छिमेकी भारतको तातेको चुनावी माहौलका रमाइला पक्षहरु

छिमेकी भारतको तातेको चुनावी माहौलका रमाइला पक्षहरु

जगदीशराज बराल

 

 लोकसभाका सदस्य निर्वाचनका चर्चित विषयहरु 

२९ राज्य एवम् सात सात वटा केन्द्र शासित क्षेत्र भएको दक्षिणी छिमेकी देश भारतमा आम निर्वाचन २०१९ को खैलाबैला गाउँ, शहर, कुनाकाप्चा सबैतिर पुगेको छ । राष्ट्रबाद र न्यायबादको परीक्षाको रुपमा विश्लेषण गरिएको पाँच सय ४५ सिटमध्ये पाँच सय ४३ (दुई सिट एङ्ग्लो इन्डियन समुदायबाट पछि राष्ट्रपतिले मनोनयन गर्छन) सिटमा हुने सत्रौं लोकसभा निर्वाचनको लागि अप्रिल ११ अर्थात चैत्र २८ गतेदेखि सात चरणमा मतदान हुँदैछ । 

मे २६ देखि २८ सम्ममा सम्भवत भारतले नयाँ प्रधानमन्त्री पाउनेछ । मतदातालाई आ–आफ्नो पक्षमा पार्न भारतका प्रमुख राजनीतिक दल कंग्रेस र भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा रहेका महागठबन्धन यूपीय र गठबन्धन एनडीएका बीच घोचाघोच र आरोपप्रत्यारोप चलेको छ । 'मै भी चौकीदार', 'चौकीदार चोर है', 'मोदी है तो मुमकीन है' देखि लिएर 'बगावत', 'दल बदलु मै भी बेरोजगार'; लता मंगेसकरले नरेन्द्र मोदीको कविता 'सौगन्ध मुझे इस मिट्टी की' लाई स्वर दिएको विषय; उम्मेदबारको टिकट करौडोमा साटेको आरोप लाउँदै पार्टीबाट इस्तिफा; मोदी फेरि प्रधानमन्त्री भए राजनीतिबाट सन्यास;  फेसबुकले कंग्रेसको छ सय ८७ फेसबुक एकाउन्ट तथा पेज हटाएको; चुनावको मुखमा आएर एलपी ग्यासको मूल्य बढाएको; प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा बनेको चलचित्र; बेगुसरायका  भाजपा नेता गिरिराज सिंहले राहुललाई रानीको छोरा अव स्मृति इरानीसँग डराएर भाग्दैछन् भनेर चुनावी जनसभामा बोलेका; कंग्रेसको न्याय योजनालाई रघुराम राजनले समर्थन गरेको सन्दर्भमा केन्दीय बैक स्वायत्त निकाय भएकाले स्वायत निकायमाथि प्रश्नचिन्ह उठ्ने भएकाले पूर्व गर्भनरले कुनै दलको कार्यक्रमको सम्बन्धमा बोल्नु नहुने भन्ने केन्द्रीय वित्तमन्त्री अरुण जेटलीको भनाइ; आईएस अफिसर रत्नप्रभा भाजपामा र केन्द्रीय बैक आरवीआईका पूर्व उच्च अधिकारी कंग्रेसमा प्रवेशको खवर; अमित साह सूर्या तेजस्वीको ढाल बनेर कर्नाटकको चुनावी सभामा सामेल भएको; नेशनल कन्फ्रेन्सका ओमर अवदुल्लाहले जम्मु कस्मिरमा छुट्टै प्रधानमन्त्री आवश्यक छ भनेर जनसभामा बोलेको; योगी आदित्यनाथले भारतीय सेनालाई मोदीजीका सेना भनेर सम्बोधन गरेको; अघिल्लो चुनावमा नरेन्द्र मोदीको सम्बोधनमा ८० प्रतिशत उच्चारण ‘सव का साथ सव का विकास’ भन्ने नारा भएकोमा अहिलेचाहिं ‘मन्दीर वहीं बनेगा’ नयाँ नारा ल्याएर विकासलाई ओझेलमा पारिएको भन्ने तर्कहरु; भाजपाले हिन्दुधर्म खतरे मे है भनेकोमा विपक्षी गठबन्धनले बेलायती–मुगलहरुले हजार बर्षसम्म शासन गर्दा खतरा नहुने अहिले चाहिं कसरी हुने ? बरु मोदी जी खतरे मे है भन्दै प्रतिउत्तर दिन थालेका कुरा लगायत भाजपाले कंग्रेसका सांसदहरुले मागेको रकम दिएर खरिद गर्ने गोप्य योजना ‘अपरेशन कमल’ (यसलाई  केही सञ्चारकमीले ‘अपरेशन  ब्ल्याक कमल’ को नाम पनि दिएका छन ) को चलखेलको चर्चा पनि चलेको छ । मध्यम बर्गीय मतदाताहरु हाम्रो करको रकम बाँड्नलाई हैन भन्दैछन् । 

