दक्षिण एसियाको मुहार फेर्न सक्ने पाकिस्तानको तेल भण्डार

दक्षिण एसियाको मुहार फेर्न सक्ने पाकिस्तानको तेल भण्डार

१५ चैत्र, काठमाडौं । अपेक्षा गरे अनुसार पाकिस्तानमा अनुसन्धान भइरहेको तेल भण्डार सुनिश्चित भए यसले दक्षिण एसियाको राजनीतिक र आर्थिक सम्बन्धलाई परिवर्तन गर्नसक्ने देखिएको छ ।

चिनियाँ सञ्चार माध्यमहरूले  जनाए अनुसार चीनले यसका लागि पाकिस्तानलाई थप सहयोग गर्ने भएको छ । 

पाकिस्तानको जलीय क्षेत्रमा तेलको एक ठूलो भण्डार रहेको सम्भावनाबारे अनुसन्धान भइरहेको छ । अनुमान गरे अनुसार यो अनुसन्धानको नतिजा सामुन्ने आउने भए पाकिस्तानका लागि मात्रै नभएर यो दक्षिण एसियाली देशका लागि मुहार फेर्ने भण्डार हुने चीनको ग्लोबल टाइम्सले जनाएको छ ।

अमेरिकाको ठूलो तेल कम्पनी एक्सन मोबिल र इटलीको इएनआइले जनवरीदेखि यो तेल भण्डारको उत्खनन गरिरहेका छन् ।

पाकिस्तानलाई अहिले विदेशी लगानीको आवश्यकता छ । यो तेल भण्डार सुनिश्चित भए उसका लागि समृद्धिको ढोका मात्रै खुल्ने होइन यो क्षेत्रकै अर्थतन्त्रलाई फड्को मार्न ठूलो धक्का प्राप्त हुनेछ । यो तेल भण्डारबाट आर्थिक उपार्जन गर्न विश्वका लगानीकर्ताले सहयोग गरे पाकिस्तानको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

चीनले पाकिस्तानको ऊर्जा क्षेत्रमा बलियो सहयोग गरिआएको छ । तेल भण्डारणको विकासमा चिनियाँ कम्पनीहरू लगानीका लागि अग्रसर देखिएका छन् ।

चीन पाकिस्तान आर्थिक करिडोरको उद्देश्य मुख्यतः रणनीतिक रूपले महत्वपूर्ण हुने तेल ग्यास पाइपलाइनका लागि थियो । यो पाइपलाइनले चीनको उत्तर पश्चिम सिनजियाङ उगुर स्वायत्त क्षेत्र र ग्वादर बन्दरगाहलाई जोड्नेछ ।

पाकिस्तानका लागि साउदी अरबजस्ता खाडी देशहरूले ऊर्जा क्षेत्रमा विकास गर्न सहयोग गर्ने देखिएको छ । एसियाको भूराजनीतिक तस्विरलाई पाकिस्तानको यो सम्भावित तेल भण्डारको सुनिश्चिताले यस  क्षेत्रको मुहार फेर्ने, एक गेम चेन्जर आर्थिक परियोजना साबित हुने अपेक्षा चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।