लिम्बुवानमा किन गए पूर्व राजा ज्ञानेन्द्र ?

लिम्बुवानमा किन गए पूर्व राजा ज्ञानेन्द्र ?

मधेसमा हावाहुण्डरीले विजोग बनाएको बेला पूर्व राजा ज्ञानेन्द्र ‘लिम्बुवान’ को मुख्य जिल्ला पाँचथर, इलामको ‘सेल्फी’ भ्रमणमा छन् । राजा ज्ञानेन्द्रको मन्दिर मोह जानेकै विषय हो । तर, पाँचथर, इलाम जानुमा भने मन्दिरमोह र पुजापाठमामात्र सीमित छैन् । 

यी दुई जिल्लामा ताप्लेजुङमा जस्तो प्रशिद्ध पाथीभरा मन्दिर पनि छैन् । केही मन्दिरहरु छन् ती किरात धर्मसँग सम्बन्धित छन् । किरात धर्मसँग सम्बन्धित लारुम्बा र लब्रेकुटी प्रशिद्ध धार्मिक स्थल हुन । हिन्दु धर्मसँग सम्बन्धित काम चलाउ मन्दिरमात्र छन् । तर, पनि ज्ञानेन्द्र भ्रमणमा छन् । उनले पाँचथर सदरमुकाममा ‘रोड सो’ गरेर लोकप्रियता देखाएका छन् ।

पूर्वी नेपालको प्रचलित लिम्बुवान क्षेत्रका यी जिल्ला संवेदनशील क्षेत्र हो । भारतको पश्चिम बंगाल राज्यसँग जोडिएको यो क्षेत्र नेपाली राष्ट्रिय राजनीतिको केन्द्र हो । 

सन् १८१६ को सुगौलि सन्धिले यो क्षेत्रमा बसोबास गर्ने समुदाय जमिनसँगै तीन वटा देश नेपाल, भारत र सिक्किममा बाँडिए । तत्कालीन स्वतन्त्र सिक्किम यतिखेर भारतको अभिन्न अंग भइसकेको छ । नेपालको राजनैतिक परिवर्तनमा मेची पारिका समुदायको व्यवस्थापनको सहयोग महत्वपूर्ण रहेको छ । २००७ सालको राजनीतिक घटना, पञ्चायतविरोधी आन्दोलन, पहिलो जनान्दोलन, माओवादी जनविद्रोह वा दोस्रो जनान्दोलनमा पारिको सहयोग उल्लेख्य रहेको थियो ।

 यति मात्र होइन लिम्बुवानको सशस्त्र वा निशस्त्र आन्दोलनमा पनि मेची पारिको भूमिमा बस्ने समुदायको व्यवस्थापन सहयोग थियो । झापा विद्रोहमा पनि पारिको योगदान दार्शनिक रुपमै लिन सकिन्छ । झापा विद्रोहलाई यसै कारण नक्सलवादी आन्दोलनको नामले चिनिने गरिएको हो । ००७ सालको राजनीतिक आन्दोलनको आधारभूमि पनि दार्जिलिङ रहेको स्वयम् वीपी कोइरालाले आफ्ना आलेखहरुमा लेखेका छन् । 

पञ्चायत विरोधी कांग्रेसको सशस्त्र विद्रोहमा यस क्षेत्रका लिम्बू समुदायले वीपीलाई सहयोग गरेका थिए । भूविक्रम नेम्वाङ तथा प्रेमराज आङदम्बे परिवारहरुले कांग्रेसको विद्रोहमा सहयोग गरेका थिए । यी विद्रोहहरुमा नेपाली भाषी मेची पारिका यी क्षेत्रहरु आधार क्षेत्रहरु थिए । यतिमात्र होइन यो क्षेत्रमा बासोबास गर्ने लिम्बू समुदायको जातीय (भाषिक, सांस्कृतिक) विकासमा पनि पारिका क्षेत्रको उल्लेख्य योगदान छ । लिम्बू समुदायको समग्र जातीय विकासमा लागेका किरात सिरीजंगा लिपीको खोज अनुसन्धान गरी आजको स्थितिमा ल्याउने तेअङसी सिरीजंगाले यसै क्षेत्रलाई परम्परागत विश्वविद्यालयको रुपमा उपयोग गरे । उनलाई पछि यसै क्षेत्रमा रुखमा बाँधी तीर धनुषले तारो हानी मारियो ।