अप्रिल एक लाई अप्रिल फूल पनि भनिन्छ र यसलाई मोदी दिवसको रुपमा मनाउनु पर्ने तर्क पनि विपक्षीहरुले गरेका छन् । आरएसएस भारतको लागि समस्या बन्नसक्छ भन्ने भारतीय केन्द्रीय बैंकका पूर्व गर्भनर रघुराम राजन पनि चर्चामा छन् । मध्यप्रदेशको भाजपा टिकट वितरणमा असन्तुष्ट पक्षधरहरुले आफ्नै पार्टी कार्यालयमा तोडफोड गरे रे भन्ने हल्ला चलाइएको छ । मेनका गान्धीले राहुलको विरुद्धमा मोर्चाबन्दी गरेकी छन् भन्ने प्रचारबाजी पनि गरिन थालिएको छ । उत्तरप्रदेशको बुलन्द शहरमा हत्या गरिएका प्रहरी कर्मचारी सुवोध कुमार सिंहको सम्बन्धमा मुख्य मन्त्री योगीले उदासीनता देखाएको भन्ने चर्चा फेरि ब्युँतिएको छ । गठबन्धनमा क्षेत्रीय पार्टीहरु हावी भएकाले कंग्रेसलाई पछि असजिलो हुने तर्क पनि बुद्धिजीविहरु गर्दैछन् । चर्चाको विषयमा नेपालका उच्च पदस्थ राजनेताहरुको सामाजिक सञ्जालमा प्रसारित ट्रोल बनाउने युवकहरुलाई कारबाही गरेको सन्दर्भमा चर्चाको शृङ्खलामा मोदी र इरानीको सामाजिक सञ्जालमा आएको ट्रोलमाथि गम्भीर अपराध मानेर भएको कारबाही; वामपन्थीको जन्मभूमिमा कंग्रेसको उम्मेदबारलाई सवक सिकाउने भनेर केही वामपन्थी नेताहरुले दिएको बक्तव्य; सोनिया र प्रियंका गान्धीको पहिरनमाथि भजपाका नेता कार्यकर्ताको टिप्पणी; चुनावी गर्मीसँगैं बढेको दिल्लीको तापक्रम; आरजेडीमा मतभेद; मायावतीका शालिकका प्रसङ्ग पनि थपिएका पाइन्छन् । राफेल काण्डमा सरकारले जनतालाई ढाँटेको हो भन्ने स्वरहरु पनि सुनिन थालेको छ ।

