कर्पोरेटलाई रेड कार्पेट ः राष्ट्रिय पुँजी सत्यानास

कर्पोरेटलाई रेड कार्पेट ः राष्ट्रिय पुँजी सत्यानास

१६ चैत्र, काठमाडौं । लगानी सम्मेलनको तेस्रो संस्करणमा आइपुगेपछि नेपालको व्यापारिक संस्थाहरु पनि कर्पोरेट कम्पनीको कोपभाजनमा पुगेको सम्मेलनमा व्यक्त विचारका आधारमा विश्लेषण गर्न सकिन्छ । 

लगानी सम्मेलनमा राष्ट्रिय पुँजीको विकासको सन्दर्भ कतै कोट्टिएन तर कर्पोरेट हाउसलाई रेड कार्पेट ओछ्याउने आश्वासन दिएर ती संस्थाका प्रमुखहरुले नेपाली पुँजीको उपहासमात्र गरेनन्, निरिहतासम्म प्रकट गरे । यस्तै निरिहता प्रस्तुत गर्नेमध्येकी एक थिइन, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा । 

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा शनिवार आयोजित ‘नेपालमा लगानी ः अनुभव आदानप्रदान’ सत्रमा राणाले भनिन्, ‘नेपाल राजनीतिक संक्रमण पार गरी आर्थिक विकासको चरणमा प्रवेश गरेको र वर्तमान सरकारसँगै निजी क्षेत्र पनि ठूला परियोजनामा निर्माण गर्ने तयारीमा जुटेको छ । श्रम गर्न सक्ने जनशक्ति पर्याप्त मात्रामा रहेको, विद्युत् भार कटौतीको समस्या हल भएको, औद्योगिक वातावरण निर्माण भएकोले नेपालमा लगानीको उपयुक्त समय आएको छ ।’

यसरी निरिहता प्रदर्शन गर्ने नेपाली उद्योगीहरुमा उनी एक्ला पात्र भने हैनन । उनीसँगै सहभागी उद्योगी, व्यवसायी तथा लगानीकर्ताले एकै स्वरमा प्राथमिकताका साथ भने, ‘नेपाल लगानीका लागि उपयुक्त मुलुक हो ।’ 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, एशियाली विकास बैंक, बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल, सतलज विद्युत् निगमका प्रतिनिधिले पनि नेपालमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त गर्न सकिने बताए । 

यता गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले त वैदेशिक लगानीलाई आफ्नै स्वार्थका कारण पनि ‘गौरवशाली’ भन्ने नै भए । उनले व्यक्त गरेको विचारका आधारमा पनि राष्ट्रिय पुँजीलाई विस्थापित गर्न वैदेशिक पुँजी भित्र्याउनु पर्ने हदमा सिँगारिएको थियो । यतिमात्र हैन उनले नेपाल सुनको फूल पार्ने पोथी जस्तै भएको आसयको विचार व्यक्त गरेका थिए । 

उनले भने, ‘नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो, आउनुस लगानी गर्नुहोस् । विश्वमै उच्च नाफा लिन सकिने नेपाल एकमात्र मुलुकका रुपमा रहेको छ । यहाँ खासै लगानीका लागि व्यवधान छैन । नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक हो ।’

सिधै इष्ट इण्डिया कम्पनी भारतमा आएर लखनौं लूट गर्न पाए झै नेपालमा लगानी गर्दा महतोले विश्वमा कतै नभएको नाफा कमाउने भाषण छाँटिरहँदा भने नेपालका उद्योगी व्यवसायीहरु निरिह झैं देखिन्थे । यतिमात्र होइन उनले झनै अगाडि बढेर भने, ‘नेपाली जनता र यहाँको सरकारी संयन्त्र सहज रुपमा उपलब्ध हुने भएकाले लगानीका लागि कुनै झन्झट व्यहोर्नु पर्दैन । विश्वका विकसित देशमा समेत एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण गर्न असजिला प्रक्रिया छन् तर नेपालमा छैन् ।’

