लोकतान्त्रिक चौरको त्यो गुलमोरको रुख 

लोकतान्त्रिक चौरको त्यो गुलमोरको रुख 

फणीन्द्र फुयाल ज्वाला

केही दिनअघि सिन्धुलीको खम्बे चौर अर्थात लोकतान्त्रिक चौरको गुलमोरको रुख रातारात ढालिएछ गल्र्याम्म । जुन रुखको यतिबेला सिन्धुलीमा मात्र होइन काठमाडौंमा पनि चर्चा चुलिएको छ । ०६२÷६३ सालको दोस्रो जनआन्दोलनपछि सिन्धुलीको पुरानो हाटे चौरलाई लोकतान्त्रिक चौरमा न्वारान गरिएको जो छ !  

रुख सुद्ध, सफा हावाको खानी अनि जननी हो । रुख वातावरण र पर्यावरणको पर्याय पनि हो । रुख छापको राजनीति नेपाली काँग्रेसले जुग जुनिभर गरिरहे पनि यतिबेला रुखको ‘राजनीति’ मा सिन्धुलीका नेकपाहरु पनि लागेको देख्दा यो स्तम्भकार सेन्टिफ्ल्याँट खाएको छ । त्यसो त सिन्धुलीको कमलामाई नगरपालिकाको नेतृत्व जननिर्वाचित नेकपाले गरिरहेको छ ।

‘रुख रोपौँ, हरियाली जोगाऔँ, रुख रोपौँ भूक्षय रोकौँ, रुख रोपौँ वातावरण सफा पारौँ’ जस्ता अनेकौँ नारा हामीले जान्दैदेखि सुन्दै, पढ्दै, र लेख्दै आएका हौँ । आज फेरि किन त्यही रुखको व्यापक चर्चा हुँदैछ सिन्धुली र सिन्धुलीवासीमा ?

गुलमोरको रुख काटिनु एउटा संयोग हो । खाँट्टी कुरो चाहिँ अर्कै छ । यो रुख काटेर यहाँ सिमेन्टको सालिक खडा हुँदै छ । शालिक कसको त ? रातारात डोजर चलाएर ढालिएको यो रुखको स्थानमा अव जुनार फल्ने छ, त्यो पनि सिमेन्टको !

सामाजिक सञ्जालमा बहस, कचहरी जारी छ । कोही भन्छन् यहाँ सिन्धुलीको पहिचान झल्किने जुनारको शालिक बनाऔं, कोही लेख्छन् जिल्लाको वामपन्थी नेता ऋषि देवकोटा ‘आजाद’को शालिक, राखौँ । कोही तर्क गर्छन्, सिन्धुली जिल्ला चिनाउने ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमाई कत्तिमा राम्रो दरबार...’  गीतका गायक स्वर्गीय कृष्णविक्रम थापाको शालिक अनि यस्तै यस्तै... ।

आखिर गुलमोरको जिउँदो रुख ढालेर सो स्थानमा कमलामाई नगरपालिकाले ठड्याउँदैछ सिमेन्टको जुनार । सायद त्योे सिमेन्टको जुनारले ‘अफ सिजन’मा फलिरहेको भान पार्नेछ जिल्लाबासीमा !

जसरी प्रत्येक मानिसको आफ्नो पहिचान र स्वभाव हुन्छ त्यसैगरी प्रत्येक देश, प्रत्येक प्रदेश र प्रत्येक जिल्ला, गाउँ, टोल र गल्लीको पनि आफ्नो विशेषता र पहिचान हुन्छ । आफ्नो जिल्ला र क्षेत्रको पहिचान झल्काउने काम पनि स्थानीय जनता र प्रतिनिधिहरुकै हो । तर त्यसका लागि सबै सरोकारवालाको सल्लाह, सुझाव, प्रतिक्रिया र अनुमति लिएर काम गर्दा त्यसले लोकतान्त्रिक पद्धति, लोकतान्त्रिक मूल्य र मान्यता अनि संस्कार अगाल्ने थियो । 

यदि त्यही खम्बेचौरीमै शालिक बनाउनु थियो भने किन बजारको सौन्दर्यका रुपमा रहेको उक्त चौतारो मासेर शालिक बनाउने निर्णयमा नगरपालिका पुग्यो ? चौतारो नमासिकन त्यसैको छेउमै शालिक बनाउन पनि त सकिन्थ्यो । चौतारोले दिएको सौन्दर्य शालिकले पक्कै दिन सक्दैन र शालिकले दिएको दिएको सौन्दर्य पनि कहाँ चौतारोले दिन सक्छ र ? शालिक र चौतारोको आफ्नै पहिचान छ र हुनुपथ्र्यो त्यही ।

तर जे नहुनु थियो त्यो भइसक्यो । चौतारोमा डोजर लागिसक्यो । गुलमोहर मरिसक्यो । कंक्रिटयुक्त संरचनाको निर्माण नै विकास हो भन्ने पश्चिमा मान्यताले गर्दा पर्यावरण संकटमा पर्दै गएको छ ।

यतिबेला देशका अधिकाँश पहाडी जिल्लाहरुमा कतै लालिगुराँस, बिरालो, काउली, एभोकाडो, लसुन, तोङ्वा त कतैँ कलश, गौँडा लगायतका शालिकहरु निर्माण भएका छन् । ती संरचनाले आफ्नो पहिचान स्थापित त गरेका छन् नै तर त्यस्ता संरचना निर्माण गर्नका खातिर दोबाटो, पार्क वा बगैँचामा रोपिएको रुख नै ढाल्नु कति शोभनीय हुन्छ ? यो प्रश्नको उत्तर खोज्ने र निर्णय लिने जिम्मा आम पाठकको !