विप्लव पार्टीसँग हतियार र शक्ति कति ?

विप्लव पार्टीसँग हतियार र शक्ति कति ?

१३ चैत्र, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय र विप्लवलाई मूल्यधारमा आउन दिएको अल्टिमेटमबारे विरोध र समर्थनमा चर्चा भइरहे पनि त्यो समूहसँग कति हतियार र कति लडाकू रहेकोबारे स्पस्ट जानकारी कतै रहेको देखिदैन् ।

तर विप्लव समूहका बारेमा नेपाली सेनाका पूर्व अधिकारी बालानन्द शर्माको अभिव्यक्ति महत्वपूर्ण देखिन्छ । शर्मा भन्छन् “विप्लव समूहसँग हतियार मात्रै होइन तालिम प्राप्त लडाकू पनि रहेको छ ।” शर्मा माओवादी लडाकूको विषयमा बनेको विशेष समितिको सचिवालयको समन्वय गरेका नेपाली सेनाका पूर्व अधिकारी हुन् ।

पूर्व माओवादी लडाकूका डेप्टी कमान्डर रहेका कृषि तथा पशु विकास मन्त्री चन्द्रप्रकाश खनालले पनि चन्द समूहसँग केही हतियार हुनसक्ने बताउँछन् ।

खनाललगायतका पूर्व माओवादीहरूले मात्रै होइन माओवादी सेनाका पूर्व सर्वाेच्च कमान्डर तथा सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी जनसेनाका शिविरबाट केही हतियार चोरिएको बताएको बताए । उनले यसबारे सरकारलाई जानकारी गराइसकेको पनि बताए । शान्ति सम्झौतापछि ती हतियारहरू ७ क्याण्टोनमेण्टमा राखिएको थियो ।

दुई हजार आठ सय ५५ हतियार शान्ति सम्झौतामा उल्लेख गरेका प्रावधान अनुसार माओवादीहरूले छुट्टै राखेका थिए । क्याण्टोनमेण्ट र नेताहरूको सुरक्षाका लागि यी हतियार राखिएका थिए ।

प्रधानमन्त्री ओलीले मूलधारमा आउन विप्लवालाई दिएको कडा चेतावनी लगतै विप्लवले चैत्र १६ गते आमहडताको आह्वान गरेका छन् । विप्लवले पार्टीमाथि लगाएको प्रतिवन्ध हटाउन माग गर्दै यो आम हडतालको आह्वान गरेका हुन् । सरकारले विप्लव पार्टीका नेता तथा कार्यकताहरूलाई पक्राउ गर्दै आएको छ । 

विप्लव पार्टीले चार कमान्ड बनाएको छ । पूर्वी कमान्ड अनिल शर्मा, केन्द्रीय कमान्ड हेमन्त प्रकाश ओली, मध्य पश्चिम कमान्ड सन्तोष बुढा र पश्चिम कमान्ड धर्मेन्द्र बास्तोलालाई जिम्मेवारी दिइएकोमा हाल ओली पक्राउ परेका छन् ।

महासचिव विप्लवले पूवी माओवादी उपकमान्डर उदय चलाउनेलगायतसँग मिलेर समग्र सुरक्षाको नेतृत्व गरिरहेको मिडियामा चर्चा चलेको छ । पार्टीले कालिकोट, रोल्पा र कपिलवस्तुमा शक्ति विस्तार गरी आधार खडा गरेको बुझिएको छ । 

कतिपयले सरकारका कदमहरू विप्लवलाई वार्तामा ल्याउन गरिएको दवावमुलक राजनीतिक प्रयास भएको बताए पनि विप्लव सहजै वार्तामा आउनेमा केहीले शंका व्यक्त गरिरहेका छन् ।