गोर्खालेण्डमा गोर्खालीलाई भिडाएर थाङ्नामा सुताउने योजना

गोर्खालेण्डमा गोर्खालीलाई भिडाएर थाङ्नामा सुताउने योजना

भवानी बराल

आगामी अप्रिल ११ गतेदेखि सुरु हुने भारतीय लोकसभा निर्वाचनमा पश्चिम बंगालको दार्जिलिङ जिल्ला निर्वाचन क्षेत्रबाट भारतीय पार्टीहरुले गोर्खाली भाषीहरुलाई भिडाएर गोर्खालेण्डको मुद्धालाइ ‘सेबोटेज’ गर्ने दीर्घकालीन रणनीति लिएका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले मणिपुरका नेपाली भाषी राजु विष्ट र पश्चिम बंगाल राज्यको सत्तारुढ दल तृणमुल कांग्रेसले दार्जिलिङका अर्का नेपाली भाषी अमरसिंह राईलाई प्रत्यासी बनाएका छन् । 

तृणमुलका उम्मेद्वार अमरसिंह राई गोर्खालेण्ड आन्दोलनसँग यसअघि सम्बन्धित थिए । तर, विष्ट गोर्खालेण्ड आन्दोलनसँग नजोडिएका पात्र हुन । उनी मणिपुर राज्यका सम्पन्न नेपाली भाषी व्यापारी हुन । भारतीय राष्ट्रिय कांग्रेसले तृणमुल कांग्रेससँग सिटको तालमेल गरेकोले यहाँ उम्मेद्वारी दिएको छैन ।

को कता पट्टि ?

दार्जिलिङमा हुन लागेको १४ औं (सन् १९५७ बाट मात्र यो क्षेत्रलाई अलग निर्वाचन क्षेत्र तोकिएको) लोकसभामा गोर्खालेण्डसम्बद्ध संगठनहरु पनि बाँडिएका छन् । गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (स्व. घिसिङ), गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङ), क्रान्तिकारी माक्र्सवादी पार्टी (आरवी राई) ले भाजपा उम्मेद्वार विष्टलाई समर्थन गर्ने भएका छन् । यसैगरी तृणमुल कांग्रेसका प्रत्यासी राईलाई गोर्खा जनमुक्ति मोर्चा (विनय तामाङ समूह) ले समर्थन गर्ने भएको छ ।

दार्जिलिङ निर्वाचन क्षेत्रबाट यसअघि दूई कार्यकाल भाजपाले प्रतिनिधित्व गरेको थियो । दुवै निर्वाचनमा गोर्खालेण्डसम्बद्ध गोरखा जनमुक्ति मोर्चा (गोजमुमो) र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) को सहयोगमा भाजपा विजयी भएको थियो । दुवै कार्यकाल भाजपाका सांसद नेपाली भाषी अर्थात गैह्र गोर्खाली, गैह्र नेपाली भाषी थिए । यसपटक भने भाजपाले निकै ठूलो बठ्याँइ गरेर नेपाली भाषीलाइ नै उम्मेदवार बनाएर दार्जिलिङ पठाएको छ । पहिलो पाँच वर्षे कार्यकालमा भाजपाले सत्तामा पहुँच नभएकोले गोर्खालेण्डको मुद्धा सम्बोधन गर्न नसकिएको तर्क दिँदै दोस्रो पटक पनि सहयोग गर्न गोर्खालेण्डसम्बद्ध संगठनलाई अनुरोध ग¥यो र पुनः अर्को कार्यकाल (सन् २०१४) को लोकसभा निर्वाचनमा अर्का उम्मेद्वारलाई पठायो । गोर्खालेण्डसम्बद्ध संगठनले पुन भाजपाको उम्मेद्वारलाई जिताएर पठाए । तर, दश वर्षे कार्यकालमा पनि दार्जिलिङ पहाडको मुद्धा सम्बोधन भाजपाबाट भएन । भाजपा सांसद एस.एस. आलुवालियाले पाँच वर्षमा गोर्खालेण्डको मुद्धा उच्चारणसम्म गरेनन् । त्यसभन्दा अगाडि भाजपाका बरिष्ठ नेता जसवन्त सिंहले दार्जिलिङबाट तिनै नेपाली भाषी गोर्खालीको मतबाट निर्वाचित भए तर उनले पनि गोर्खालीलाइ न्याय दिने मामिलामा सिन्कोसम्म भाँचेनन् । 