दिल्लीमा विपक्षी गठबन्धन हुन नसकेको विषयले पनि मिडियालाई मसला मिलेको छ । औला भाँच्दै गुजरातीसँग कसैले सक्दैन भन्ने प्रसंग पनि गफगाफको विषय बनेको छ । समर्थक मतदाताहरु यी दुई गठबन्धनका नेताहरुले चुनावी सभालाई सम्बोधन गर्दा तथा विभिन्न अन्र्तर्वार्ता दिँदा भनेका कुरालाई लिएर सामाजिक सञ्जाललाई रमाइलो बनाइरहेका छन् । पत्रकारहरु, व्यङ्ग चित्रकारहरु एवम् विधुतीय सञ्चारमाध्यमहरुले पनि व्यवसाय पाएका छन् । अघिल्लो निर्वाचनमा गधा सम्मेलन लगायतका केही व्यङ्ग कविता सम्मेलनको आयोजना गरेको टेलिभिजन च्यानेल ‘आज तक’ ले केही दिनअघि यसपालीको चुनावको सन्दर्भमा सञ्चालिका स्वेतासिंह भएको “चौकीदारका सम्मेलन” नामको कार्यक्रमको आयोजना गरी विभिन्न राज्यका प्रसिद्ध हाँस्यव्यङ्ग कविहरुको जमघट गरायो । यसैगरी अर्काे च्यानल इन्डिया टुडेले पनि यङ्ग  इन्डिया डिवेट सञ्चालन ग¥यो ।

नेपालको नाम जोडियो   

भाजपाले मैं भी चौकीदार भन्ने चुनावी नाराको अभियान शुरु गरेपछि नेपालको नाम पनि त्यो चौकीदारी अभियानसँग जोडियो; खासगरी विपक्षी महागठबन्धनबाट । आम आदमी पार्टीकी एक महिला राजनीतिज्ञले चौकीदार त सस्तो भए पनि महङ्गो भए पनि नेपालबाट मगाउन सकिन्छ तर हामीलाई राम्रो प्रधानमन्त्री पो आवश्यक छ भन्ने विवादास्पद ट्ीवट गरेपछि पछि हटाउनु परेको अवस्थामा आज तकले आयोजना गरेको चौकीदारका सम्मेलनमा विहार राज्यका कवि शंभु “शिखर” ले कविता बाचनको दौरानमा चौकीदार त नेपालका इमान्दार हुन्छन भन्दै ‘नेपालका भी रोजगार छीन लोगे’ भनेर भाजपाप्रति कटाक्ष गरेका थिए । यसरी नेपाल चौकीदार आपूर्ति गर्ने देशको रुपमा महागठबन्धनले चित्रण गरेको पाइयो । नेपाल र वीर गोरखालीको सामथ्र्यको बदनाम गरेको भन्दै ‘वीर गोरखा वेब टीभी’ नामको यूट्यूवमा दीपक राइले हिन्दीमा राम्रो टिप्पणी गरेका छन् ।

नयाँ हिन्दी शव्दकोषको चर्चा 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको मेरुत चुनावी सभालाई सम्बोधनको क्रममा विपक्षी गठबन्धनमध्ये समाजबादी पार्टी /सपा, राष्ट्रिय लोकदल/रालोद र बहुजन समाजबादी पार्टी/बसपा लाई ‘सराब’ उपनामले सम्बोधन गर्दै ‘सेहत’ के लिए सराव से दूर ही रहना चाहिए भनेपछि अखिलेश र लालु यादवले शराव र सराबबीच अन्तर गर्न नसकेको भनेर सुझाव पनि दिएका छन् । अर्कोतर्फ शेहदको सट्टा सेहत भनेर अर्थ न बर्थको कुरा गरेको भनेर उल्टै मोदीलाई उडाउन थालेका पनि छन् । त्यसैगरी, मोदीले समाजबादी–कांग्रेस–अखिलेश–मायावतीलाई ‘सकाअम’ शव्दले सम्बोधन गरेपछि सञ्चारमाध्यमले नयाँ शव्दहरुको सिर्जना हुन लागेकाले शव्दकोष नै पल्टाउनुपर्ने अवस्था आएको चर्चा गर्न थालेका पनि छन् । 

