मेरो राजनीति

मेरो राजनीति

कन्हैया कुमार 

सन् २०१६ को फेब्रुअरीमा कन्हैया कुमारको नाम भारतमा एकाएक चर्चामा आयो । उनी त्यत्तिबेला जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) को विद्यार्थी युनियनका सभापति थिए । उनलाई प्रहरीले गिरफ्तार गरी राजद्रोहको आरोप लगाएको थियो ।

कन्हैयाले ‘आजादी’ को माग गर्दै नारा लगाएको प्रमाणित गर्न त्यत्तिबेला सार्वजनिक गरिएको श्रव्यदृश्य कालान्तरमा नक्कली भएको पुष्टि भयो । त्यो घटना भएको तीन वर्षपछि गएको जनवरी महिनामा प्र्रहरीले उनीविरुद्ध औपचारिकरूपमा मुद्दा दायर ग¥यो । तर, प्रहरीको उक्त अभियोगपत्रमा धेरै प्रकारका अस्पष्टता र घटना विवरणमा विसृङ्खलनता छन् ।

यसबीच कन्हैयाले आफ्नो विद्यावारिधि हासिल गरे । भारतमा हुन लागेको लोकसभा निर्वाचनमा उनले बिहारको बेगुसारियाबाट भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार दिएका छन् । आफ्नो उम्मेदवारीको सम्बन्धमा कन्हैयाको

विचार प्रस्तुत छ ः

घटनाक्रम यसरी घट्दै गए म आफू कतिबेला ‘संयोगको राजनीतिज्ञ’ (एक्सिडेन्टल पोलिटिसियन) बनेँ, चालै पाइनँ । म सुरुदेखि नै राजनीतिमा सामेल छु । तर, केही वर्षअघिसम्म कसैले मलाई र मेरा साथीहरूलाई लोकसभाको चुनावमा प्रतिस्पर्धा गर्न सुझाव दिए, हाम्रो लागि त्यो हाँसोको विषय बन्थ्यो ।

पढे लेखेर म प्राज्ञिक क्षेत्रमा आएको हुँ । तर, म हुर्के बढेको समाज वरपर जताततै हिंसामात्र हुन्थ्यो । शाब्दिक, मानसिक वा व्यवस्थाको हिंसाले घेरेको समाजबाट म हुर्केको हुँ । त्यसकारण म मूलभूतरूपमा अभियन्ता हुँ ।

वर्तमान सत्ता केन्द्रमा रहेको पाँच वर्षपश्चात् अहिले म राजनीतिमा छु । अझै म ‘राजनीतिज्ञ’ होइन । वैकल्पिक राजनीतिको हिस्सा बन्नु मैले मेरो सामाजिक दायित्व मानेको छु ।

घृणा र उत्पीडनविरुद्ध उठ्ने र लड्ने राजनीति । हामीबीच विभाजन ल्याउनेविरुद्ध लड्ने र हामीलाई एकताबद्ध गर्नेलाई समर्थन गर्ने भारतको सपना जोडिएको राजनीति । व्यक्तिगत अधिकार, समावेशी विकास र प्रगतिशील चिन्तनलाई वास्तवमै सम्मान गर्ने समाजको सपना देख्ने राजनीति । बितेका पाँच वर्षमा भएका क्षतिलाई पूर्ति गर्नेमात्र होइन बरु आगामी २० वर्षमा अवसर छोप्न पनि पुग्ने लोकतन्त्रको सपना देख्ने राजनीति ।

मेरो सङ्घर्षको कथा

म को हुँ भन्ने कुरा खास विशेष होइन । मेरो वरपरका अधिकांश मानिसजस्तै औसत मानिस हुँ म । स्कूले दिनमा म पोलियो थोपा खुवाउँथेँ । कलेजका दिनमा म कोचिङ कक्षा पढाउँथेँ । दिल्लीमा बसेर लोकसेवा आयोगको परीक्षा तयारी गर्दै गर्दा काम गर्न थालेँ । मेरो दाइ आसाममा सुरक्षा गार्डको काम गर्थे र मलाई लोकसेवा आयोगको परीक्षा तयारी कक्षाको लागि पैसा पठाउँथेँ ।

