उपप्रधानमन्त्री यादवद्वारा सरकार छाड्ने चेतावनी

उपप्रधानमन्त्री यादवद्वारा सरकार छाड्ने चेतावनी

राष्ट्रिय जनता पार्टीसँगको एकता प्रक्रिया शुरू भएसँगै संघीय समाजवादी फोरमले सरकारमा बसेर आन्दोलनको चेतावनी दिएको छ । सरकारमा जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान संशोधनसहितको दुई बुँदे सम्झौता गरेको फोरमले दोस्रो बुँदा पालना गराउन यो चेतावनी दिएको हो ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा सरकारमा सहभागी भएका फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले अनावश्यकरूपले संविधान संशोधनको विषयलाई पछाडि पार्ने निहुँ बनाए सरकारबाट हट्ने चेतावनी दिएका हुन् ।

संघीय समाजवादी फोरमले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले भने “हाम्रो धैर्यको सीमा समाप्त हुन गइरहेको छ । सरकारले संविधान संशोधनको विषयमा ढिलाइ गरे हामी सरकारलाई दिएको समर्थन फिर्ता लिइ सरकारबाट बाहिरिन्छौ ।”

हामीसँग गरिएको सम्झौता पूरा गरिदैन भने हामी सरकारमा बसिरहनुको कुनै औचित्य नहुने भन्दै यादवले सरकारलाई कडा चेतावनी दिएका हुन् ।

यादवको यो चेतावनी स्वतन्त्र मधेश गठबन्धनका नेता डा. सीके राउतसँग गरिएको सम्झौतापछि राजपासँगको एकीकरण प्रक्रिया अघि बढेसँगै सार्वजनिक भएको हो ।

राजपाको वार्ता टोलीका संयोजक राजेन्द्र महतोले सरकारबाट राजीनामा दिएर  आए वार्ता हुने अभिव्यक्ति सार्वजनिक गरेको र सोही अनुरूपको औपचारिक पत्र फोरमलाई पठाएको केही दिनमै अध्यक्ष यादवले यो चेतावनी सार्वजनिक गरे ।

विचार, आदर्श र सिद्धान्तका आधारमा पार्टी एकीकरण हुने र एकीकरण भइसकेपछि त्यतिखेरको राजनीतिक परिस्थितिको आधारमा सरकारबाट हटनुपर्ने भए हट्न आफू तयार रहेको विषय उल्लेख गरी यादवले राजपालाई पत्रको जवाफ फर्काएको एक दिनपछि नै सार्वजनिकरूपमा सरकारलाई सरकारबाट हटने चेतावनी दिएका हुन् ।

राजपा र फोरम देशको तेस्रो र चौथो ठूलो पार्टी हो । यी दुईको गठबन्धनमा प्रदेश नम्बर २ मा सरकार गठन गरिएको छ । यी दुई शक्तिको मिलनबाट सरकारलाई गणितीय आधारमा सरकार ढाल्न सक्ने बहुमत प्राप्त नभए पनि राजनीतिक रूपमा ठूलो घाटा हुन सक्ने देखिएको छ ।