परीक्षा हलमा मन्त्री र साँसदको लर्को किन ?

परीक्षा हलमा मन्त्री र साँसदको लर्को किन ?

काठमाडौं । यस वर्षको एसइई परीक्षा आजदेखि देशैभर सञ्चालन भएको छ । बिहान आठ बजेददेखि सुरु भएको परीक्षा निरीक्षण गर्न भन्दै देशका बिभिन्न जिल्लाका परीक्षा केन्द्रहरुमा मन्त्री, सांसद, प्रमुख जिल्ला अधिकारी र स्थानीय निकायका जनप्रतिनिधिहरुसमेत परीक्षा संचालन भइरहेको हलमा प्रवेश गरेको समाचारहरु आइरहेका छन् ।

एसइई परीक्षा संचालन भइरहेका कक्षा कोठामा मन्त्री, सांसद र वडा अध्यक्ष जस्ता पदाधिकारीहरुको प्रवेशले विद्यार्थीहरुमा त्रास उत्पन्न भएको छ । एक त एसइई विद्यार्थी दिने विद्यार्थीहरु कलिलो दिमागका हुन्छन्, उनीहरुमा नौलो व्यक्ति देख्नासाथ त्रास उत्पन्न हुन्छ, परीक्षा भनेपछि फेरि के एसइई के पिएचडी सबैको मनोविज्ञान बुझ्दा डर र त्रास नै घर गरेको हुन्छ ।

सिन्धुली गोलन्जोर, खुर्कोट परीक्षा केन्द्र भएकी एक विद्यार्थीका अनुसार उनको केन्द्रमा पनि आज पहिलो दिन वडा सदस्य र प्रहरीहरु प्रवेश गरेका थिए । परीक्षा कोठामा प्रहरी नै नछिरे पनि शिक्षक र पर्यवेक्षक बाहेकका अन्य व्यक्तिहरु कोठामा प्रवेश गर्दा आफूहरुलाई डर र त्रास हुने अनि लेख्न खोजेको कुरा विर्सैने गरेको ती विद्यार्थीले सुनाए ।

आजदेखि सुरु भएको यस वर्षको एसइई परीक्षामा सहभागी नेकपा सांसद शान्ता चौधरी, नयाँ शक्तिकी नेतृ एवम् नेपाली चलचित्र क्षेत्रकी अभिनेतृ करिश्मा मानन्धर लगायत देशभरका कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी सहभागी छन् ।

यसैगरी जाजरकोटको भेरी नगरपालिका– ११ स्थित शिवशंकर माविमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षाको अनुगन तथा निरीक्षण गर्न सांसद कौशिला खत्री र प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत कक्षा कोठामै प्रवेश गर्दा विद्यार्थीहरुमा त्रास उत्पन्न भएको थियो ।