अनुगमन र मूल्याङ्कन प्रणालीको विकास गर्न गृहमन्त्रीको निर्देशन

    अनुगमन र मूल्याङ्कन प्रणालीको विकास गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ, १९ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अनुगमन र मूल्याङ्कन प्रणालीको विकास गर्न गृहमन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिएका छन् ।
    
आज गृहमन्त्रालयमा २०७५/७६को दोस्रो चौमासिक कार्य प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले कामहरुको नियमित रुपमा अनुगमन गरी काम नगर्नेहरुलाई कारवाही गर्न निर्देशन दिए । 

    बैठकमा मन्त्रालयको पूँजीगत खर्च कम भएको विवरण पेश भएपछि गृहमन्त्री थापाले यस्तो कार्य सच्याउन मातहतका निकायलाई निर्देशन दिए ।
 
    अहिले आन्तरिक सुरक्षा प्रमुख रहेको भन्दै प्रहरीमा थप लगानी बढाउनुपर्नेमा उनको जोड थियो ।

    गृहमन्त्री थापाले भने, ‘अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संख्या आवश्यकता भन्दा कम नै छ । कि प्रहरीको संख्या थप्नुपर्छ  कि उनीहरुलाई आधुनिकीकरण गर्न सके कम जनशक्तिबाटै काम चलाउन सकिन्छ ।’
    
सुरक्षा र प्रविधिमा लगानी गरेका मुलुकले मात्रै विकासमा फड्को मारिरहेको भन्दै विकासको लक्ष्य हासिल गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको गृहमन्त्रीको भनाइ छ ।

    कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले पूँजिगत खर्च कम खर्च हुनुको कारण खौज्दै समाधान निकाल्न निर्देशन दिए । 
     

बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभाग, प्रहरी किताब खाना लगायतका निकायले आफ्नो चौमासिक कार्य प्रगति विवरण पेश गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधि समेत सहभागी थिए ।