गोर्खालेण्ड सम्बद्ध संगठनहरु 

नेपाली भाषाको वैधानिक मान्यताको मागबाट उठेको भारतीय नेपाली भाषीको आन्दोलन नेपाली भाषालाई भारतीय संविधानको अनुसूचिमा मान्यता दिलाउन सफल भएपछि सम्बद्ध समूहहरु स्वायत्तताको आन्दोलनमा हेलिन सुरु भयो । अखिल भारतीय गोर्खा लिग (मदन तामाङ), गोर्खा राष्ट्रिय मुक्ति फ्रण्ट (सिके प्रधान), गोर्खा प्रजातान्त्रिक मार्चा आदि पुराना संगठनहरु हुन ।

गोर्खालेण्डको छुट्टै माग राखेर अगाडि आएको संगठन भने गोर्खा राष्ट्रिय मुक्ति मोर्चा हो । स्व. सुवास घिसिङले यो मोर्चाको स्थापना सन् १९८० मा गरेका थिए । सन् १९८५–१९८६ मा यो संगठनको नेतृत्वमा दार्जिलिङ पहाडमा सशक्त संघर्ष गरेको थियो । दार्जिलिङ, डुअर्स र सिलिगुडी (तराई) को भूभागलाई मिलाएर छुट्टै गोर्खालेण्ड राज्यको माग गरेको थियो । यो संघर्षमा १२०० नेपाली जनहरुको क्षति भएको थियो । घिसिङले छुट्टै गोर्खालेण्ड राज्यको मागलाई परित्याग गर्दै भारत सरकारसँग सन् १९८८ अगस्त २२ मा एक सम्झौता गरे । सम्झौतामा राज्य भन्दा तलको ‘दार्जिलिङ गोर्खा पार्वत्य परिषद’ (गोर्खा हिल्स काउन्सिल) बनाउनेमा सहमति गरे । घिसिङको यही सहमतिले गोर्खालेण्डको मागलाइ पहिलो पटक तुहाएको थियो ।

यसपछि गोरामुमोबाट विद्रोह गर्दै विमल गुरुङले ७ अक्टोबर २००७ मा गोर्खा जनमुक्ति मोर्चा नामको भिन्नै संगठन निर्माण गरेर गोर्खालेण्ड राज्यको माग गर्दै आन्दोलन उठाए । निकै लामोे संघर्ष पछि गोजमुमो पनि भारत सरकारसँग उप–स्वायत्त क्षेत्र स्तरीय प्रशासनिक इकाइ ‘गोर्खालेण्ड टेरिटोरियल एडमिनिष्ट्रेसन’ बनाउन राजी भएर भारतको केन्द्र र पश्चिम बंगाल राज्य सरकारसँग सहमति ग¥यो । यसरी दोस्रो पटक पनि गोर्खालेण्डको माग तुहियो । 

यसपछि पनि दार्जिलिङ पहाडको स्थाइ समाधान भएको छैन, तर दार्जिलिङ पहाडको राजनीति यतिखेर अन्यत्र मोडिएको छ । गोर्खालेण्डको माग गर्ने नेताहरु भाजपाले गोर्खालेण्ड देला भनेर दश वर्ष सघाइ सकेका छन् । तर पनि फेरि भाजपालाई सघाउन अग्रसर भएका छन् । यसले दार्जिलिङको वौद्धिकतालाई कुरीकुरी गरिरहेको विश्लेषकहरुको राय छ ।

