मोदी जिते पाकिस्तानसँग शान्तिको अवसर राम्रो हुने पाकिस्तानी प्रधानमन्त्रीको बुझाइ

मोदी जिते पाकिस्तानसँग शान्तिको अवसर राम्रो हुने पाकिस्तानी प्रधानमन्त्रीको बुझाइ

२७ चैत्र, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) जिते पाकिस्तानसँगको शान्ति वार्ताका लागि राम्रो अवसर हुन सक्ने बताएका छन् ।

बिहीबारदेखि शुरू हुन गइरहेको भारतीय लोकसभा निर्वाचनको मुखमा पाकिस्तानी प्रधानमन्त्री खानले यस्तो बताएका हुन् ।

प्रतिपक्षी कांग्रेस नेतृत्वको सरकार भारतमा आए भारत नियन्त्रित काश्मिरसम्बन्धी पाकिस्तानसँगको विवादको समाधान गर्न त्यो पार्टी पछि हटन सक्ने देखिएको खानले जनाए । उनले भने “भाजपा जित्छ भने काश्मिरको विषयमा कुनै किसिमको सम्झौतामा पुग्न सकिन्छ ।”

खान गत वर्ष पाकिस्तानको निर्वाचनबाट प्रधानमन्त्री बनेका थिए । मोदी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको जस्तो भय र राष्ट्रवादी सोचबाट चुनावको इन्जिनियरिंग तय गर्ने नेता भएको उनले जनाए ।

 आफूले भारतसँगको वार्ताका लागि लचकता देखाएको बताउँदै खानले काश्मिरमा सक्रिय लडाकु समूहलाई समाप्त पार्न सेनालाई सरकारले पूरा सहयोग दिने बताए । काश्मिरमा राजनीतिक संघर्ष भइरहेको छ । यसको सैनिक समाधान हुँदैन ।