राय, राई, देवान, सेन र सुब्बाको नालीबेली 

राय, राई, देवान, सेन र सुब्बाको नालीबेली 

नन्द कन्दङवा

राय भनेको राजा हो । यो अंग्रेजहरुले ल्याएको शव्द हो । भारत र नेपालमा यो राय भन्ने शव्द राजाको रुपमा धेरै अघिदेखि प्रचलनमा रहेको थियो । पछिल्लो समयमा यो कुनै बंशको थरको रुपमा पनि लेखिन थाल्यो । नेपालको पूर्वी पहाडी भागमा भने यो राय पद्वीको रुपमा दिएपछि पद्वी पाएको बंशका मानिसहरु सबैले उक्त राय लेख्न थाले । उदाहरणको रुपमा विजयपुर राज्यमा राजा पुङलाईङले हिन्दुमत ग्रहण गरी जब अमर राय नाम राखे र दोस्रो पटक विजयपुरमा सेनका चौतारिया पानेहाङ खेवाङले हिन्दु मत ग्रहण गरि बिद्याचन्द्र राय नामले प्रख्यात भए त्यसपछि पहाडी भेगमा त्यहाका बंश समूहहरुले आफुलाई राजखानदानका हौ भन्ने देखाउन नामको पछाडि राय जोड्ने चलन चल्यो । त्यसभन्दा अघि चेम्जोङ राय, खेवा राय आदि भन्ने गरिएको थियो । यसको अर्थ चेम्जोङ राजा, खेवा राजा भन्ने हुन्थ्यो । यही राय पदवीबाट राय थरको रुपमा राई हुन गयो । राई या राय कुनै जाति समूह होइन र थिएन । 

हिजोआज थरको रुपमा देवान लेख्नेहरुको ठूलै संख्या छ । वास्तवमा दिवान भन्ने शव्द मुस्लिमहरुले प्रयोग गर्दथे, जसको अर्थ हिसाव किताव राख्ने शासनमा शक्तिशाली मानिस भन्ने हुन्थ्यो । यो पनि पद नै हो । त्यही शव्द भारतमा प्रचलनमा आयो । त्यो क्रमश नेपालमा आयो र नेपालको पूर्वी भागको शासकहरुले यसलाई दिवानबाट देवानमा परिणत गरे । यही दिवान पद पाउने व्यक्तिहरुको बंशले राज्यको शक्तिशाली व्यक्तिसँग आफ्नो सम्बन्ध देखाउन दिवानबाट देवान थरको रुपमा भन्न लेख्न पुगे । यो पनि लिम्बुले सुब्बा भने लेखे जस्तै हो । बि.सं. १८३१ पछि कान्तिपुरका शाह राजाहरुले लिम्बुका खास खास व्यक्तिहरुलाई सुब्बा पद दिएका थिए । यो सुब्बा शक्ति पदसँग साईनो देखाउन सबै लिम्बुहरुले सुब्बा भन्न र लेख्न थाले त्यो पनि थरको रुपमा । 

कहीले कही लिम्बुहरुमा सेन भनेको मगर हो र होइन भन्नेमा वादविवाद भएको देखिन्छ । ढुंगे युगको समय र त्यसपछि बर्मा, आसाम भएर भारतको केही दक्षिण र केही मध्य भाग हुदै सिन्धु नदी क्षेत्र तथा गंगाको मैदानमा फैलिएर पछिल्लो समयमा उत्तर र पूर्वउत्तर क्षेत्रमा खुम्चिन पुगेका मानव समूहहरु एउटै परिवारका हुन् । यही विभिन्न परिवारहरु विभिन्न समयमा एकमा अरु बिलय या सम्मिश्रण भएर नयाँ जातिमा बिकास भए र नयाँ अस्तित्वको रुपमा उदय भए । यसरी नयाँ जातिको रुपमा उदय हुने मध्ये एक लिम्बु जाति पनि हो । चीनको साङ बंश, इतिहासकार इमान्सिङ चेम्जोङले उल्लेख गरेको सान मक्वान, बंगाल बिजय गर्ने सेन, नेपालको पाल्पा, मकवानपुर, चौदण्डी र बिजयपुरमा राज्य शासन गर्ने सेनहरु एउटै बंश समूहका मानव समुह हुन् । 

डा. हर्ष बहादुर बुढामगरको खोज अनुसार मगरहरु सेन होइनन र सेनहरु मगर होइनन् । सेन भनेका मगर क्षेत्रका राजा मात्र हुन । मगर क्षेत्रका राजा अर्थात मगरहरुको राजा भन्ने क्रममा मगर राजा भन्न पुगिएको भन्ने डा. बुढा मगरको निश्कर्ष छ । यो कुरा बिचारणीय छ । लिम्बुहरुको पुरानो लिखतहरुमा र कतिपय शिलालेखहरुमा नाम पछि सेन जोडिएको पाइन्छ । तर, ती लिखत तथा अभिलेखहरु पन्ध्रौ शताव्दी भन्दा पछिका हुन् । पाल्पादेखि बिजयपुरसम्म राज्य स्थापना गरी शासन गर्ने सेनहरु जब बिजयपुरमा पन्ध्रौ–सोह्रौ शताव्दीमा शासन गर्न आइपुगे तिनले पहाडी क्षेत्रमा आफ्नो शासनलाई कायम गर्न स्थानीय बंश समुहका व्यक्तिहरुलाई सेनको प्रतिनिधिको रुपमा राखे । विजयपुर सेन शासनसँग जोडिएका स्थानीय बंशका तिनै सेनका प्रतिनिधीहरुले आफ्नो नाम पछि सेन जोडेको देख्न पाइन्छ । यसर्थ, लिम्बुका केही बंशमा उल्लेख भएका सेन मगर हुन या होइनन् भनेर वादविवाद गर्नु नबुझ्नु मात्र हो । 

२२ चैत २०७५ मा