र आफूलाई श्रेष्ठता स्थापित गर्ने गरिरहेका छन् । यसले समाजलाई नै नकारात्मकता, द्वन्द्वमा लैजान सहयोगी भूमिका खेलिरहेको छ ।

 चुनावको बेलामा नेताहरूले एक अर्काप्रति तीखो आलोचना गर्नु सामान्य नै मानिन्छ । यद्यपि यसमा पनि मर्यादाको ख्याल भने गरिनुपर्छ । राजनीतिक क्षेत्रमा भइरहेको नकारात्मक टिप्पणीले जाति, धर्म र क्षेत्रीयतावादको पक्ष लिनेहरूमा पनि तीखो नकारात्मक टिप्पणी मुखरित भइरहेका छन् । विवेकहीन टिप्पणी, गालीगलौजका बौच्छार भइरहेका छन् ।

शीर्ष नेताले आफू मातहतका नेता तथा कार्यकर्तालाई संयम र शालीन भाषाको प्रयोग गर्नका लागि किन सिकाउँदैनन् ? समाजलाई उत्तेजना फैलाउने भाषाको प्रयोग किन बारम्बार गरिरहन्छन ? 

गाउँघरमा रक्सी खाएर मातेर पाखा पधेरामा बोलिने ठेट गालीको भाषा र नेता तथा कार्यकर्ता र समाजका प्रतिष्ठित भनिने अगुवाको भाषामा अहिले कुनै फरक पाइदैंन । अझ यस्ता भाषाको प्रयोगमा सामाजिक सञ्जाल, टेलिभिजन र एफएमहरूले सहयोग गरिरहेको छ । 

चाहे जुनसुकै उच्च तहमा पुगिने नेता तथा अगुवाले बोल्ने अमर्यादित भाषा असंवैधानिक हो । सत्ताको शीर्ष स्थानमा बस्ने नेताहरूबाट नै पहिला भाषालाई मर्यादित बनाउन पहल गरिनुपर्छ । भाषामा आक्रामकता, असहष्णिुताले समाजलाई नै द्वन्द्व, विघटनतिर लैजान्छ । 

समाजलाई रचनात्मक दिशामा लैजानका लागि सरकारले भन्ने गरेको शान्ति, समृद्धि र स्वाधीनताका लागि, समाजलाई अनुशासित, शालीन दिशामा लैजान पहल बढाउनु पर्छ । किचलो गर्ने भाषा र राजनीतिबाट वाक्कदिक्क भएको नेपाली समाजलाई एकीकृत र हातेमालो गर्ने स्तरमा विकास गर्नुपर्छ ।