आठौं राष्ट्रिय खेलकुद ः ४४ करोड बजेट, खेलाडी भन्दा पदाधिकारी दोब्बर 

आठौं राष्ट्रिय खेलकुद ः ४४ करोड बजेट, खेलाडी भन्दा पदाधिकारी दोब्बर 

काठमाडौं । प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने लक्ष्यका साथ २०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको आठौं संस्करण यही चैत २७ गतेदेखि पाँच नम्बर प्रदेशको नेपालगञ्जमा सञ्चालन हुने भएको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा शुक्रबार बसेको नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को एक सय ११ औँ बोर्ड बैठकले प्रतियोगिता बैशाख ११ गते समापन गर्ने निर्णय गरेको हो । 

शनिबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा ३५ खेल समाबेश गरिएको बताउँदै यो संस्करणको उद्घाटन र समापन बाँकेको नेपालगञ्जस्थित रंगशालामा एक भव्य समारोहबीच हुने जानकारी दिए । 

बैशाखमा नेपालगञ्जमा अत्याधिक गर्मी हुने भए पनि खेलाडीहरुलाई २५ डिग्री भन्दा बढी तापक्रममा कुनै पनि खेल नखेलाइने विष्टले बताए । उनले भने, ‘हामी फुटबल र हकी भन्दा बाहेकका अन्य खेल कभर्डहलभित्रै खेलाउँछौ, त्यसै अनुसरा खेल पूर्वाधार निर्माण भइरहेका छन् ।’ उनी भन्छन्, हामी बिहान १० बजे भन्दा अघि र बेलुका ४ बजे भन्दा पछि खेल खेलाउँछौ, बेलुकाको खेल खेलाउन बत्तीको व्यवस्था गरेको छौँ ।’

प्रतियोगितामा समावेश गरिएका ३५ वटा खेलमा फुटबल, एथलेटिक्स,बक्सिङ, भारोत्तोलन, टेवल टेनिस, क्रिकेट, लन टेनिस, पौडी, सुटिङ, भलिवल, स्क्वास, तेक्वान्दो, जाुडो, आर्चरी छन् । त्यसैगरी अन्य खेलमा कवड्डी, खो खो, ऊसु, बासकेटबल, व्याडमिन्टन, साइक्लिङ्ग, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्ण्डबाल, बुद्धिचाल, सफ्टटेनिस, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्याष्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्की समावेश गरिएको छ ।

पाँच नं प्रदेशका पाँच जिल्लाहरु बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा हुने यस प्रतियोगिताको लागि राखेपले कूल बजेट ४३ करोड, ८५ लाख, ५१ हजार ६५० रुपैयाँ माग गरेकोमा ३२ करोड ८४ लाख, ५९ हजार निकास भइसकेको र बाँकी नपुग रकम ११ करोड ९२ लाख ६ सय ५० रुपैया निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गर्ने शुक्रबारको बोर्ड बैठकले निर्णय गरेको छ । 

सदस्य सचिव विष्टका अनुसार प्रतियोगिता संचालनका लागि ९० करोड लागतको खेल पूर्वाधार तयार हुँदै छ भने अझै १५ करोड रुपैयाँ अपुग भएको छ । हाल नेपालगञ्जमा रंगशाला तथा कभर्डहल निर्माण र रंगरोगन गर्ने कार्य जारी छ । 
यस पटकको प्रतियोगितामा तीन विभागीय टिमहरु (आर्मी, प्रहरी, र सशस्त्र), गैर आवासीय नेपाली संघ (एन आर एन) को तर्फबाट नौ देशका २४ खेलाडी र ७७ वटै जिल्लाबाट छनोट भई आएका खेलाडी गरी जम्मा पाँच हजार दुई सय ११ जना खेलाडीले सहभागिता जनाउने छन् । जसमध्ये दुई हजार आठ सय २५ पुरुष र दुई हजार तीन सय ८६ महिला खेलाडी हुनेछन् । खेल क्षेत्रको कुम्भमेलाको रुपमा लिइने यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक नौ सय २२, स्थानीय निर्णायक चार सय ७१ गरी एक हजार तीन सय ९३ जना रहने छन् भने खेलाडी, अफिसियल, रेफ्री, जज, जुरी र अन्य अफिसियल गरी  १० हजार जनाको प्रत्यक्ष सहभागिता रहने राखेपले जनाएको छ । 

यस प्रतियोगितामा तीन सय ७२ स्वर्णं, तीन सय ७२ रजत र पाँच सय ६३ वटा कास्य पदकका लागि प्रतिष्पर्धा हुने छ । राखेपले यस वर्ष व्यक्तिगत स्पर्धा तर्फ स्वर्णं पदक बिजेता खेलाडीलाई १५ हजार रुपैयाँ र सामूहिक स्पर्धातर्फ सात हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसअघि पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलका स्वर्ण विजेतालाई व्यक्तिगत तथा टिम स्पर्धातर्फ क्रमशः १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

राष्ट्रिय रेकर्ड ब्रेक गर्ने खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिने राखेपले निर्णय गरेको छ । प्रतियोगिता पाँच नं प्रदेशमा गर्ने भनिएता पनि केही खेलहरु भने काठमाडौं, ललितपुर र कास्कीमा पनि हुने छन् । खेल पूर्वाधरको अभावका कारण काठमाडौंमा गल्फ, ललितपुरमा स्क्वास र कास्कीमा प्याराग्लाइडिङका प्रतियोगिता हुने छन् ।