कता पुग्यो नेकपाको तलसम्मको एकता ? लेनिन जयन्तीमा साइत ?

कता पुग्यो नेकपाको तलसम्मको एकता ? लेनिन जयन्तीमा साइत ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता घोषणा भएको पुग न पुग एक वर्ष हुन लागेको छ । गएको वर्ष जेठ ३ गते घोषणा भएको एकताको मेलो नसरेकोले कार्यकर्तामा उत्साह भने मरिसकेको छ । विभिन्न तहमा पदको आकांक्षी कार्यकर्ताहरु गलेर भुतुक्कै भएकोले होला यतिखेर बाँकी तहहरु गठन गर्न नेताहरुलाई अवश्य सहज हुन पुगेको छ ।

पार्टीकोे केन्द्र, स्थायी समिति र सचिवालय गठन भइसकेको छ । तर कम्युनिष्ट पार्टीको विचार उत्पादन गर्ने पोलिटब्युरो अझैसम्म बनेको छैन । जनवर्गीय संगठनहरु एकाध वाहेक अझै साविक पार्टीका साविक संगठनका रुपमा सामान्य दिनचर्यामा छन् । 

यता पार्टी सूत्रहरुले भने पार्टी एकताको गृहकार्य फेदैसम्म टुंगिएको खबर चुहाएका छन् । अध्यक्ष प्रचण्ड अमेरिका जानुअघि जिल्लाका इच्चार्ज र सचिवको टुंगो लागिसकेको स्रोतको दावी रहेको छ । त्यसमध्ये केन्द्रीय सदस्यको जिम्मेवारी पनि बाँडफाँड भइसकेको बुझिएको छ । रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलको गृहकार्यले मुख्यतः टुंगो लगाइसकेको र अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किएपछि त्यसलाई दुई अध्यक्षले अन्तिम रुप दिने बताइएको छ । 

पूर्व एमालेको गुटबन्दीकै कारण मुख्यतः पार्टी एकताको मेलो नसरेकोले अहिले दुई अध्यक्षले एकता सक्ने गरी निर्णय गरिसकेको पनि सूचना छ । अध्यक्ष प्रचण्ड अमेरिकाबाट पर्सि विहीवार नेपाल आउनासाथ पार्टी एकताको बाँकी काम सकिने स्रोतको दावी छ । आगामी बैशाख ९ गते लेनिन जयन्तीको अवसर पारेर पार्टी एकता सम्पन्न भएको घोषणा हुनसक्ने पनि अडकलबाजी गरिन्छ । नेकपाका अर्का अध्यक्ष केपी ओलीले पार्टी एकता सम्पन्न भएको घोषणा आश्चर्यचकित पार्ने ढंगले आउने मन्तव्य दिइरहेको बेला बैशाख ९ लेनिन जयन्तीको साइत मिति हल्ला बाहिर आएको हुन सक्छ । यो मितिमा पनि एकताको पूर्णता सर्दै गयो, भएन भने नेकपाको विचलन हदैसम्म हुने विश्लेषकहरुको राय छ ।