‘मालिक’ ले ढाले शालिक

‘मालिक’ ले ढाले शालिक

काठमाडौं । एउटा फेटा ओढेको शालिक डङ्रङ्ग उत्तानो परेर लडेको छ । शालिक लडेसँगै इतिहास पनि लडेको भान हुन्छ । त्यो ढलेको केवल फलाम होइन । त्यो केवल टोपी, कोट र हातको कागज अनि दौरा मात्र पनि होइन ।

यो ढलेको शालिक हो पूर्व राजा त्रिभुवनको । हामी अझै पनि लोकसेवा आयोगको जागिर खानका तयारी गर्नु पर्दा सामान्य ज्ञानका पुस्तकहरुमा र विद्यालयका कोर्शमा अनि  इतिहासका पानाहरुमा एउटा प्रश्न भेट्छौं, नेपालमा कसले प्रजातन्त्र ल्याएका हुन् ? त्यसको उत्तर भेटिन्छ, ‘राजा त्रिभुवनले’ ।

२०५२ सालदेखि सुरु भएको दश वर्षे जनयुद्ध र ०६२/०६३ सालको १९ दिने जनआन्दोलनले देशमा निरंकुश राजतन्त्र त ढाल्यो तर अहिलेका टोल टोलका, गल्ली गल्लीका र गाउँगाउँका छोटे राजाहरुले शासन चलाइरहेका छन् । लोकतन्त्र हुँदै गणतन्त्रमा देश प्रवेश गरेको पनि एक दशक पूरा भइसकेको छ । तर गणतन्त्रको नाममा इतिहास मेट्ने दुस्प्रयासहरु पनि उत्तिकै भइरहेका छन् । केही सीमित मालिकहरु शालिकसँग पौठेजोरी खेलिरहेका छन् ।

यसको पछिल्लो उदाहरण हो काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा रहेको पूर्व राजा त्रिभुवनको शालिक ढल्नु र वर्षौ भइसक्दा पनि नठड्याइनु । आर्थिक अभावको निहुँमा एउटा इतिहास धुलाम्यै भुईँमा ढलेर नामेट हुन लाग्दा पनि सम्बन्धित निकायले त्यसको निर्माणका लागि ध्यान नदिँदा त्रिभुवन पार्कमा पुग्ने जो कसैको मन अमिलो हुन्छ । दैनिकजसो बनभोज खान जाने र घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकहरु पूर्व राजाको ढलेको शालिक देख्दा निकै आश्चर्यमा पर्ने गरेको र दुःिखत हुने गरेको स्थानीय गोपाल खड्काले बताए । उनका अनुसार यो शालिक २०७२ सालको भूकम्पपछि यसैगरी बेवारिसे अवस्थामा लडिरहेको छ ।

 
इतिहास अनुसार २०११ सालमा राजा त्रिभुवनको मृत्युपश्चात श्रद्धाञ्जली दिन आउने आम सर्वसाधारणको घुइँचो टुँडिखेलमा लागेको थियो । तत्कालीन समयमा सबैले राजाको सम्झना स्वरूप एउटा समिति गठन गर्ने प्रस्ताव राखे । सबैको प्रस्तावस्वरुप ‘श्री ५ त्रिभुवन स्मारक समिति’ गठन भयो । त्यो समितिले राजाको सम्झनामा कुनै उल्लेखनीय काम गर्ने  निर्णय पनि गरेको थियो । त्यसलाई मूर्त रूप दिन राजाको सम्झना गर्दै थानकोटमा त्रिभुवन पार्क बनाउने निर्णय भएको थियो ।

 

हामी ‘लोकतन्त्रको बिकल्प झन बढी लोकतन्त्र हो’ भनी हरेक दिन नेता र मन्त्रीहरको भाषण सुनिरहेका छौं । लोकतन्त्रमा कसैको इतिहास नामेट पार्ने अधिकार कसैलाई पनि दिइएको छैन । न त यो अधिकार नयाँ संविधानले दिएको छ ।

२०६५ साल अघिसम्म यो पार्क सञ्चालक समितिको नाम ‘श्री ५ त्रिभुवन स्मारक समिति’ थियो । २०६५ मा तत्कालीन नाम (श्री ५ त्रिभुवन स्मारक समिति) परिवर्तन गरी ‘सहिद स्मारक प्रकृति प्रतिष्ठान’ राखिएको हो ।

सायद पार्कको नाम फेरिएका कारण लोकतन्त्रिक गणतन्त्रमा त्यहाँ पूर्व राजा त्रिभुवनको शालिक राख्न नपाइने भएको हो कि ? यदि त्यस्तै हो भने लोकतान्त्रिक गणतन्त्रमा सिंहदरबारको मूल गेट अगाडिको पूर्व राजा पृथ्वी नारायण शाहको शालिक हटाउनुका साथै हरेक इतिहास, पाठ्यपुस्तक र लोकसेवाको परिक्षामासमेत पूर्व राजा, राणा, पञ्चहरुका बारेमा पनि केही लेख्न र सोध्न नैं नपाइने किसिमको नियम बन्ने पो हो कि ?