राहुल गान्धीले जीएसटीलाई गव्वर सिंह टेक्सको नामाकरण गरेपछि अव शव्दकोषमा परिवर्तन गर्नु पर्ने भयो नि भन्ने अर्को रमाइलो चर्चा पनि शुरु भएको छ । फेरि राहुलले इन्डियन एक्सप्रेसको हवाला दिदैं राफेल काण्डको सन्दर्भमा मोदीलाई “बीचौलिया” शव्द प्रयोग गरी नयाँ नाम दिएकाले शव्दकोषमा थप्नु पर्ने भन्ने हस्यौंली मसला पनि विरोधीहरुले पाएको देखिन्छ । राहुल गान्धीले उठाएको हिन्दु आतंकबाद र हिन्दु उग्रवाद शब्दहरुको अर्थको लागि हिन्दी शव्दकोषको नयाँ संस्करण निकाल्नु पर्ने भाजपा समर्थक मतदाताहरुको मुखबाट सुनिन थालिएको चर्चा छ । शव्दहरुको शृङ्खलामा प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालकी मुख्य मन्त्री ममता बनर्जीलाई ‘स्पीडब्रेकर दिदी’ भनी सम्बोधन गर्नु भएको; विपक्षी मुस्लीम नेता असबुद्धिन ओवेसीले मोदीलाई ‘झूठा की बादशाह’ भन्दै लगाएको आरोप; भाजपा अध्ययक्ष अमित साह तथा राजस्थानका भाजपा नेता पूर्व केन्द्रीय मन्त्री गुलावचन्द कठरीयाले कंग्रेसको चुनावी घोषणपत्रलाई ‘झूठका पूलिन्दा’ भनेर गरेको बिश्लेषण; महाराष्ट्रको पिपुल्स रिपब्लिक पार्टीका नेता जयदीप कावडेले ‘पति बदल्ने वाली महिला’ भन्दै केन्द्रीय मन्त्री स्मृती इरानीमाथि गरेको टिप्पणी; शिवसेना सदस्य सञ्जय राउतले सामना पत्रिकामा प्रकाशित आफ्नो लेखमा बेगुसरायका वामपन्थी उम्मेदवार कन्हैया कुमारलाई ‘जहरका बोतल’ भन्ने शव्दले प्रहार गरेको; अरुणाञ्चलका भाजपा प्रदेश अध्यक्ष र मुख्यमन्त्री पेका खान्डुले एक सय ८० लाख भारु मतदातालाई बाँड्न ठीक पारेको रकम जफत गरेको भन्दै कंग्रेसले शव्दहरु जोड्दै भाजपाले ‘नोट दो भोट लो अभियान’ सञ्चालन गरेको भनी शव्दहरु जोडी लगाएको आरोप; मुलायम सिंह यादवलाई ‘भाजपाका एजेन्ट’ भनी भीम सेनाका संस्थापक नेता चन्द्रशेखर आजाद रावणले दिएको उपनाम जस्ता थप नयाँ नयाँ शब्दहरु पनि  जोडिएका छन् । मोदीले महागठबन्धनका नेतालाई ‘मिलावटी नेता’ भनेपछि शव्द युद्ध शुरु भएको भन्ने विश्लेषण गर्न थालिएको छ । नेताहरुले भाषाको बेहाल बनाएका र खिल्ली उडाएका भनेर टिप्पणी हुन थालेको छ ।

मुद्धाको कि माहौलको सिर्जना ? 

भारतीय मतदाता भन्छन– जसको सरकार भए पनि हामीलाई घोषणापत्र हैन परिणाम चाहिन्छ । अव जनता धेरै शिक्षित भएका छन् । पन्चानब्बे प्रतिशत मतदाता भाषणमा बहकिदैनन् । पाँच प्रतिशतलाई मुर्ख बनाई बहकाउन सकिएला । विपक्षी गठबन्धनले चाहिं भाजपामाथि अघिल्लो चुनावी प्रतिबद्धताको उपलब्धिबारे कुनै चर्चा गर्दैन; न दुई करोड रोजगार दिने न त अहिलेको गरिवी, वेरोजगारी, कालाधन लगायतका मुद्धाबारे कुरा उठान गर्छ बरु यी बारे मौन बसेको छ । खाली पेन्सन, हिन्दु मुस्लिमको नाममा देशलाई बाँडेको, सर्जिकल स्ट्रयाइ्क, आतंकबादको नाममा पाकिस्तानलाई धम्की र चीनको विरोध आफूहरुले नगरेर आफना समर्थक र कार्यकर्ताद्वारा विरोध गर्न लगाई चुनावमा कथित राष्ट्रबादको कथित चुनावी माहौल खडा गरेको छ । मुद्धा बाई बाई माहौल हाई हाई गरेर निर्वाचनमा विजय प्राप्त गर्ने कुचेष्टा गरेको भन्ने आरोप लगाउन थालेको छ । 