विदेशी लगानी भित्र्याउने सन्दर्भमा को भन्दा को कम गरी पुनः अध्यक्ष राणाले थपिन्, ‘वैदेशिक लगानी भित्र्याउन एकद्वार प्रणाली लागू गरेको, नेपालमा स्थापित भइसकेका केही बहुर्राष्ट्रिय कम्पनी युनिलिभर, टेलिकम्युनिकेशन कम्पनी लगायतले उचित मुनाफा आर्जन गरिरहेका छन् । नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि पर्याप्त अवसर छ ।’ राणाले लगानीकर्तालाई बजार देखाउने कोसिस गर्दै जोड गरिन, ‘नेपालले छिमेकी मुलुक चीन र भारतसँग झण्डै आठ हजार नेपाली उत्पादन निकासी गर्दा भन्सार महसुल छुट दिने गरी सहमति गरेको छ । त्यस्तो सुविधाले यहाँ उत्पादित वस्तुलाई बजारको अभाव हुँदैन ।’ 

सहभागी नेपाली उद्योगपतिहरुले लगानी ल्याउने मामिलामा नेपालको मौसमको दुहाइ दिन पनि भ्याए । नेपालको मौसममा स्विटर र वातानुकुलित प्रविधिको आवश्यकता पनि नपर्ने ‘फण्टुस’ कुरा गरेर आकर्षित गर्नेमा थिए, नेपाल उद्योग परसंघका अध्यक्ष हरिभक्त शर्मा । उनले भने, ‘नेपालको मौसम विश्वकै एकमात्र त्यस्तो मौसम हो, जहाँ मानिस स्वीटर र वातानुकूलित वातावरण बिना बस्न सक्छ, विश्वमा यस्तो वातावरण कही पनि छैन । नेपालको मौसमबाट विश्वका सबै मानिस प्रभावित हुने गरेका छन् ।’

विश्वमै लगानी गरेर परियोजना सम्पन्न गर्न नसकेको विषयलाई ढाकछोप गर्न एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेनले नेपालमा भौतिक पूर्वाधारका क्षेत्रमा ठूला लगानी आवश्यक भएको तुरुप फाल्न भ्याए ।  एडिबीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, भूकम्पबाट क्षतिग्रस्त विद्यालयका भवन पुनः निर्माणलगायत विभिन्न परियोजनामा लगानी गरेको जानकारी दिँदै, नेपालको विकासका लागि थप लगानी गर्न तयार रहेको बताउन भ्याए । तर यी परियोजनाको हालत भने सबै नेपालीका आँखामा जगजाहेरै छ ।

यस्तै बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रबन्ध निर्देशक आशिष रायले नेपालमा लगानी गरेर मनग्य नाफा कमाएको जिकिर गरे । सतलज जविद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुने देखेर लगानीका लागि प्रेरित भएको बताए । सतलजले अरुण तेस्रो जलविद्युत् आयोजनामा गरेको लगानीले आगामी पाँच÷छ वर्षदेखि प्रतिफल दिने र बाँकी अवधिको भने पूरै मुनाफा हुने भन्दै नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागि आग्रह गरे । उनले नेपालका कूल जलविद्युत् क्षमताको ५० प्रतिशत हिस्सा मात्र उत्पादन गर्न सके १०÷१५ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय चार गुणा बढ्न सक्ने सम्भावना औँल्याए । तर, यो आयोजनाको अन्य पक्षमा भने उनले प्रवेश गरेनन् ।

उच्च मूल्यका कृषि तथा जडीबुटी उत्पादन गर्न सकिनेमा पनि विदेशी लगानीकर्तालाई नेपाली उद्योगीले अपिल गरे । लगानीका सन्दर्भमा उद्योग परिसंघसंग छलफल गर्न अपिल गर्न भ्याए । यस्तो लाग्दथ्यो नेपालका उद्योगीहरु उद्योगी नभएर पथप्रदर्शक मात्र हुन । माक्र्सवादी राजनैतिक साहित्यले उल्लेख गरेको दलाल पुँजीपति हुन । राष्ट्रिय पुँजीपति हैनन् ।