यतिखेर यस्तै संवेदनशीलतालाई नजिकबाट बुझ्न ज्ञानेन्द्र पाँचथरलाई वेसक्याम्प बनाएर त्यस वरपर घुमिरहेका छन् । पाँचथर यस्तो जिल्ला हो, जहाँ लिम्बु समुदाय बहुसंख्यामा बस्छन । मध्य पहाडी लोकमार्गको प्रस्थान विन्दु रहेको च्याङथाबु यसै जिल्लामा पर्छ । राजतन्त्र र पञ्चायतलाई जोगाउने मुख्य भुमिका खेल्ने लिम्बू समुदायका पात्र पद्मसुन्दर लावती, अइन्द्रविक्रम थाम्सुहाङहरु यसै जिल्लाका हुन । 

नेपाली कांग्रेस, पञ्चायत र राजतन्त्रले लिम्बू समुदायलाई राम्रैसँग उपयोग गरेको थियो । तसर्थ कांग्रेसमा र राजतन्त्रको पक्षमा लिम्बूहरु आजसम्म लागिरहेका छन् । 

कांग्रेसमा तिनै नेम्बाङ र आङद्म्बे परिवारबाट ‘फाइल बढुवा’ हुँदै कांग्रेसको नेतृत्वमा पुगेका भिष्मराज आङदम्बे एक पात्र हुन । कम्युनिष्टहरुले लिम्बू समुदायको व्यक्तित्वलाई भने उपयोग गर्न सकेन । पछिल्लो पटक लिम्बू समुदायबाट कम्युनिष्ट पार्टीमा आएका संघर्षशील पात्रहरु सूर्य कन्दङ्वा, सिएम कन्दङ्बा, भक्तराज कन्दङ्बाहरु कम्युनिष्ट पार्टीको कोपभाजनमा परे । नन्द कन्दङ्बाहरु छुटे । 

यतिखेर ज्ञानेन्द्र लिम्बुवानका ती क्षेत्रमा भ्रमण गर्नु मुख्य उद्वेश्य भनेको आफ्नो पुर्खा पृथ्वीनारायण शाहले गरेको विसं १८३१ को ‘नुन पानी’ सन्धिलाई मौखिक नवीकरण गर्नु पनि हुनसक्छ । पृथ्वीनारायण शाहले तत्कालीन समयका कविलाई लिम्बू राज्यहरुसँग गरेको सन्धिको उच्च मूल्याङ्कन गर्ने समुदाय लिम्बूहरु नै हुन । 

लिम्बुवान राज्यको माग गर्ने लिम्बुवानजन्य संगठन र पार्टीले पनि यो सन्धिलाई स्वीकारेका छन् । यसर्थ लिम्बूहरुलाई अपवादमामात्र अन्य राजनैतिक दलहरुले प्रयोग गर्न सकेका हुन । पाँचथरमा भव्य स्वागत गर्नेमा लिम्बूहरुकै सांस्कृतिक टोली र लिम्बूहरु देखिन्थे । राजतन्त्र र पञ्चायत व्यवस्था विरुद्ध आम लिम्बूहरु विगतमा लाम लागेनन् । आफ्नै थातथलो किपट व्यवस्था खोस्ने भूमिसुधार लगाउँदा पनि विद्रोह हुन सकेन । तत्कालीन लिम्बू सुबहरुले नै किपट खारेजीमा राजतन्त्रलाई सघाए । 

यसरी केन्द्रीय सरकारको उत्पीडन सहेका लिम्बूहरुको मनोविज्ञानलाई आफुतर्फ पुनः खिच्न ज्ञानेन्द्रको भ्रमण भएकोमा शंका मान्नु पर्दैन । वर्तमान राज्य व्यवस्थामा पनि लिम्बूहरुको उपस्थिति देखिने हिसावले नहुँदा र लिम्बुवानको माग पनि पूरा नहुँदा बैकल्पिक जनमत आकर्षित गर्न ज्ञानेन्द्रको भ्रमण भएको सहज अनुमान लगाउन सकिन्छ ।  


२०७५ साल चैत्र २३