विपक्षी गठबन्धनले भाजपाको पुरानो वाचा, भ्रष्टाचार, गरिवी बेरोजगार, नोटबन्दी, जीएसटी, राफले, गरिवलाई मासिक छ हजार वितरण लगायतका मुद्धाहरु उठाएको छ । मोदीले हालै सम्बोधन गरेका चुनावी सभामध्ये मेरठ र आसामको सभामा मात्र युवालाई स्वरोजगारसँग जोड्ने काम पहिलो पटक एनडीए सरकारले गरेको छ भनेर दुई पटक मात्र मुख्य मुद्धामा भाजपा बोल्यो भनेर विपक्षीले औला ठड्याउन थालेको चर्चा पनि ताजै छ । मुख्य मुद्धा भन्दा शव्द जाल एवम् माहौलको सिर्जना गर्ने चुनावी अभियानमा चुनावी राजनीति अल्झेको छ भन्ने टिप्पणी भारतीय एनडीटीभीका कार्यक्रम सञ्चालक रविस कुमारको पनि छ ।

युवा मतदाताहरुको चासो 

शिक्षित बेरोजगार युवाहरु गुण र दोषको आधारमा निस्फिक्रीसँग आफ्ना धारणहरु राख्न थालेको देखिन्छ । उनीहरुको इलाहाबादको नाम प्रयागराज राखेर नाम परिबर्तनको कारणले हुन जाने करोडौं खर्च रोजगारीतर्फ लगाएको भए पनि त हुन्थ्यो नि भन्ने गुनासो छ । भाजपाले दुई करोड रोजगार सिर्जना गर्ने घोषणा गरेकोमा; डिग्री हातमा लिएर बेरोजगार बस्नु परेको; आइपीएस आइएस अफिसर, डाक्टर, इञ्जिनियर, सिए बनाउलान भनेको त पकौडा तार्ने र चौकीदार पो भइयो भनी गुनासो पोख्दै “अव की बार रोजगार दिने वालों की सरकार” भन्दै ठट्टा पनि गर्न थालिएको छ । मुद्धा युवाहरुको रोजगारीमा हुनुपर्छ, किसान मजदूरको बलवुताबाट अर्थतन्त्र चलेकाले तिनको हित केन्द्रित मुद्धा हुनुपर्छ भन्ने उनीहरुको तर्क सुन्न पाइन्छ ।

केही ठट्यौली  बोली 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कस्मिरमा पनि सम्बोधन गर्नु भएको छ । विभिन्न सम्बोधनमा उहाँले –चौकीदार डरेगा नही; एकतरफ दमदार चौकीदार है दुसरी तरफ दागदारो के भरमार है ; चौकीदारको चुनौती देनेवाला रो रहे है देशके लिए इस चौकीदार ने सव कुछ दाउ पर लगाएँ हैं; चाय वालो के दर्द चाय वालो ही समझ सकता है ; गरीवी का कारण ही कांग्रेस है भन्ने जस्ता रमाइला कुराहरु गर्नु भएको छ ।

