अप्रवासी शिशु विरूद्धको अमेरिकी फोहोरी युद्ध

अप्रवासी शिशु विरूद्धको अमेरिकी फोहोरी युद्ध

अप्रवासी बालबालिका र शिशुहरू विरूद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले फोहोरी युद्ध गरिरहेको छ । अमेरिकाको दक्षिणी सीमाबाट हुने अप्रवासनको समस्यालाई समाधान गर्ने नाउँमा उनले बालबालिका र शिशुहरू विरूद्ध युद्ध नै छेडेकोमा ठूलो अलोचना भइआएको छ ।

 यो समस्याको अराजक समाधानको विरूद्धमा अमेरिकाको संघीय अदालतले ट्रम्प प्रशासनलाई दुध चुसाउने बालबालिकाहरूलाई उनका आमाबाबुसँग मिलन गराउन र उनीहरूलाई आमाबाबुसँग अलग नगराउने आदेश नौ महिनापछि दियो । तर यसबीचमा हजारौंहजार बालबालिकालाई तिनका आमाबाबुसँग अलग गराई जेलमा राखियो । 

एक आँकडा अनुसार १५ हजार बालबालिका यो अवधिमा हिरासतमा राखिएको थियो । एक वर्ष अगाडिको तुलनामा यो फेब्रुअरीमा दोब्बर भएको अनुमान गरिएको छ । नयाँ आँकडा अनुसार ७६ हजार एक सय तीन प्रवासीहरू दक्षिण सीमा देखिएका छन् । उनीहरूसँग ४० हजार भन्दा बढी बालबालिका रहेका छन् । 

यसरी आमाबाबुबाट अलग पारिएका बालबालिकाहरूको रहनसहनका लागि कुनै राम्रो व्यवस्था गरिएको छैन । अमानवीय व्यवहार गरिएको देखिएको छ । जसलाई हेरचाहका लागि राखिन्छ उसले यौन दुराचार गर्ने गरेको पाइएको छ । अदालतको आदेशपछि बालबालिकाहरूलाई तिनका आमाबाबुसँग मिलाउन खोज्दा कतिपय बालबालिकाले आफ्ना आमाबाबुसँग भेटन नपाएको देखियो ।  ल्याटिन अमेरिकी देशका प्रवासीहरू विरूद्धको यो फोहरी युद्धको जग हालिएको छ । गरिबी र हिंसाबाट भागेका परिवारका बालबालिका यसरी यो युद्धमा फालिदै गएको देखिएको छ ।

सन् १९७६–१९८३ सम्म अर्जेन्टिनाको सैनिक शासकका बेला देखिएको फोहोरी युद्ध जस्तो यसले झलक दिइरहेको छ । सन् १९८४मा लोकतन्त्र आउँदा वास्तविक आमाबाबुसँग मिलाउन समस्या भएको थियो । यसका लागि डीएनए पहिचान गर्ने विधि तय गर्नु परेको थियो । ट्रम्पले यस्तै अवस्थाको सिर्जना गर्दै छन् । एल सल्भाडोर, ग्वाटेमाला र होन्डुरसबाट भागेकाहरू शरणको खोजीमा जाँदा उल्टै यस्तो समस्यामा फस्ने गरेका छन् । ट्रम्पले संकटकाल घोषणा गरेका छन् । दक्षिणी सीमामा लगाइने पर्खालले हिजोको समस्या र समाधानबारे प्रश्न खडा गर्नेछ । ट्रम्पले आप्रवासनको समस्यालाई संकट भनिरहँदा यो दक्षिणी सीमामा मानवीय संकट उपस्थित भएको छ । यसको समाधान मध्ययुगीन पर्खाल र पिजडामा कैद गरी खोजिएको छ । ट्रम्पको समाधान मानवता विरोधी समाधान हो ।

ट्रम्पकी पत्नी मेलिनिया ट्रम्पले यस्ता बालबालिकाहरूको अवस्थाबारे  आपत्ति व्यक्त गरेकी थिइन् । पतिको प्रशासनबाट भएको कार्यलाई उनले विरोध गरेपछि ट्रम्पले बालबालिकाहरूलाई आमाबाबुसँग मिलाउन गरिएको प्रयास ठीक ढंगले भएको देखिएन । कतिपय बालबालिकाका आमाबाबु पहिचान गर्न सकिएन ।

यसरी आमाबाबुबाट अलग भएका बालबालिकाहरूको यो समस्या स्थायी बन्ने र यो राजनीतिक र नैतिक विपत्ति निम्त्याउने देखिएको छ ।