दार्जिलिङ जिल्ला लोकसभाको लागि छुट्टै निर्वाचन क्षेत्र सन् १९५७ देखि हो । अहिलेसम्म १४ पटक लोकसभाको निर्वाचनमार्फत ९ जना नेपाली भाषी गोर्खालीले प्रतिनिधित्व गरिसकेका छन् । ६ पटक यहाँबाट सिपिएमले प्रतिनिधित्व गरेको थियो । सिपिएमबाट रत्नलाल ब्रम्हण (माइला बाजे), आनन्द पाठक, आरवी राई जस्ता क्रान्तिकारीहरु लोकसभाको सदस्य भए । तर, उनीहरुले न त गोर्खालेण्डलाई विधिगत प्रक्रियामार्फत संस्थागत गर्न सके न गोर्खालेण्डको आन्दोलनलाइ उचाइ नै दिन सके । गोर्खालेण्डलाई सम्बोधन गर्न नसक्त भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी दार्जिलिङ पहाडबाट ओरालो लागेको अहिलेसम्म उकालो चढ्न सकेको छैन ।

यस क्षेत्रबाट कांग्रेस पार्टीको प्रतिनिधित्व गर्दै नेपाली भाषीहरुले पनि लोकसभाको अनुहार हेर्ने काम मात्रै गरे । कांग्रेस पार्टी पनि यसैगरी ओरालो लाग्यो । दार्जिलिङमा भाग्य अजमाउन को आएनन ? फुटबल खेलाडी भाइचुङ भुटिया तृणमुल कांग्रेसको फेरो समातेर उम्मेद्वार बने । प्रोफेसर महेन्द्र पी. लामाले स्वतन्त्र उम्मेद्वारी दिएर हेरे । गोर्खालेण्डमा भाग्य अजमाउन मारवाडी व्यापारीले पनि बाँकी राखेनन्, यिनी थिए अरुणकुमार अग्रवाल । दार्जिलिङका गोर्खालीको दर्शनहीन ‘भर्जिन’ मानसिकताले गोर्खालेण्डको मागमुद्धा ओझेलमा पर्नुपर्ने कारण बन्यो ।

नेपाली भाषी गोर्खा र यहीँका वासिन्दाले प्रतिनिधित्व गर्दा त नसुल्झेको मुद्धा गैह्र गोर्खा भाषी तथा गैह्र नेपाली मुलका भाजपाका दुईजना पूर्वमन्त्री तथा बरिष्ठ दिग्गज भाजपा नेताहरुलाइ पनि गोर्खालेण्डसम्बद्ध संगठनको अपिलमा दार्जिलिङवासीले जिताएर हेरे । तर यो उपयोग पनि हात्ती आयो हात्ती आयो फुस्सा भयो । यतिखेर नेपाली भाषी तर अन्यत्र राज्यका वासिन्दा राजु विष्टलाइ भाजपाले उम्मेदवार बनाएर दार्जिलिङमा पठाएको छ र गोर्खालेण्ड सम्बद्ध संगठनको अपिलमा दार्जिलिङका गोर्खाहरु भोट हाल्न हात पखालेर बसेका छन् । 

भाजपाका दिग्गज गैह्र नेपालीलाई उम्मेदवार बनाएर दुई पटक झुक्याएको भाजपाले यसपटक अर्को तुरुप नेपाली भाषी नै फ्यालेर फेरि एक पटक लाखौ गोर्खालाई झुक्याउने मेलोमेसो निकालेको छ । भाजपाले फालेको यो अन्तिम तुरुप हो त्यसपछि भने दार्जिलिङका गोर्खाहरुको वुद्धिको विर्को खुल्छ कि ? आखिर भाजपाको अघिका उम्मेद्वार भन्दा बढी यी कलिला विष्टले के नै पो गर्न सक्छन र ? राजनीतिमा यो भन्दा विडम्बना अरु के नै हुन्छ र ? तृणमुल कांग्रेसले अर्का नेपाली भाषी र दार्जिलिङका बासिन्दा अमरसिंह राईलाइ उम्मेद्वार बनाएको छ । तर, तृणमुल कांग्रेस आफै गोर्खालेण्ड विरोधी पार्टी हो । यसरी ६० वषदेखि गोर्खालीहरु झुक्किदै आएका छन् । यसपटक पनि झुक्किएर गोर्खालीहरु थाङ्नामा सुते भने अनौठो नमाने हुन्छ ।

दार्जिलिङ जिल्लाको अहिलेसम्मको लोकसभामा प्रतिनिधित्व ः