विनासकारी हावाहुरीले निम्त्याएको अवस्था र चुनौती

विनासकारी हावाहुरीले निम्त्याएको अवस्था र चुनौती

रामबाबु मेहता

 चैत २० / प्रदेश २ सरकार  र संघीय सरकारले राहत, उद्दार तथा सहयोगको घोषणा गरे पनि मृतकका परिवारलाई क्रिया खर्चको अभाव भएको भन्दै जोहो गराई दिनका लागि पीडितहरुले  संचारकमीरुलाई आग्रह गरेका छन् ।
 
आइतवार आएको विनासकारी हावाहुरीका कारण पीडामय जीवन बिताइरहेका बाराका प्रभावित गाउँलेहरुका लागि बुधवार विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठूलै मानवीय सेवाको काममा लागि परेका छन् ।

घरबारबिहीन भइसकेका प्रभावितहरुलाई चर्को घाममा ओत लाग्नसम्म ठाउँ नरहेको अवस्थामा नेपाली सेनाले विहानैदेखि दर्जनौँ अस्थायी टेन्टको घर निर्माण गर्नमा व्यस्त देखिएका छन् । नेपाली सेनाका टोली दिनरात खटेर पीडितहरुलाई बास बस्न धमाधम टेन्ट लगाइ दिएको छ ।

भत्केको घर अगाडि सेनाले वासस्थानमा टेन्ट लगाइ दिएपछि हावाहुरीको वेदना भोग्दै आइरहेका पीडितहरुले केही हदसम्म राहत पाएका छन् ।

नेपाली सेनाले अस्थायी वासको व्यवस्था गरिदिएको छ भने सशस्त्र प्रहरी राहत वितरणमा विभिन्न स्थानमा भएको क्षति क्षेत्रमा पुगेर राहत वितरण गर्ने तथा व्यवस्थापन गर्नेतर्फ सक्रिय छ । त्यस्तै नेपाल प्रहरीले स्वास्थ्य शिविर सञ्चालन गरी सयौँ विरामीलाई उपचार गरिरहेको छ । 

बारा–पर्सामा आएको विनासकारी हावाहुरी प्रभावित क्षेत्रमा सयौं घरबार विस्थापित भएपछि राहत सामाग्री लिएर आउनेहरुको ओइरो नै लागेको छ  । पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले विभित्र जिल्लाबाट राहत सामग्री बोकेर घटनास्थल आउनेहरुको क्रम जारी नै छ । 

फेटा गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष जयप्रकाश दासले राहत सामग्रीको समस्या नरहेको बताए । उनले भने– मंगलवारसम्म राहत सामग्री वितरण गर्नेहरुले के कसो गरे थाहा नभएपछि अस्तव्यस्तता थियो, तर बुधवार देखि आफना वडामा कसले के गर्दैछन् सबैको कामको संकलन गरेर मात्रै राहत वितरण लगायतका कामहरु हुन थालेपछि व्यवस्थित भएको हो ।

गाउँपालिकाका साथै विभित्र संघसंस्थाहरुले खाद्यान्न, लत्ताकपडा, खानेपानी,लेखापढी ब्यवसायीहरुले भाडा बर्तन जस्ता सामग्री सहयोग गरेको बताउँदै वडा अध्यक्ष दासले प्रभावितहरुको पुनःस्थापना नै मुख्य चुनौती रहेको बताए । 

विनासकारी हावाहुरी आएसँगै त्यसको विहान पल्टदेखि सीमावर्ती क्षेत्र भारत विहारको पूर्वी चम्पारण गाउँ लगायत विभिन्न ठाउँहरुबाट पनि राहत सामग्रीहरु आइरहेको छ ।
 
आजसम्म जनकपुर, वीरगञ्ज, हेटौडा लगायत विभिन्न स्थानहरुबाट भारी मात्रामा खाद्यान्न तथा लत्ताकपडा सामग्रीहरु वितरण भइरहेको छ । राहत सामग्रीको लाम लागेको यस क्षेत्रमा मेला झै मानिसहरुको भीड लागेको छ 

शौचालय नहुदा रोग लाग्ने डर

विनासकारी हावाहुरीले घर नै भत्काएपछि यससँगै शौचालयको पनि निकै समस्या भएको छ । शौचालय नहुँदा विभिन्न रोगहरु फैलिने भन्दै वडाध्यक्ष दासले गुनासो गरे ।

विनासकारी हावाहुरीबाट फेटा गाउँपालिकाको भलुही, भरवलिया, पुरैनिया, प्रसौनी गाउँपालिकाको चैनपुर, कलैया उपमहानगरपालिकाको धर्मनगर, शीतलपुर, देवताल गाउँपालिकाको रमपुरवा, महागढी माई नगरपालिकाको तेलागाईं, स्वर्ण गाउँपालिकाको परशुरामपुर, पचरौता बेनैली र हर्दिया लगायतका गाउँहरु प्रभावित भएको छ । 

विनासकारी हावाहुरीको कारणले पीडितहरुको बेदना बारा–पर्सामा सहजै देख्न सकिन्छ । आइतबार साँझ केही मिनेटको हावाहुरीका कारण सयौं घरपविार घरबिहीन भएका छन् भने कतिपयले आफन्त गुमाइसकेका छन् र कतिपय अझै पनि अस्पतालमा उपचारको अवस्थामै छन् ।

तर, कसैले पनि मृतक परिवारको अवस्था र आवश्यकतामाथि ध्यान नदिदा व्यापक समस्याहरु भइरहेको छ । धर्म सांस्कृति अनुसार क्रिया गर्न सकस भइरहदा उनीहरुले सरकारसँग क्रिया खर्चका लागि आग्रह गरेका छन् ।

सरकारी राहतबारे आफूलाई केही थाहा नरहेको भन्दै राजेश दासले क्रिया खर्च कसरी गर्नेबारे अन्यौलता देखाए । 

मंगलबारसम्म खुल्ला आकाशमुनी रात बिताउँदै आए पनि बुधबारदेखि नेपाली सेनाले विभिन्न स्थलमा अस्थायी टेन्ट घर बनाइदिएपछि उनी खुसी समेत छन् ।