हालै नेपालका प्रधानमन्त्री केपी अ‍ोलीले नेपाली कांग्रेसलाई कठैबरा कांग्रेस भनेझैं मोदीले पनि कांग्रेस रो रहा है भनेर खिसी गर्नु भएको छ । विरोधीले प्रहार गरेको कुरालाई समेटेर त्यसको  सिढीं बनाएर आफू अघि बढ्ने कुरा गर्नु हुन्छ । हालै भाजपासँग असन्तुष्ट चलचित्र अभिनेता शत्रुघ्न सिन्हाले मोदी लहर नही मोदी कहर आया है भन्दै उनले यसपालीको निर्वाचनमा निगेटिभ भोट निकै खस्ने दावी पनि गर्छन । भाजपामा प्रवेश गरेका फिल्म नायक मिथुन चक्रवर्ती, हेमा मालिनी, जयाप्रदा र दुई जना भोजपुरी नायकहरु मोदीको विकल्प नै छैन भन्छन भने कंग्रेस प्रवेश गरेकी उर्मिला मातोन्डकर चाहिं विकास र सुरक्षाको लागि कंग्रेसले नै जित्नु पर्ने कुरा गर्छिन ।

राहुलले नीति आयोगलाई मोदीको पक्षमा मार्केटिङ्ग गर्न माहौल बनाएकाले आफ्नो सरकार बनेमा यस आयोगलाई  खारेज गर्ने दावा गरेको कुराले पनि कभरेज पायो । भाजपाका नेताहरुले ५० बर्षसम्म भाजपाले शासन गर्ने कुरा गरेको सन्दर्भलाई लिएर विपक्षीले भाजपा अधिनायकबाद हुन खोजिरहेको आरोप लगाएका सन्दर्भमा नेपालमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाले २० बर्ष सत्ता चलाउँछ भन्नु हुँदा यस्तै आरोप लागेको सम्झना हुन्छ ।  

बेगुसराय–कन्हैया (वीके) तेजस्वी – कर्नाटका (टीके)  

सेनाबारे विवादस्पद टिप्पणी गरेका कारण देशको विरुद्ध बोलेको भनी विवादमा आएका जवाहरलाल नेहरु विश्वविधालय छात्र संघका पूर्व नेता डा. कन्हैया कुमार अहिले भारतमा निकै चर्चामा छन् ।  जेएनयूमा उनको प्रचारको लागि विधार्थीहरु छलफल गरिरहेको चर्चाको बीच भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट विहारको लालगढ तथा भूमीहार ब्राम्हणको राजधानी भनेर परिचित बेगुसराय जिल्लाबाट संयुक्त युवा बामपन्थी उम्मेदबारका रुपमा मनोनित भएका उनी आरएसएस एवं मोदीमाथि खनिएका छन् । राहुल गान्धी भाजपाको नजरमा यदि पप्पु हुन भने मोदी हाम्रो नजरमा गप्पु हुन ; देश संविधान अनुसार चल्ने हो आरएसएसले चलाउने होइन; उन्नतीस/२९ दलको गठबन्धन बनाउने र विहारमा पाँच सिट लुरुक्क परेर अरुलाई छोड्ने मोदी प्रधानमन्त्री पो हुन कसरी शेर हुन सक्छन; मोदीजी कर्पोरेटद्वारा खडा गरिएका ब्रान्ड हुन र ब्रान्डिङ्गमा जनता ठगिन्छन ; पूँजीको पुनःर्संरचनाबाट सिर्जित समाजको नयाँ बर्ग र आन्दोलनको नयाँ स्वरुपलाई बुझ्न नसक्दा रुस र कम्युनिष्ट दल विघटन भएको प्रसङ्ग उठाउँदै उनले शिवसेनाको आफ्नै पत्रिकाले नै चौकीदार चोर है; समानता समाजको लागि जरुरी छ ।