सरकारले लोकसेवा आयोगको परीक्षामा सरकारी सेवा अभिक्षमता परीक्षा थप्ने निर्णयपछि भने सरकारी कर्मचारी बन्ने मेरो सपना भताभुङ भयो । अभिक्षमता परीक्षाको नियमले हिन्दी माध्यममा पढेका र विशेषतः मानविकी सङ्कायबाट आएका विद्यार्थीको लागि सरकारी सेवामा प्रवेश गर्न लगभग दुरुह बनाइदियो ।

त्यसमाथि सीस्याट कक्षामा जान मेरो आर्थिक क्षमताले दिएन । तर, मैले ती दिनप्रति पश्चाताप वा दुखेसो मानेको छैन । लोकसेवा आयोग परीक्षाको तयारीकै क्रममा मेरो प्राज्ञिक उन्नयन र राजनीतिक चेतना विस्तार भयो ।
त्यत्तिबेलासम्म सब ठीकठाक नै चलेको थियो ।

जेएनयुमा पढ्ने क्रममा आफ्नो अनुसन्धानमार्फत जनताको लागि केही योगदान गर्न सकिन्छ भन्ने महसुस गरेँ । जेएनयू मेरो लागि कहिल्यै पनि एउटा शिक्षालयमात्र भएन । जेएनयू आफ्नै जीवन भएको त्यस्तो ठाउँ हो जहाँ स्वतन्त्र रुपमा अध्ययन गर्नसक्छौँ । पाठ्यपुस्तकबाट मात्र होइन, जीवन्त अनुभव र सामाजिक आन्दोलनबाट हामी धेरै कुरा सिक्नसक्छौँ ।

उचित मुद्दामा सक्रियता सधैं प्राथमिकतामा रह्यो । विश्वविद्यालयको विद्यार्थी युनियनको सभापति पदको लागि उम्मेदवारी दिंदा पनि त्यत्ति धेरै सङ्ख्यामा विद्यार्थीले मलाई समर्थन गर्ने अपेक्षा थिएन । जेएनयूमै मेरो जीवनले पूर्णतः नयाँ दिशा समात्यो ।

मैले आफ्नो राजनीतिक यात्राभरि आफ्नो पद र शक्तिको दुरुपयोग गर्ने मानिसमाथि सधैँ प्रश्न गर्दै आएको छु, आलोचना गर्दै आएको छु । तर, अहिलेको शासन व्यवस्था भने फरक छ । प्रहरी दमन र लाठीचार्ज त पहिले पनि हुनेगथ्र्यो । तर निन्दा, झूटा समाचार, निरपेक्ष घृणा र कोहीविरुद्ध दमन गर्न ‘राजद्रोही’ को दोषारोपण गर्ने समन्वयात्मक अभियान अहिलेको सरकारको नयाँ विषय हो ।

ग्रीसका राजनेता पेरिकल्सको एउटा पुरानो उक्ति छ,“तिमीले राजनीतिमा चासो नराख्दैमा राजनीतिले तिमीबारे चासो नराख्ने कुरा होइन ।” मैले राजनीतिप्रति चासो राखेँ र राजनीतिले पनि मेरो विषयमा चासो राखेको छ ।

राज्यले हामीविरुद्ध हमला गर्दा हाम्रोसामु दुई विकल्प थिए–लड्नु वा आत्मसमर्पण गर्नु । तर, मेरो विचारमा हामीसँग एउटैमात्र विकल्प थियो ।
त्यसैले हामी लड्यौँ र त्यही लडाइँले मलाई आज यहाँ पु¥याएको छ ।

म यहाँ कुन पार्टीको विकल्प कुन हो कुन होइन भनी देखाउन आएको होइन । म यहाँ हाम्रो देशको लागि वैकल्पिक राजनीति कस्तो हुनुपर्छ भन्नेबारे भन्न खोजिरहेको छु ।

वैकल्पिक राजनीतिको अर्थ उत्पीडनविरुद्ध लड्नुमात्र होइन, बरु स्वतन्त्रता र समानताको लागि पनि लड्नु हो ।

