खनाल बयोवृद्ध तन्नेरी

खनाल बयोवृद्ध तन्नेरी

चैत्र १८, काठमाडौं । भारत केरलाका ९५ वर्षीय पूर्व मूख्य मन्त्री अच्युतानन्दलाई भेटेर आएपछि आफू तन्नेरी नै भएको होस खुलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले सञ्चारमाध्यमहरुमा बताएका छन । पूर्व मुख्यमन्त्री भि. एस. अच्युतानन्दको ९५ वर्षमा पनि सक्रियता देखेर उनले यस्तो खुलासा गरेका हुन । पानीपँधेरो चीन धाउने नेता खनालको निर्वाचनको  मुखमा यो भ्रमण किन गरे रहस्यमय नै छ । भारतको राष्ट्रिय राजनीतिलाई नै प्रभाव पार्ने बेलामा पूर्व प्रधानमन्त्री समेत रहेका खनालको यो भ्रमणको निहितार्थ भने ओझेलमै छ । यस्तो बेला कुनै एक पार्टीका नेतालाई मात्र भेट्दा पनि दुई छिमेकी देशवीचको सम्बन्धमा कस्तो असर पर्छ भन्ने सवाल पूर्व प्रम खनालले ख्याल नगरेको कुरा कूटनीतिका जानकारहरु बताउँछन् । 

भारतको तल्लो सदन लोकसभाको निर्वाचनको पूर्व सन्ध्यामा खनाल केरला किन हान्निएका हुन उनले खुलाएनन । तर, भेटघाटमा कम्युनिष्ट आन्दोलन, भारतको आसन्न लोकसभा चुनाव र केरलाको सम्भावित चुनावी नतिजाका विषयमा केन्द्रित भयो भनेका छन् । यता अच्युतानन्दले कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपाल समृद्ध बनोस् भनेको नेता खनालको निजी सचिवालयले जनाएको छ ।

भारतमा अप्रिल ११ देखि लोकसभाको निर्वाचन आगामी मई १९ तारिखसम्म सात चरणमा हुँदैछ । निर्वाचनको नतिजा २३ मईमा हुने कुरा भारतीय निर्वाचन आयोगले कार्यतालिका सहित प्रकाशित गरेको छ । भारतमा कम्युािष्टहरुको गढ मानिने केरला राज्य नै यस्तो राज्य हो संसारमा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएर कम्युनिष्टहरुले सरकार बनाए । अहिलेसम्म पनि केरलामा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) समर्थित सरकार छ ।