सत्ता बहिर्गमनको बिषय बन्यो फोरम राजपाको एकताको बाधक 

सत्ता बहिर्गमनको बिषय बन्यो फोरम राजपाको एकताको बाधक 

सिरहा, २० चैत्र । सत्ता बहिर्गमनमा कुरा नमिल्दा मधेश केन्द्रीत प्रमुख दुई दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीचको एकिकरण प्रक्रिया बिथोलिएको छ । 
    
दुई दलबीच एकताको प्रक्रिया जोडतोडका साथ अघि बढे पनि फोरमको सत्ता बहिर्गमनको बिषयमा कुरा नमिल्दा एकता प्रक्रिया बीचमै भाँडिएको हो । राज्य बिखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा सिके राउतको आगमनसँगै यी दुई दल एकताका लागि औपचारिक रुपमा अघि बढे पनि नेतृत्वबीच ठोस सहमति नहुँदा एकता प्रक्रिया बीचमै रोकिएको राजपाका एक नेताले बताएका छन् । 

दुबै दलको मधेश मुद्दा नै भए पनि फोरम सरकारमा सहभागी भएर महत्वपूर्ण मन्त्रालय सम्हालिरहेको छ भने राजपा सरकारलाई दिएको समर्थन फिर्ता लिएर राष्ट्रिय आन्दोलन गर्ने चेतावनी दिइरहेको छ । राजपाले एकताका लागि फोरम तत्काल सरकारबाट बाहिरिनुपर्ने र फोरमले ठोस सहमति नभएसम्म सरकारबाट आफू नबाहिरिने अडान लिएपछि दुई दलको एकता प्रक्रिया बिथोलिएको बताइएको छ ।
 
पार्टी एकताका लागि अन्य सबै बिषयमा सहमति भए पनि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने बिषयमा सहमति हुने सम्भावना कम भएकाले यी दुई दलबीच एकता तत्काल सम्भव नभएको मधेश राजनीतिकका जानकारहरुको बुझाइ छ । 

तत्कालीन ६ मधेश केन्द्रीत दलबीच एकता भएर बनेको राजपामा अझै मुख्य नेतृत्वमा बिवाद हुँदै आएको छ । राजपाले ६ नेता सम्मिलित अध्यक्ष मण्डल गठन गरी चक्रीय प्रणाली अनुसार पार्टीको नेतृत्व परिवर्तन गर्दै आएको छ । यस्तो अवस्थामा फोरमसँग एकता भए एकीकृत पार्टीको नेतृत्व कसले गर्ने ? भन्ने बिषयमा बिवाद देखिएकाले पनि एकता प्रक्रिया रोकिएको जानकारहरुको भनाइ छ । 

राजपाका नेताहरु फोरमसँग एकता गरेर एकीकृत पार्टीको अध्यक्ष राजपा अध्यक्षमण्डलबाटै कसैले गर्नुपर्ने चाहन्छन् भने फोरम नेताहरु कुनै पनि हालतमा एकीकृत पार्टीको अध्यक्ष आफूले पाउनुपर्ने रणनीतिमा छन् । 

दुई दलबीचको एकता प्रक्रियाबीचमै रोकिएको बिषयमा ती दलका नेताहरुको आ–आफ्नै तर्क छ । राजपाका नेताहरु फोरमका नेताहरु इमान्दार नभएकाले एकता प्रक्रिया अघि नबढ्ेको आरोप लगाइरहदाँ फोरमका नेताहरुले राजपाका नेताहरुको अस्पष्ट दृष्टिकोणको आभाव र दोधारे चरित्रलाई एकताको बाधक मानिरहेका छन् । 

फोरम नेपालले राजपासँग एकता गर्न पार्टीका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेर राजपालाई औपचारिक पत्र पठाएको केही समयपछि राजपाले पनि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन गरी फोरमलाई वार्ताको ढोका खोलेको थियो । तर यी दुई दलका वार्ता समितिबीच एक पटक पनि अनौपचारिक वार्ता हुन नसकेको श्रोतले बताएका छन् । एउटा सत्तामा रहेको र अर्काे सत्ता बाहिर रहेको अवस्थामा छिटै यी दुबै बीच एकता भई हाल्नेमा स्वयम् ती दलका नेताहरु समेत विश्वस्त हुन सकेको देखिदैन । 
 
सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडक आन्दोलन गर्ने चेतावनी दिइरहेका राजपालाई विगतको जस्तो मधेशमा सडक आन्दोलन तताउन सहज नभएकाले पनि फोरमसँग एकता गर्न अघि बढे पनि तत्काल फोरमसँग एकताको सम्भावना नदेखिएपछि पहाडका अन्य केही साना समूहसँग राजपाका नेताहरु एकता गर्ने कसरतमा जुटेका छन् । 

विगतमा फोरमले राम्रो साथ दिएकाले मधेश आन्दोलन अघि बढेको र अहिले फोरम सरकारमा भएकाले आफ्नो आन्दोलनमा साथ दिन नसक्ने अनुमान गरेरै राजपाले फोरमसँग एकता गर्न चाहेको सहज अनुमान गर्न सकिन्छ । 

विस्तारै तराई मधेशका जिल्लामा आफ्नो पार्टीको प्रभाब कम हुँदै गएको र आगामी निर्वाचनमा पार्टी कमजोर हुन सक्ने अनुमान गरेर फोरम पनि राजपासँग एकता गर्न तयार भए पनि नेतृत्वको बिषयमा बिवाद भएपछि एकताबाट पछि हटेको श्रोतको भनाइ छ ।