बारमा दुई तिहाई प्रगतिशीलले जित्दा यसरी हारे महासचिवमा सुरेन्द्र ?

बारमा दुई तिहाई प्रगतिशीलले जित्दा यसरी हारे महासचिवमा सुरेन्द्र ?

काठमाडौं । गत शनिबार भएको कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोशिएशनको निर्वाचनमा प्रगतिशील समूहले दुई तिहाईसहितको बहुमत हात पार्दा महासचिव जस्तो जिम्मेवार पद लोकतान्त्रिक समूहको पोल्टामा जाँदा प्रगतिशीलहरु आश्चर्यमा परेका छन् ।

सत्तारुढ दल बाम निकट प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी हुँदा उनका प्रतिद्वन्द्वी लोकतान्त्रिकका सुनीलकुमार पोखरेल पराजित भए । श्रेष्ठले चार हजार २२ मत ल्याए भने पोखरेलले तीन हजार आठ सय ७३ मत प्राप्त गरे ।

बारको २५ सदस्यीय कार्यसमितिमा २२ जना प्रगतिशील समूहबाट विजयी भए । बारमा सत्तारूढ नेकपा निकट प्रगतिशील समूहबाट एक अध्यक्ष, कोषाध्यक्ष, सात जना उपाध्यक्ष र १३ केन्द्रीय सदस्य समेत निर्वाचित भए ।

यो जितसँग कार्यसमितिमा प्रगतिशील समूहको स्पष्ट दुई तिहाइ जित हात परेको छ । प्रदेश ५ को उपाध्यक्षमा लोकतान्त्रिक समूहका सुनीलकुमार श्रेष्ठ तीन हजार नौ सय ८६ मत र मधेसी/मुस्लिम खुला सदस्यमा मनोजकुमार चौधरी तीन हजार नौ सय ३० मत ल्याएर विजयी भए ।

महासचिवमा लोकतान्त्रिक समूहका सुरेन्द्र कसरी हारे ?

बारको महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी हुँदा प्रगतिशील समूहका सुरेन्द्र थापा मगर पराजित भए । पौडेलले थापालाई चार सय ७७ मत अन्तरले पराजित गरे । पौडेलले चार हजार एक सय ७८ ल्याउँदा थापाले तीन हजार सात सय एक मत मात्र प्राप्त गरे ।

सुरेन्द्र बारका लागि नयाँ अनुहार थिए । उनी बारको केन्द्रीय सदस्य पनि थिएनन् । पूर्व नेकपा एमाले निकट रहेका थापालाई नेकपाका नेता रघुजी पन्तले जवर्जस्ती पेलेर टिकट दिएका त हुन् तर बारमा रघुजीको हिसाव कितावले हावा खायो ।

थापाले महासचिवमा जितेको खण्डको अर्को पटक निर्वाचन हुँदा उनी अध्यक्ष पदको दावी गर्छन् भन्ने सर्कुलर भित्र भित्रै भुसको आगो जसरी फैलाइयो । यो प्रपञ्च थापाले बुझ्नै सकेनन् जसले गर्दा थापालाई काठमाडौकै मतदाताले धोका दिए । उनलाई हराउन बुनिएको यस्तो प्रपञ्च अहिले वकिलहरुबीच व्यापक चर्चामा छ ।

महासचिवमा थापालाई हराउन पूर्व माओवादीहरु र अध्यक्ष पदका उम्मेदवार चण्डेश्वर नै स्वयम् कम्मर कसेर लागेका थिए । लोकतान्त्रिक समूहका एक वकीलका अनुसार महासचिवमा थापा हार्नु पूर्व एमाले र माओवादी वकिलहरुबीचको अन्तर्घात हो । उनलाई प्रगतिशील समूहले त धोका दियो नै लोकतान्त्रिक पक्षले पनि असहयोग ग¥यो ।

बार निर्वाचनमा १० हजार एक सय ४१ मतदाता थिए । जसमध्ये आठ हजार तीन सय २८ जनाले मतदानमा सहभागिता जनाएका थिए ।