वैकल्पिक राजनीतिको अर्थ भारतीय जनता पार्टी र राष्ट्रिय स्वंयसेवक सङ्घको हिन्दुवादी अहङ्कारवादविरुद्ध लड्नुमात्र होइन, अम्बेडकरको सामाजिक समावेशीको पक्षमा लड्नु पनि हो ।

वैकल्पिक राजनीतिको अर्थ भीडतन्त्रविरुद्ध लड्नुमात्र होइन, बरु वास्तवमै सहभागितामूलक लोकतन्त्रको पक्षमा लड्नु पनि हो । यो लडाइँ मेरोमात्र होइन, यो हामी सबैको लडाइँ हो ।

नयाँ ढाँचा

राजनीतिमा कुनै परिवर्तन गर्ने पहिलो कदम भनेको राजनीतिलाई धनीको गोजीबाट झिक्नुपर्छ र औसत करदाताको हातमा राखिदिनुपर्छ ।

तिनै करदाताले सरकारको कोष बनाइदिने हो । तर, हाम्रो बहसमा उनीहरू र उनीहरूका मुद्दामा पूर्णतः ओझेलमा परेका छन् । किन ? किनभने यो सरकार करदाताको सरकार नै होइन । यो सरकार धनीहरूको राजनीतिक मेसिनमात्र हो । यस्तो प्रणालीलाई पन्छाउनुपर्छ । सरकार जनताको हुनुपर्छ ।

दोस्रो कदम भनेको विषयवस्तुमा आधारित वैकल्पिक राजनीति स्थापना गर्नुपर्छ ।

हामीले सार्वजनिक शिक्षा, जनस्वास्थ्य र सार्वजनिक पूर्वाधारको अवस्थाबारे बोल्नुपर्छ ।

हामीले सीमान्तकृत जनताको बारेमा बोल्नुपर्छ । अल्पसङ्ख्यक जनताको बारेमा मात्र होइन, बरु तेस्रो लि·ी समुदायको विषयमा पनि बोल्नुपर्छ ।

हामीले पितृसत्ताको विरोधमा बोल्नुपर्छ । विचार र अभिमतको अधिकारको पक्षमा बोल्नुपर्छ ।

आज हाम्रो देशले सामना गरिरहेका नयाँ नयाँ चुनौतीबारे बोल्नुपर्छ । दिगो वातावरणदेखि विद्युतीय क्रान्तिसम्म र गोपनीयताको अधिकारका विषयमा बोल्नुपर्छ ।

आधारभूत रुपमा सबभन्दा महत्वपूर्ण कुरा हामी सङ्गठित बन्नुपर्छ, वैकल्पिक राजनीतिको पक्षमा दबाब दिने र मतदान गर्नुपर्छ ।

वैकल्पिक राजनीतिकै माध्यमले हामीले प्रणाली लोकतन्त्रदेखि सहभागितामूलक लोकतन्त्रसम्मको हाम्रो लोकतन्त्रलाई आकार दिनसक्छौँ ।

वैकल्पिक राजनीतिकै सहयोगमा हामीले जनहितको नयाँ व्यवस्था निर्माण गर्नसक्छौँ । त्यस्तो व्यवस्था जवाफदेही र पारदर्शीमात्र होइन, त्यो व्यवस्था मूलतः समावेशी चरित्रको हुनेछ ।
त्यो व्यवस्थाले सीमान्तकृत जनताको आवाज सुन्नुपर्छ र सत्यको शक्तिबारे बोल्नुपर्छ ।

त्यस्तो लोकतन्त्र वास्तविक सहभागिताको पक्षमा उभिनुपर्छ । हरेक नागरिकले बोल्न पाउने, सङ्गठित हुन पाउने र चुनावी प्रतिस्पर्धामा भाग लिन पाउने अधिकारको लागि लड्नुपर्छ ।

त्यस्तो व्यवस्थाले मात्र हामी समयले सिद्ध गरेको लोकतन्त्रको पक्षमा उभिन सक्छौँ । त्यस्तो लोकतन्त्रले मात्र विगतमा पूरा हुन नसकेको भारतको सपना साकार गर्न सहयोग गर्नसक्छ ।

स्रोतः स्क्रोल।आइएन /मजदूर