दिल्लीलाई प्रदुषणबाट बचाउने हो भने सवारी साधनमा पनि परिवार नियोजनको जस्तै हम दो हमारे दो भन्ने नारा तय हुनुपर्छ । चुनाव वृति होइन देश र संविधान विरोधीलाई तह लाउने मौका हो भन्ने जस्ता कुरा उठाएका छन् ।  बेगुसरायमा कुनै पनि हालतमा चुनाव आफूले नै जित्ने दावी गरिरहेका भाजपाका गिरिराज सिंहले कन्हैयालाई धम्की दिए रे भन्ने अफवाह पनि फैलिएको छ ।  त्यसैगरी, कर्नाटक राज्यको बैगलोरमा दक्षिण सिटबाट भाजपाले अठ्ठाइस बर्षीय युवा उम्मेदबार तेजस्वी सूर्यालाई उम्मेदबार बनाएको अनि निजले महागठबन्धनलाई ‘देश बिरोधी’ को विल्ला भिराएको विषय पनि अहिले चर्चामा छ । यसरी युवा मतदाताहरुबीच वीके र टीकेको चर्चा छ । पूर्व रेलमन्त्री लालु यादवका छोराले लालु–रावडी मोर्चा बनाउने हल्ला चलेको सन्दर्भमा युवा नेताहरुमा आफ्नै अलग पहिचानको महत्वकांक्षा बढ्दै गएको टिप्पणी गर्न पनि थालिएको छ ।

आचार संहिताको सन्दर्भमा रेलवेको चिया कप र फोटो  

शताव्दी एक्सप्रेस रेलवेले चिया खुवाउन ठेकका दिएका ठेकेदारले यात्रुलाई चिया बाँडने प्लास्टिकको कपमा हम भी चौकीदार भन्ने प्रिन्ट गरेको मामलामा आचारसंहिता तोडेको उजुरी परेपछि  निर्वाचन आयोगको आदेशपछि ती जरिवाना सहित कपहरु हटाउनु परेको र प्रम भएर कुनै एउटा पार्टीको चुनावी सभामा सम्बोधन गर्न नमिल्ने भनी परेको उजुरीमा मोदीलाई समेत क्लिन चिट दिएको प्रसङ्ग पनि चर्चामा छ । त्यसैगरी प्रम नेरन्द्र मोदीको फोटो राखिएको रेलवे टिकटबाट फोटो हटाउन निर्वाचन आयोगले आदेश दिएको छ । 

सामाजिक सञ्जाल र व्यङ्ग चित्रकारहरु र मिडियाको  चासो 
 

विभिन्न भारतीय मित्रहरुको सामाजिक सञ्जालको अध्ययन गर्दा भाजपा समर्थकहरुले सामाजिक सञ्जाल बढी प्रयोग गरेको पाइयो । भाजपा समर्थकहरुको विपक्षी गठबन्धनप्रति र पाकिस्तान एवम् चीनप्रति समेत ठाडो, हल्का र सस्ता शव्दहरु प्रयोग गरी नकारात्मक टिप्पणी गरेको देखियो । मोदी र राहुलको कुण्डलीदेखि लिएर गठबन्धनका पक्षहरुमा आ–आफ्नै अनुकूल मत सर्वेक्षणका नतिजाहरु पनि  विधुतीय सञ्चारमाध्यममा छाएका छन् । त्यसैगरी इस्माइल लहरी, मंजुल, आचार्य लगायतका प्रसिद्ध कार्टुनिष्टह्रुको कार्टुन पनि रमाइला छन् । यहाँ इन्टरनेटको माध्यमबाट हामीले केही व्यङ्गचित्रहरु संकलन गरेका छौं । 

 

अन्त्यमा 

भारतीय लोक सभाको निर्वाचन सफल होस र नेपालले छिमेकको अत्यन्त हितैसी प्रधानमन्त्री पाओस । यही हाम्रो शुभकामना ! तर, चुनावी प्रचारमा नेपालको बदनाम हुने गरी सन्दर्भ नजोडियोस ।

श्रोत ः इन्टरनेट, सामाजिक सञ्जाल र मिडिया, २०१९ अप्रिल ३ ।

२०७५ साल चैत्र २१ प्रकाशित

यो पनि पढ्नुहोस

भारतीय संसदमा वामपन्थी विजोग

भारतीय सत्रौं लोकसभा र विश्व राजनीति