कागजको घोडामा समृद्धिको यात्रा

कागजको घोडामा समृद्धिको यात्रा

काठमाडौं । दशकौँदेखि नेपालमा लगानी सम्मेलनका बारेमा भाषण र प्रचार  धेरै हुँदै आएका छन् । पछिल्ला वर्षमा विदेशमा प्रतिनिधि पठाएरै समेत सरकारले प्रचार ग¥यो । निरन्तर प्रचार गर्दै करिब अढाई वर्ष पहिलेदेखिको तयारीमा केही दिन अघिमात्र अर्को एउटा विदेशी लगानीका नाममा महाकुम्भ आयोजना गरियो । यो कुम्भमेलामा विदेशी पाहुनासँग भिसा शुल्क नलिने निर्णयदेखि, पाँच तारे होटलका स्विट रुममा आरमदायी बासको व्यवस्थासम्म सरकारले गरेको थियो । त्यतिमात्र होइन, चन्द्रागिरीमा रिट्रि«टसम्म गराइयो । लगानी सम्मेलनको तेस्रो संस्करण यस्तै रामरमितामा समापन भयो ।

सम्मेलनमा ७२ वटा परियोजना देखाइयो । छ सय विदेशी र झण्डै एक हजार स्वदेशी कर्पोरेटकर्मी महाकुम्भमा सहभागी भए । देशले के पायो थाहा छैन ? तर विदेशीले ज्वाइँसरहको मेजमानीमा नेपाल घुमे । उनीहरुले आफ्नो देशको प्रचारप्रसार गरे । नेपालीले उनीहरुसँग सेल्फि खिचाए ।  सरकार प्रमुखसहित मन्त्रीहरुलाई भव्य सत्कार गरे । सम्मानपूर्वक मस्ती मार्ने अवसरका लागि कुनै कुरा बाँकी राखेनन् । सबैजसो इच्छा पूरा गर्ने अवसर दिए ।

‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चरितार्थ गर्न सम्मेलन सफल भएको लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र सदस्य अर्थमन्त्री डा युवराज खतिवडाले दावी गरे । उनीहरु लगायत मन्त्रीहरुले अद्भुत उपलब्धि नै ठाने । लगानी बोर्डका कर्मचारीका कुरै छोडौ अढाई वर्षदेखि निरन्तर विदेशमा घुमेर लगानी भित्र्याउने नाममा ल्याइएका विदेशीसँग सेल्फीे खिचाउन पाएकैमै खुशी थिए । उनीहरुले महाकुम्भ असफल भयो भन्ने कुरै भएन ।

कुम्भ आयोजकलाई यत्ति पनि थाहा भएन कि विनोद चौधरी भनेका नेपाली नै हुन् भन्ने । उनीहरुलाई चौधरी ग्रुपका अध्यक्ष विनोद नेपालका सांसद पनि हुन् भन्ने त थाहा हुने कुरै भएन । सबैलाई उनीहरुले विदेशी धनाढ्य नै ठाने र देशमा ठूलो लगानी आएको तर्क गरे । त्यसैगरी विगतका लगानी र प्रतिबद्धतालाई नै सम्झौता भयो भनेर प्रचार गरिएको, कोरियन कम्पनीले माथिल्लो त्रिशूलीमा लामो समयदेखि काम गरिरहेको विषय पनि थाहा नभएको जस्तो गरियो । खुबै प्रचार गरिएको अरुण तेस्रो परियोजना वर्षौं पुरानो परियाजना हो भन्ने पनि सरकारका कर्मचारी र मन्त्रीहरुलाई थाहा नभएको भान हुन्थ्यो । भर्खरै विदेशबाट डलर झरेको जस्तो गरी प्रचार गरियो । अर्थमन्त्री डा खतिवडाले भने, ‘हामीलाई केही चुनौती थपिएको छ । हाम्रा प्रतिबद्धता पूरा गर्नु छ । व्यवस्था झनै सुधार गर्नुछ । सम्मेलनबाट आएका निचोडलाई समेटेर अहिलेको उत्साहलाई अझै उत्साहप्रद बनाउनु छ ।’ 

अचम्म के छ भने त्यस्तो अवस्थामा पनि उत्साहित हुनु भनेको कागजको घोडा दौडाएर, प्रतियोगिता जिते जस्तै हो । निरन्तर भ्रम बाँडेर जनतालाई भ्रम पार्ने खेलमा देखिएको सरकारको शैलीले जनतामा आक्रोसमात्र थपेको छ । 

