भीषण हावाहुरीबाट बारामा ३० जनाको मृत्यु, चार सय भन्दा बढी घाइते

भीषण हावाहुरीबाट बारामा ३० जनाको मृत्यु, चार सय भन्दा बढी घाइते

बारा, १८ चैत्र । बर्षासँगै गएराति आएको हावाहुरीका कारण बारामा करिब ३० जनाको मृत्यु भएको छ भने चार सय भन्दा बढी स्थानीयहरु घाइते भएका छन् । 

राति करीब ९ बजेतिर वर्षासँगै चलेको आँधी हावाहुरीका कारण घरमा रुख र बिजुलीको पोल ढलेको र घर भत्किँदा पुरिएर सो संख्यामा सर्बसाधारणहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका बाराका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । 

इँट्टाभट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लागेर समेत केहीको मृत्यु भएको प्रहरीको भनाइ छ । 

बाराको टेलकुवा र भलुहीमा ५/५ जना, स्वर्ण गाउँपालिका गाउँपालिका कवहीमा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक शाहीले बताए । मृतकहरुको हालसम्म सनाखत हुन नसकेको र मृतकहरुको संख्या अझै बढ्न सक्ने प्रहरी अधिकारीहरुको भनाइ छ । सो घटनामा घाइते भएकाहरुको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा र नजिकको अस्पतालहरुमा उपचार भइरहेको जनाएको छ ।


हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने र ठूलो प्राकृतिक विपत्ति आइपरेकाले अहिले पनि उद्दारमा जुटेको शाहीले जानकारी दिए । दुर्घटनामा भएको अन्य भौतिक क्षति बिवरण संकलनको कार्य समेत भइरहेको जनाइएको छ । 

प्रदेश २ को सरकारको आपतकालीन वैठक बसिरहेको छ ।