यो देशमा ‘पप्पु’ हरु कति छन् ? किन बन्दैनन् समयमै पुल ?

यो देशमा ‘पप्पु’ हरु कति छन् ? किन बन्दैनन् समयमै पुल ?

कतै पक्की पुल मुनि काठेपुल छन् त कतै हुरीले पक्की पुल नै उडाइदिएको छ ।

काठमाडौं । ठेकेदारहरुको लापरवाहीका कारण समयमै विकासका पूर्वाधारहरु निर्माण नहुँदा जनताले सास्ती खेपिरहनु परेको छ ।

केही ठेकेदार स्वयम् सांसद पद धारण गरेर पावरमा रजाईँ गर्दा उनीहरुले ठेक्का लिएका परियोजना, सडक, पुल, भवन आदिले समयमै पूर्णंता नपाउँदा उनीहरुको मान, स्वाभिमान र इज्जतमाथि दाग लागेको त छ नै त्यो भन्दा बढी जनताले सास्ती खेप्नु परेको छ ।

पप्पु कन्स्ट्रक्सनले गरेको सडक तथा पुल निर्माणको बदमासी र ढिलासुस्तीका बारेमा सञ्चामाध्यमहरुले लगातार समाचार सम्प्रेषण गर्दै उसलाई सुध्रिने चेतावनी दिएका थिए । १९ करोड हिनामिना गरेको आरोपमा पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियारविरूद्ध भ्रष्टाचार मुद्दा नै दायर भएको थियो ।

‘कि आफू जान्नु कि त अरुले गरेको देखेर सिक्नु’ भन्ने नेपाली उखान चरितार्थ भएको छ । एउटा पप्पु बिरुद्ध मुद्धा दायर भए पनि विकास निर्माणका बाधक सयौँ पप्पुहरु राजनीतिक संरक्षणमा टाउको उठाएर ठाँटका साथ हिँडिरहेका छन् । एउटाले गरेको गल्ती, उसले पाएको सजाय र उसलाई दिइएको कारवाहीबाट अन्य ठकेदारले पनि सिक्नु पर्नेमा उल्टै ठेकेदारहरु राजनीतिक संरक्षणमा पानीमाथिको ओभानो बन्ने दुस्प्रयास गरिरहेका छन् ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका ठेकेदार सांसद बहादुरसिंह लामाको कम्पनीले ठेक्का पाएर समयमै निर्माण हुन नसकेको त्रिशुली नदीमाथिको पुलको संरचना भत्किएपछि हुरीले लडायो कि भ्रष्टाचारले भन्ने प्रश्न सिर्जना भएको छ । नुवाकोटकै समानुपातिक सांसद लामाको हिम्दुङ एण्ड थोकर कम्पनी, सपना र नागार्जुन कन्सट्रक्सन जेभीले जोइन्टभेन्चरमा निर्माणको जिम्मा पाएको पुल निर्माणमा चरम अनियमितता भएको विषय यसअघि नै प्रकाशमा आएको थियो ।

नुवाकोटको बेलकोटगढीको केउरिनी र धादिङ जोड्ने त्रिशुली नदीमाथिको पुल मंगलबार साँझ आएको हुरीले उडाउको थियो । ‘हावाले पनि उडाउने कस्तो पुल बनाउन लागे साँसदज्यूले ? हावाले उडाउने पुलमा कसरी गाडी चल्छ ? धन्न गाडी चलेर दुर्घटना भएन !’ यतिबेला यो प्रश्न प्रत्येक स्थानीयको मुखमा सुनिन थालेको छ ।

पुलको निर्माणमा अन्य कांग्रेस कार्यकर्ताका कम्पनीहरूलाई प्रयोग गरिदै आएको थियो । गत असारमै सम्पन्न हुनुपर्ने पुलको मुस्किलले ४५ प्रशित काममात्रै सम्पन्न भएको छ । स्थानीयहरूले पटक–पटक गुणस्तरहीन काम भएको भन्दै ध्यानाकर्षण गराउँदा समेत उल्टै उनीहरूलाइ धम्की दिने काम ठेकेदारका प्रतिनिधिहरूले गर्दै आएका छन् ।

यसैबीच कञ्चनपुरको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमा अलपत्र निर्माणाधीन पक्की पुलको तस्बिरले यतिबेला सामाजिक सञ्जालबाट सबैलाई खिज्याइ रहेको छ । पुल निर्माणको समयावधि सकिँदा पनि पिल्लर मात्रै बनेको छ । पुल नहुँदा लालझाडी गाउँपालिकाका स्थानीयले सास्ती खेप्नु परेको छ । पक्की पुलको तलबाट काठे पुल बनाइ त्यसबाट मानिस तथा मोटरसाइकल ओहोर दोहोर गर्नुपर्दा ठेकेदारको हेलचेक्र्याइँप्रति स्थानीय अक्रोशित बन्दै आएका छन् ।