क्षतिग्रस्त सबै स्थानमा राहत नपुगेको स्थानीयको गुनासो 

क्षतिग्रस्त सबै स्थानमा राहत नपुगेको स्थानीयको गुनासो 


रामबाबु मेहता

चैत २० बारा । बारा र पर्सामा आइतबार साँझ आएको विनासकारी हावाहुरीका कारण बाराको केही गाउँमा  राहतका सामग्रीहरु नपुगेको स्थानीयहरुले गुनासो गरेका छन् । विनासकारी हावाहुरीका कारण फंटा गाउँपालिका, कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिकामा मानवीय क्षतिसहित भौतिक रुपमा घरहरुलाई क्षतिग्रस्त बनाएको छ  ।

फेंटा गाउँपालिकामा मात्र संघ सरकार, प्रदेश सरकार र स्थानीय प्रशासनको ध्यान केन्द्रित भएको छ । हावाहुरीले वितण्डा मच्चाएको महागढीमाई नगरपालिका ७ को तेलगांई, बेनौली, सुवर्ण गाउँपालिकाको हर्दिया, प्रशुरामपुर, देवताल गाउँपालिकाको रमपुर्वामा राहतको कुनै पनि इकाई पुगेको छैन ।

संघ, प्रदेश र स्थानीय प्रशासनको ध्यान नपुगेपछि स्थानीय सरकारले क्षतिग्रस्त स्थलमा खानाको मेस सञ्चालनदेखि लिएर जेनरेटरबाट विजुलीको व्यवस्था, त्रिपाल, झुल वितरण गरेका छन । सो ठाउँमा सरकार र प्रशासनको ध्यान नपुगेपछि स्थानीय सरकारका प्रमुखहरुले असन्तुष्टि प्रकट गरेका छन । अहिलेसम्म न सरकार हाम्रो घर दैलोमा आए न त स्थानीय प्रशासन नै आफूहरुको विजोग रहेको हावाहुरीको वितण्डाबाट आफ्नो आमा ज्यान गुमाएको महागढीमाई नगरपालिका ७ तेलगाईका छोटेलाल यादवले गुनासो गरेका छन् ।

आफ्नो वडामा घटना घटे लगतै नगर प्रहरी, स्थानीय प्रहरी चौकी, सशस्त्र बेश क्याम्पको टोलीसहित राति नै घटना स्थलमा पुगी उद्धार कार्य गरी घाइतेलाई मोटरसाइकल गाडीमा राखेर उपचारको लागि अस्पताल पठाइएको, सोमबार विहानैदेखि नगरपालिकाद्वारा नगर प्रहरी लगाएर खानाको मेस सञ्चालन गरिएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।