हेलिकोप्टर र ट्रकमा राहत र औषधि बोकेर प्रधानमन्त्रीको टोली घटनास्थलमा

हेलिकोप्टर र ट्रकमा राहत र औषधि बोकेर प्रधानमन्त्रीको टोली घटनास्थलमा

   काठमाडौँ, १८ चैत । आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण २७ जनाको मृत्यु भएकोमा गृहमन्त्री रामबहादुर थापा ‘वादल’ ले दुःख व्यक्त गर्दै आफ्ना निकायका सबै संयन्त्रलाई तत्काल उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी ओलीसहित गृहमन्त्री र सुरक्षा संयन्त्रका तीन वटै प्रमुख घटनास्थल पुगिसकेका छन् ।
    
गृहमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बारामा २६ र पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको जानकारी दिए ।


घटनामा १२ पुरुष, १० महिला र पाँच बालबालिकाको मृत्यु भएको उनले जनाए । जसमध्ये २५ जनाको सनाखत भएको तथा दुई जनाको पहिचान खुल्न बाँकी रहेको छ । 

यस्तै पाँच सय बढी घाइते भएकोमा हाल तीन सय ५० जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको तथा गम्भीर घाइते सात जनालाई काठमाडौँ ल्याई त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराई राखिएको उनले जानकारी दिए । घाइतेहको उपचार राज्यले व्यहोर्ने उनको भनाइ छ । 

घटना लगत्तै गए रातदेखि नै उद्धार तथा राहतलाई तिव्रता दिई राखिएको गृहले जनाएको छ । गए राति नै अत्यावश्यक सामग्री र औषधि बोेकेर तीन ट्रक सामग्री ती जिल्लामा पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

यस्तै काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत डाक्टर र औषधिसहितको टोली समेत बारा पुगेको उनले जानकारी दिए ।

‘झापामा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली तथा काठमाडौँबाट उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा वादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, शहरी विकास मन्त्री मोहमम्द इस्तियाक राई घटनाबारे जानकारी लिन बारा प्रस्थान गर्नुभएको छ’ प्रवक्ता सुवेदीले जानकारी दिए ।