कसैको सेल्फी खिच्ने होडबाजी नबनोस् उद्धार कार्य !

कसैको सेल्फी खिच्ने होडबाजी नबनोस् उद्धार कार्य !

फणीन्द्र फुयाल

बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातले धेरै धनजनको क्षति भयो । घटनामा परी घाइते भएकाहरुको उपचारमा सरकार लागिरहेको छ । यतिबेला काम नगर्ने तर काम गरे जस्तो अभिनय गरेर बिभिन्न पोजका तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने विकासे आयोजनाहरु, विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तिहरु सक्रिय रुपमा लागि रहेको पनि देखिन्छ । यद्यपि केही व्यक्ति तथा संस्थाहरु भने भित्री मनदेखि नै दिलो ज्यान दिएर लागि रहेका पनि छन् ।

उद्धार र राहतको नाममा बिभिन्न राजनीतिक दल र केही एनजीओ, आइएनजीओ र व्यक्तिहरुले आफू खुशी रुपमा राहतस्वरुप रकम तथा खाद्यान्नसमेत बितरण गरिरहेका छन् । र, कतिपय संघ संस्था र व्यक्तिले यति रकम र उति रकम दिन्छु भन्दै घोषणा गरेको समाचार पनि बिभिन्न सञ्चारमाध्यममार्फत सार्बजनिक भइरहेका छन् ।

यस प्रकारको व्यक्ति र संस्था पिच्चे मनलाग्दी रुपमा रकम तथा खाद्यान्न बितरण हुने कार्य सरकारले तत्काल बन्द गर्नुपर्छ । सहयोगको नममा हुने यस्तोे होडबाजीले गर्दा कोही व्यक्तिले पटक पटक प्राप्त गरिरहने र कोही व्यक्तिले एक पटक पनि प्राप्त गर्न नसक्ने पस्थितिको सिर्जना हुन्छ । जुनसुकै प्रकारको दैबीप्रकोप, प्राकृतिक प्रकोप तथा दुर्घटनाका पीडितलाई पनि राहत तथा उद्धार गर्दा एकद्वार प्रणालीमार्फत गर्ने संस्कार, संस्कृति, र पद्धतिको विकास गर्नुपर्छ ।

हामीलाई २०७२ सालको भूकम्पले पनि धेरै पाठ सिकाएर गएको छ । यस प्रकारका भइपरी आउने दुर्घटनामा धेरै मानिस तथा संस्थाहरु सहयोगको लागि तयार हुन्छन् र राहत सामग्रीको वितरण गर्छन् । यो एकदमै राम्रो पक्ष हो । तर, कसैले सस्तो चर्चा र लोकप्रियता कमाउन मिति गुज्रिएका खाद्य सामग्री बाँड्ने, उद्धार र सहयोगका नाममा आफ्नो आगामी राजनीतिक अभीष्ट पूरा गर्ने लगायतका अनेक बहाना हुने भएकाले त्यस्तो प्रकारको दूरगामी ‘मन्द विष’ को अन्त्य गर्नका लागि केन्द्र सरकारले प्रदेश सरकारलाई र प्रदेश सरकारले स्थानीय सरकारलाई बेलैमा निर्देशन दिँदा समस्याले भोलिका दिनमा अझ बिकराल र भयङ्कर रुप लिने थिएन ।

बारा र पर्सामा आँधीले पीडित भएका परिवारलाई राहत प्रदान गर्न देशका बिभिन्न स्थानीय तहका जनताले स्वस्फुर्त रुपमा राहत संकलन गरिरहेका छन् । कोही व्यक्तिहरु राहत बोकेर आफै घटनास्थलमासमेत पुग्न थालेका छन् । यस्तो कार्यले गर्दा कोही बल, बुद्धि र पावर भएकाले धेरै लिने र वालवालिका, महिला, बिरामी, बृद्धबृद्धा भएको टोल तथा घरमा राहत सामग्र नै नपुग्न सक्ने सम्भावना प्रवल हुन्छ ।

हामीले यस्तो प्रकारको अभ्यास त भूकम्पका बेला पनि भोगेकै हौ । त्यसैले बिगतको गल्तीबाट पाठ सिक्दै सरकारले पनि एकद्वारको प्रणाली अपनाएर राहत बितरणको कार्यलाई छिटै प्रभावकारी ढंगले अघि बढाउनु पर्ने देखिन्छ ।

त्यसैगरी घरबारविहीन भएका पीडित परिवारलाई पनि सरकारले चाँडै तथ्याङ्क संकलन गरी ठोस योजना बनाएर भूकम्प पीडित जनतालाई दिएकै जस्तो मापदण्ड बनाई बसोबास निर्माणको लागि सहयोग गर्नुपर्छ । तर, भूकम्प पीडितलाई जस्तो ढिला गर्न चाहिँ यो सरकालाई छुट छैन । यस प्रकारको विपतको घडीमा सबै नागरिक कुनै पनि व्यक्तिगत तथा राजनीतिक अभिष्ट, आग्रह र प्रर्वाग्रह नबोकी निस्वार्थ ढंगले सेवाभावले लागेको खण्डमा जस्तासुकै प्रकोपको पनि डटेर सामना गर्न सकिन्छ ।