अमेरिका र इरानले एक अर्काको सेनालाई आतंकवादी घोषणा गरे

अमेरिका र इरानले एक अर्काको सेनालाई आतंकवादी घोषणा गरे


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको रिभोलुशनरी गार्ड कोप्र्स (आईआरजीसी)लाई विदेशी आतंकवादी संगठन घोषणा गरेपछि इरानले पनि अमेरिकी सेनालाई आतंकवादी घोषित गरेको हो ।

अमेरिकाले अर्को देशको सेनालाई आतंकवादी संगठन भनी घोषणा गरेको यो पहिलोपटक हो ।

ह्वाइट हाउसले इरानको सेना आईआरजीसीलाई ’इम्प्लिमेन्टिङ्ग इट्स ग्लोबल टेररिस्ट क्याम्पेन’ अर्थात् विश्वव्यापी आतंकवादी अभियानलाई लागू गर्नु उसको उद्देश्य रहेको जनाएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी फौजलाई आतकंवादी संगठन भनी त्यसको जवाफ दिएको छ ।

ट्रम्पले जब इरानसँगको परमाणु सम्झौता तोडे त्यतिबेलादेखि नै वासिङटन र तेहरानबीचको तनाव बढेको देखिन्छ ।

रिभोलुशनरी गार्डलाई  आतंकवादी संगठन भनेपछि अब अमेरिकाले खासगरी त्यहाँको व्यापारिक क्षेत्रलाई असर गर्ने गरी इरानमाथि थप प्रतिबन्धहरू लगाउन सक्नेछ ।

आईआरजीसीसँग सम्बद्ध थुप्रै संस्थाहरूलाई अमेरिकाले पहिला नै आतंकवादीको संज्ञा  दिँदै र मानवअधिकार उल्लंघनको आरोप लगाउँदै प्रतिबन्ध लगाइसकेको छ ।

ट्रम्पले आफ्नो कदमले इरानमाथि अहिलेभन्दा बढी दबाब पर्ने बताए ।
उनले भने, ‘यदि आईआरजीसीसँग सम्बन्ध राख्ने हो भने इरानले आतंकवादको समर्थन गरिरहेको छ ।’

अमेरिकी विदेशमन्त्रालयका अनुसार इरानमाथिका प्रतिबन्धहरू अबको एक साताभित्र लागू हुनेछन् ।


यसैगरी अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जबसम्म इरानले एउटा सामान्य देश जस्तो व्यवहार गर्न सुरु गर्दैन तबसम्म उसमाथि प्रतिबन्ध र दबाबको रणनीति जारी रहने बताए ।


सन् १९७१ मा इरानमा भएको क्रान्तिपछि त्यहाँ रिभोलुशनरी गार्डको गठन भएको थियो । यो इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीको फैसला थियो । इरानको इश्लामिक क्रान्ति हुनुअघि त्यहाँ अमेरिकी समर्थनको राजतन्त्र थियो ।

तर पेन्टागनका केही अधिकारीहरूले अमेरिकाले इरानको फौजलाई आतकंवादी घोषणा गरिएपछि अमेरिकी फौजको सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् ।

सेनाका अधिकारीहरूले यसरी आतकंवादी भनी घोषणा गर्दा त्यसले मध्यपूर्वमा रहेका अमेरिकी फौजविरुद्ध हिंसाहरू निम्तिन सक्ने भन्दै चेतावनी दिएका छन् ।

देशको केन्द्रीय गुप्तचर निकाय पनि ट्रम्पको पछिल्लो कदमको विपक्षमा रहेको बताइएको छ ।

अमेरिकाको पछिल्लो घोषणाको जवाफमा इरानको राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाको सेन्ट्रल कमाण्डलाई आतकंवादी संगठन भनेको छ ।

इरानको सरकारी सञ्चारमाध्यम आईआरआईएनएनका अनुसार विदेशमन्त्री जावेद जरिफले राष्ट्रपति हसन रुहानीलाई त्यस्तो प्रतिक्रिया जनाउनका लागि आग्रह गरेका हुन् ।

सेन्ट्रल कमाण्डले खासगरी अफगानिस्तान, इराक, इरान, पाकिस्तान र सिरियामाथिको वासिङ्टनको सुरक्षा चासोलाई हेर्छ ।