‘अप्रिल फुल’ पत्रकारिता 

‘अप्रिल फुल’ पत्रकारिता 

फणीन्द्र फुयाल

‘अमेरिकी राष्ट्रपति नेपाल आएर प्रधानमन्त्रीलाई भेटे र १०० अर्ब डलर दिने घोषणा गरे...’ यस्तो हेडलाइनको समाचारले सोमबारका केही अनलाइन भंगेराको टाउको जत्रा अक्षरले भरिभराउ थिए । समाचारमा निकै लामो वर्णन र व्याख्या गरिएको थियो कि रातारात कसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेपाल आएर प्रम ओलीलाई भेटे अनि के के सहमति भए, ती सबै कुराको बेलिबिस्तार सिलसिलेबार ढंगमा उल्लेख गरिएको थियो । अझ समाचारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भनेको भन्दै केही उनका कुरा पनि कोड गरिएको थियो । 

त्यो समाचार पढुन्जेल लाग्थ्यो कि अचम्मै पो भएछ गत आइतबार अर्थात, चैत १७ गते राति । केही अनलाइनमा प्रकाशित उक्त समाचार पूरै पढ्न करिव पाच÷सात मिनेट लाग्थ्यो । समाचारमा तस्बिर पनि थियो ट्रम्प र ओलीले बिमानस्थलमा हात मिलाएको ।

जव समाचारको अन्त्यमा पुगियो त्यहाँ लेखिएको भेटियो, ‘नोटः अप्रिल फुल विशेषका लागि यो सामग्री तयार गरिएको छ । मनोरञ्जनका लागि तयार गरिएको यो सामग्रीमा आम पाठकमा कुनै भ्रम नपरोस् ।’

अन्त्यमा जे लेखिएको भए पनि त्यो समाचारले उसका पाठकमा सकारात्मक होस् वा नकारात्मक एक खाले भ्रम वा प्रभाव भने छरिसकेकै थियो । दिमागमा परिसकेको भ्रम र त्यसले पारेको प्रभाव अव कसरी हटाउने ? कुनै समाचार भुलबस वा नियोजित रुपमा प्रकाशित भइसकेपछि त्यसले मानिसको दिमागमा पारेको प्रभाव कसरी मेटाउने ? गलत समाचार अर्काइभबाट डिलेट गरे पनि अथवा ‘भूल सुधार’को सूचना प्रकाशित गरेपनि पाठकको दिमागबाट कसरी डिलेट हुन्छ ?  

अप्रिल फुलका नममा गरिने त्यो ढँटुवा र त्यस्तो पित पत्रकारिता, जसले पत्रकारिताको खिल्ली उडाएको छ, त्यसले केवल बाघ र बाख्राको कथामा ढाँट्दा अन्ततः बाघले कसरी बाख्रा सखाप पा¥यो र गोठोलो रुँदै घर फर्किनु परेथ्यो ? त्यस्तै अवस्था सिर्जना नगर्ला भन्न सकिँदैन । 

के पत्रकारिताले यस्तो लेख्ने छुट दिएको छ ? यदि त्यसलाई साहित्यका रुपमा लेखिएको हो भने साहित्य कोलम अन्तर्गत राख्नु पथ्र्याे, अप्रिल फुल मनाउनकै लागि लेखिएको भए ‘अप्रिल फुल विशेष’ अथवा शिर्षकमै उक्त प्रसंग खुलाएर लेखिदिएको भए पनि त हुने थियो नि ! 

सोही अप्रिल फुलकै दिन अर्थात, चैत १८ गते सोमबारका अनलाइन न्यूज पोर्टलहरु र सबै दैनिक पत्रपत्रिकाले बारा र पर्साको दुर्दान्त प्राकृतिक प्रकोप (आँधी) को समाचारलाई प्राथमिकताका साथ प्रकाशन÷प्रसारण गरेका थिए । त्यसो त यो समाचारलाई पनि आम पाठक, दर्शक श्रोता, सरकार र जनताले त्यही अप्रिल फुलकै समाचारको रुपमा बुझेको भए के हन्थ्यो ? अप्रिल फुलकै दिन उसैगरी उत्तिकै प्राथमिकताका साथ अपत्यारिलो ढंगले आएका ती समाचालाई पनि पत्याउनै पर्ने कारण नहुन पनि त सक्थ्यो नि ! 

त्यसैले पत्रकारिता केवल खेलौना होइन अनि यो कोरा कल्पना पनि होइन । सत्य, तथ्य, निस्पक्ष बस्तुनिष्ठ घटना, दुर्घटना, परिवेश र परिस्थतिको प्रस्तुति नै पत्रकारिता हो । सामग्री पठनीय बनाउने कला त पत्रकारको हो । तर पत्रकारिताले आम मानिसलाई ढाँट्ने, छल्ने र दुःख दिने होइन, यो समाजको सेवक हुन जरुरी छ । त्यसैले पत्रकारितालाई राज्यको चौथो अंग पनि भन्ने गरिएको हो । चौथो अंगका रुपमा समाजले बुझेको र त्यही अनुसार व्यवहार गरिएको यो पेसालाई कसैले पनि दुरुपायोग गुर्नु हुँदैन । यसलाई थप जिम्मेवार र मर्यादित पार्दै लैजाने काम हामी पत्रकारहरुकै हो । 

एउटा पत्रकार र एउटा मिडियाले गर्दा आम पत्रकार र पत्रकारिता जगतकै बेइज्जत र बदनाम गर्ने काम कहीँ कतैबाट हुनु हुँदैन । त्यस्ता गैर जिम्मेवार मिडिया पाठकको नजरबाट बिस्तारै गिर्दै जानेछन् र अन्ततः प्रकाशकले त्यस्ता मिडिया आफैं बन्द गर्न बाध्य हुनुपर्ने छ ।