स्वदेशी लगानीकर्ताको वेवास्ता

विदेशी मानसिकताले देशको अवमूल्यन गरिँदै आएको छ । लगानी सम्मेलनको यो संस्करणले झनै के प्रष्ट पा¥यो भने विदेशी नै सबैथोक हो । स्वदेशी लगानीकर्ताले स्वदेशीको अवमूल्यन भएको ठानेका छन् । केही व्यवसायीले स्वदेशी र विदेशीलाई फरक व्यबहार गरिएको भन्दै गुनासो पनि गरे । उनीहरुले देशले नै आयोजना गरेको कार्यक्रम भएकाले चुप लाग्न बाध्य भएको बताए । तर, परायालाई नजिक ठान्ने सोँच तथा चरित्र शासक वर्गमा हिजोदेखि हावी हुँदै आएको उनीहरुको बुझाइ भयो  । 
विदेशी लगानी भित्र्याउने नाममा एनसेल जस्तो कम्पनीलाई नेपाल भित्र्याएर देशको पूँजी पलायन गराउने सरकारको देश विरोधी खेल पुनः शुरु भएको छ । सर्वाेच्च अदालतले राजश्व तिर्न एनसेललाई बाध्य पार्नु पर्नेमा सरकारले छुट दिन खोजेको भान हुँदैछ । वर्षौदेखि नेपाली जनतासँग सहकार्य गर्दै आएका स्वदेशी लगानीलाई बेवास्ता गर्ने काम सरकारले गर्न थालेको देखिन्छ । आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी ल्याएर किचलो मच्चाउने काम राज्यस्तरबाटै हुनु नुहुने उनीहरुको भनाइ छ । यसो गर्दा भविष्यमा ठूलो विकृति आउने पक्का छ । यस विषयमा उद्योगी व्यावसायी चनाखो हुनैपर्छ ।

विगतका सम्मेलन

लगानी सम्मेलन अब कुनै नौलो कुरा रहेन । विसं २०७२ सालमा गएको भूकम्पपछि दाता सम्मेलन पनि सम्पन्न भैसकेको छ । भूकम्प गएको ६० दिनभित्र भएको दाता सम्मेलन पुनः निर्माणका लागि थियो । त्यतिबेला पनि ठूलो समूह नेपाल आए । त्यसबेला विदेशीहरु सरकारी स्तरमा र एनजीओ स्तरमा आएका थिए । 

त्यसभन्दा अघि विसं २०४८ मा पहिलो लगानी सम्मेलन गरियो । कानुनी रुपमा वैदेशिक लगानी खुल्ला नहुँदै भएको सम्मेलनले वैदेशिक लगानी भित्र्याउन सकारात्मक सन्देश गएको दावी गरिएको थियो । भलै त्यो सम्मेलन हुँदा कुनै नीतिगत प्रयास भएका थिएनन् । त्यतिबेलाको सरकारले सरकारी उद्योगलाई धमाधम लिलाम गरेर राष्ट्रिय अर्थतन्त्रको मुटुमा प्रहार गरिएको थियो । नीतिगत रुपमा भएका विदेशी तथा स्वदेशी नाफाखोरको हमला आजका दिनसम्म पनि जारी छ । 

दोस्रो पटक फागुन १९ र २० गते, २०७३ सालमा भएको ‘नेपाल लगानी सम्मेलन’मा करिब रु १४ खर्बको (१३.५२ विलिएन अमेरिकी डलर) लगानीको प्रतिबद्धता थियो । स्वदेशमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले सम्मेलनबाट रु एक खर्ब लगानीको प्रतिबद्धता आउने विश्वास लिएको थियो । तर लगानी आएन, लगानीको वातावरण उल्टो दिशामा गएको तथ्याङ्कले प्रष्ट पारिसकेको छ । नीतिलाई बङ्ग्याएर केही स्वाथ्र्य बोकेका विदेशी तथा स्वदेशी बिचौलियालाई साधन र स्रोतको दोहन गर्न अनुमति दिइयो । स्वदेशी उद्योगी एवम् व्यवसायीलाई हतोत्साही गर्ने गरी अर्थतन्त्रका नीति नियममा विदेशीको पक्षमा बनाए पनि  यो सम्मेलनमा लगानीका लागि प्रतिद्धता गरिएको रकम खासै आएन । 
 
दीर्घ रोग

देशभित्रको अर्थतन्त्रलाई स्वस्थ्य बनाउने विषयमा ध्यान नदिँदा देशको अर्थतन्त्र झनै खराब बन्दै गएको छ । लगानीको वातावरण राम्रो बनेको छ भनिरहँदा वर्षेनी तरलताको रोगले कहिल्यै छोडेको छैन । यतातर्फ ध्यान दिन सरकारले सुशासन एवम् भ्रष्टाचारलाई नियन्त्रण गर्नतर्फ ध्यान दिनुपर्ने हो । तर, सकेन । यो दीर्घ रोग निरन्तर जारी छ । भ्रष्टाचारका कारण आयोजना निर्माण समयमा नै सम्पन्न हुने विश्वास छैन । खानेपानी एवम् सिँचाइजस्ता जनताको जीवनसँग जोडिएका आयोजना पनि समयमा सकिँदैन भने कहाँ सुधार छ भनी प्रश्न गर्नुपर्ने अवस्था छ । समयमै आयोजना सम्पन्न नहुने अर्को दीर्घरोग हो । यसको निराकरणमा कसैले प्रयास गरेको देखिएन ।

तरलता समस्याले विदेशी लगानीकर्ता मात्र होइन स्वदेशी लगानीकर्तामा निराशा ल्याउँछ भन्ने विषयमा पनि ध्यान नदिने सरकारले वैदेशिक लगानीको कुरा गर्नुको के अर्थ होला ? लगानी ल्याउने नाममा भ्रष्टाचार र कुशासन जोगाउने खेलमात्र भइरहेको छ । यसको हिसाव जनताले खोज्नेछन् । समयबद्ध साप्ताहिकबाट