दक्षिण एसियामा शान्ति ल्याउने सर्वोत्तम अवसर

दक्षिण एसियामा शान्ति ल्याउने सर्वोत्तम अवसर

दक्षिण एसियाली क्षेत्रको आर्थिक समृद्धि नहुनुमा यस क्षेत्रका दुई स्थायी शत्रुतापूर्ण व्यवहार गर्दै आएको भारत र पाकिस्तान प्रमुख कारक रहेको सहजै देखिन्छ ।

काश्मिरसम्बन्धी विषय लगायत भारत र पाकिस्तानबीचको दुई देशको स्थापनासँगै यो क्षेत्रमा शत्रुता रोपिएको थियो ।

दुबै देशका शासकहरूले एक अर्कालाई खतरा देखाएर शासन गरिरहेका छन् तर यो क्षेत्रलाई गरिबीको चपेटामा पारिरहेको विषय विभिन्न आर्थिक राजनीतिक विज्ञहरूले भन्दै आएका छन् ।

पाकिस्तानमा पूर्व क्रिकेट खेलाडी इमरान खानले निर्वाचनबाट सरकारको नेतृत्वमा पुगे यता दक्षिण एसियाली क्षेत्रले आर्थिक क्षेत्रमा फड्को मार्न सक्ने एक स्थायी शान्तिको सफल प्रयास हुन सक्ने अपेक्षा बढ्दै गएको छ । यसका लागि खान सरकार सर्वोत्तम माध्यम हुन सक्ने अपेक्षा बढेको छ ।

यसका लागि खानले दर्शाएका परिपक्व व्यवहार मुख्य कारण भएको नीति निर्माताहरूको बुझाइ रहेको छ । भारत र पाकिस्तानबीच पुलवामा आक्रमणलाई लिएर बढेको तनावबीच भारतका कमान्डर अभिनन्दन वर्तमानलाई फिर्ता पठाउनु लगायतका प्रधानमन्त्री खानको प्रयासलाई सकारात्मक र परिपक्व रूपमा औंल्याउन थालिएको छ । 

कतिपयले वर्तमानको सुपुर्दगी अन्तर्राष्ट्रिय दबाब भएको हुन सक्ने तर्क गर्न सक्छन् तर अर्को कुरा खानले त्यहाँको सेनालाई शासन गर्न सक्ने क्षमता राखेको व्यक्तिलाई खासै ध्यान दिएको पाइदैन् । उनको यो क्षमता वर्तमानकै सुपुर्दगीले पनि पुष्टि गर्छ । अन्तर्राष्ट्रिय दबाब त पाकिस्तानमाथि सदैव रहिआएकै छ । तर तत्कालै कब्जामा लिइएको सैनिक अधिकारीलाई सुपुर्दगी गर्न सक्ने क्षमता खान अघिका प्रधानमन्त्रहरूमा रहेको देखिएको छैन् ।

भारतले पनि पाकिस्तानी प्रधानमन्त्रीहरूलाई त्यहाँको सेनाको छायाँमा चल्ने कठपुतली सरकारको रूपमा हेर्ने गरेकाले पनि यहाँ खानको क्षमता भन्दा पनि अन्तर्राष्ट्रिय दबाबले प्रमुखता पाउन सक्छ ।

पाकिस्तानका आफ्ना पूर्ववर्तीको तुलनामा खान फरक छन् । उनी प्रधानमन्त्री बन्नु अघि नै एक राष्ट्रिय हिरोको पहिचान बनाएका व्यक्ति हुन् । पाकिस्तानी सेनाका लागि खानमाथि सहजै दबाब बढाउन सक्ने वा प्रभावमा लिन सक्ने सम्भावना अघिको तुलनामा सहज छैन् ।

खानले जनतामा बनाएको एक इमानदार छवि पनि उनको व्यक्तित्वलाई सेनाको प्रभाव भन्दा बढी बलियो बनाएको देखिन्छ । त्यत्तिमात्रै होइन चीनको ऋणजाललाई अझ बढी जेलिन नदिन सजग पनि रहेको देखिएका खान आफ्ना पूर्ववर्तीका भन्दा अलि फरक देखिएका छन् ।

७१ वर्षमा भारतीयहरूबीच पाकिस्तान क्रिकेटको पिच होस वा राष्ट्रिय संघीय मेच होस जहाँ पनि भारतीयहरूबाट थिचिएको देखिनुपर्ने भावनाको विकास गरिएको छ । तर वास्तविकता यस्तो हुँदै होइन । पाकिस्तान भारतको दुर्जेय शत्रु होइन् । 

भारतको उत्तर प्रदेशको जनसंख्या पाकिस्तानको जनसंख्या भन्दा धेरै छ । क्षेत्रमा पाकिस्तानको कुल क्षेत्र भन्दा भारत चार गुना बढी छ । कुल गार्हस्थ्य उत्पादनको तुलनामा भारत १० गुना ठूलो छ । बरू पाकिस्तानका लागि पो भारत दुर्जेय शत्रु  हुन सक्छ । भारतको सेनाबाट पाकिस्तानलाई पराजयको सामना गर्नु परेको थियो । यस्तोमा पाकिस्तानलाई पो शान्तिको प्रस्तावलाई अघि बढाउन कठिन कार्य हुन सक्ने देखिन्छ ।

काश्मिरका मुद्दा समेत गरी भारत पकिस्तानबीचका विवादका बारेमा खान नेतृत्वको सरकार दक्षिण एसियामा शान्ति कायम गराउन सहज र सर्वोत्तम हुन सक्ने देखिएको छ ।

भारत र पाकिस्तानले लिन नसकेका साहसपूर्ण कदम चाल्न अहिले उपयुक्त अवसर हुन सक्ने देखिएको छ । सबैले अवसरलाई सफल बनाउन पहल गर्नु बुद्धिमानी हुनेछ । अहिले पनि पाकिस्तानमा आयोजना हुने सार्क सम्मेलनलाई यसको एतिहासिक प्रस्थान विन्दु बनाउन सकिने अवस्था छदैछ ।

चीनले पनि भारत र पाकिस्तानबीचको द्वन्द्वलाई समाधान गर्न खोजेको कूटनीतिक संकेत गरेको छ । जैशे ए मोहम्मदलाई कालो सूचीमा राख्ने अमेरिकी प्रस्तावमा ढिलाइ गराउन खोजेको चीनको भनाइ पछि यो कूटनीतिक मनसाय लुकेको हुन सक्नेमा यस क्षेत्रको भूराजनीतिलाई विश्लेषण गर्दा सहजै अर्थ लाग्छ ।