प्रदेश तीनमा स्थायी राजधानीको अन्यौलता 

प्रदेश तीनमा स्थायी राजधानीको अन्यौलता 

कृष्ण सारु मगर

हेटौंडा,चैत्र १९ / प्रदेशसभा गठन भएको एक वर्ष तीन महिना बित्दा समेत प्रदेश ३ को स्थायी राजधानी टुङ्गो लाग्न सकेको छ्रैन । हिउँदे अधिवेशनभित्र राजधानी टुङ्गो लगाउने प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सहमति छ । 

राजधानीकै अन्यौलताका कारण वर्षे अधिवेशन सकिएको तीन महिनापछि गत चैत्र १७ गते मात्र हिउँदे अधिवेशन सुरु भएको थियो । कार्य परामर्श व्यवस्था समितिमा हिउँदे अधिवेशनभित्र राजधानीको विषय टुङ्गो लगाउने सहमति भएको र त्यसको लागि प्रदेशसभा सचिवालयले कार्यविधि तय गर्ने सभामुख सानुकुमार श्रेष्ठले हिउँदे अधिवशनको पहिलो बैठकमा जानकारी गराएका छन् ।  

सभामुख श्रेष्ठका अनुसार हिउँदे अधिवेशन २०७६ वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । उक्त अवधिभित्र स्थायी राजधानी टुङ्गो लगाइने मुख्यमन्त्री डोरमणि पौडेलले बताए । ‘अब राजधानीको विषय टुङ्गो लागेपछि मात्र हिउँदे अधिवेशन सकिन्छ’, उनले भने, ‘अबको १५ दिनभित्र राजधानी टुङ्गो लगाउँछौं ।’

सभामुखको तयारी 

हिउँदे अधिवेशनभित्र स्थायी राजधानी टुङ्गो लगाउन प्रदेश तीनमा  रहेका दलहरु सहमत भए पनि राजधानी कहाँ रहने भन्ने अन्यौल भने कायमै छ । 

प्रदेशसभामा स्पष्ट बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै राजधानीबारे एकमत छैन । 

गत असार २६ गते प्रदेश नम्बर तीनको स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्लालाई स्थायी राजधानीका लागि सिफारिस गर्दै सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाए पनि प्रदेशसभा बैठकमा त्यसले औपचारिक प्रवेश भने गत असोज २२ गते मात्र प्राप्त ग¥यो । 

स्थायी राजधानी टुङ्गो लगाउन कार्यबिधि बनाउन तयारीमा जुटेका सभामुख श्रेष्ठ कस्तो कार्यबिधि बनाउने भन्ने छलफलमा छन् । स्थायी राजधानी सम्भाब्यता अध्ययन समितिले बुझाएको  प्रतिवेदनको आधारमा पाँच जिल्लामध्ये मतदान मार्फत दुई तिहाई पुगेको जिल्लामा राजधानी रहनेछ । त्यसको लागि समितिले सिफारिस गरेको हेटौंडा, काभ्रे, चितवन, भक्तपुर र नुवाकोटमध्ये प्रत्येक जिल्लाको लागि मतदान गराउने सभामुखको तयारी रहेको उनी निकट प्रदेशसभा सदस्यहरु बताउँछन् । स्थायी राजधानीबारे सहमति भए पनि मतदानबाटै टुङ्गो लगाउनुपर्ने संबैधानिक ब्यवस्था छ । 

केन्द्रीय नेतृत्वको भूमिका 

हेटौंडाबाट राजधानी सार्न पहल गर्ने प्रदेशसभा सदस्यहरुलाई पेलेरै थकित पार्ने रणनीतिमा रहेका मुख्यमन्त्री डोरमणि पौडेल पार्टीभित्रै र प्रतिपक्षको चर्को दवाबका कारण प्रदेशसभा बैठक बोलाउन सहमत भएका हन् । प्रदेश तीनको राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दाबी गर्दै आएका उनी केन्द्रीय नेताहरुसँग निरन्तर लविङमा छन् । मुख्यमन्त्री पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग भेट गरेका छन् । 

राष्ट्रपति भण्डारी सामरिक दृष्टिकोणले हेटौंडाबाट राजधानी अन्यत्र सार्न नहुने पक्षमा छिन् । छिमेकी चितवन गृह जिल्ला भएका नेकपाका अध्यक्ष पुष्पकलम दाहालले हेटौंडा नै स्थायी राजधानी हुने बताए पनि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मौन छन् । मुख्यमन्त्री पौडेलले दुबै पार्टी अध्यक्षलाई हेटौंडामै राजधानी राख्न प्रदेशसभा सदस्यहरुलाई राखेर रुलिङ गरिदिन आग्रह गरेका थिए । तर दुबै अध्यक्षले यसबारे पछिल्लो समयमा चासो दिएका छैनन् । 

नेकपाको केन्द्रीय नेतृत्वले रुलिङ नगर्दा के हुन्छ ?

मुख्यमन्त्रीसँगै चितवन घर भएका भूमी,व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा बाहेक अन्य चार जना मन्त्री हेटौंडामा राजधानी नराख्ने पक्षमा छन् । मुख्यमन्त्री हेटौंडालाई नै दिएको भन्दै नेकपाभित्रकै मुख्यमन्त्रीका आकांक्षीहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापित पनि हेटौंडाबाट राजधानी अन्यत्र लैजाने पक्षमा छन् । प्रदेशसभा रहेका एकसय नौ जना सदस्यमध्ये ८१ जना नेकपाकै प्रदेशसभा सदस्य छन् । तीमध्ये ७३ जनाले एकातिर उभिँदा दुई तिहाई पुग्छ ।

राजनीतिक दलका नेतृत्वहरु हेटौंडाको पक्षमा 

प्रदेशसभा तीनमा प्रतिनिधित्व गर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता इन्द्र बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रिता माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का रिना गुरुङ, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाईं स्थायी राजधानी हेटौंडा बनाउने पक्षमा छन् । साझा विवेकशील पार्टीबाट प्रतिनिधित्व गर्ने शोभा शाक्य मात्र हेटौंडाको विपक्षमा छिन । ‘अन्य दलहरुको साथ रहे पनि हाम्रै पार्टीभित्र एक मत हुन नसक्दा समस्या भएको हो’, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले भने, ‘केन्द्रीय नेताहरुले ह्वीप लगाएर टुङ्गो लगाउनुपर्छ ।’ 

तर, लामाले भनेजस्तो केन्द्रीय नेताहरुले सार्वजनिक रुपमै कुनै स्थानको लागि ह्वीप लगाउन हालसम्म तयार देखिँदैन । कुनै पनि स्थानको लागि दुई तिहाई पुग्ने सम्भावना कम रहेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता इन्द्र बानियाँको भनाइ छ । हेटौंडा बाहेक चर्चामा रहेको काभ्रेको लागि बहुमत जुटे पनि दुई तिहाई पुग्न भने समस्या रहेको नेकपाकी प्रदेशसभा सदस्य कुमारी मोक्तानको दाबी छ । ‘त्यसो हुँदा अस्थायी राजधानीकै रुपमा हेटौंडा कायम रहने सम्भावना बढी छ’, उनले भनिन् ।