प्रदेश २ मा बढ्दो आत्महत्या 

प्रदेश २ मा बढ्दो आत्महत्या 

सप्तरी, २७ चैत्र । सप्तरीको छिन्नामस्ता गाउँपालिका १ का २१ बर्षीय घनश्याम यादवले चैत्र २३ गते विहान झुण्डिएर आत्महत्या गरे । 

घरदेखि एक सय ५० मिटर पश्चिममा रहेको शिरिषको रुखमा आफैले लगाएको स्विटरको पासो लगाई झुण्डिएर आत्महत्याको अवस्थामा उनी भेटिए । त्यसको एक साताअघि सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ५० वर्षीय रामभजन यादवले पनि झुण्डिएर आत्महत्या गरे । 

घरबाट ५ मिटर उत्तरमा रहेको आँपको रुखमा गम्छाले पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला प¥यो । प्रहरीले शवको पोष्टमार्टम गरी घटनाको अनुसन्धान गरिरहेको छ ।

राजविराज नगरपालिका–५ स्वर्णटोका ४९ वर्षीय बब्लु सिहंको शव आफ्नै कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा फेला प¥यो । गम्छाको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

यसअघि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्हीचपेना निवासी ६० वर्षीय बलराम सुतिहार (शर्मा) ले गोठको कोरोमा डोरी लगाइ झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत चैत ७ मा अग्निसाइर कृष्णसवरण गाँउपालिका–५ का २३ वर्षीय युवा उपेन्द्र साहले आत्महत्या गरे ।

यसरी बिगत केही समय यता सप्तरीमा मात्रै होइन प्रदेश २ मै आत्महत्या गर्ने क्रम ह्वातै बढ्ेको छ । प्रदेश २ मा बिगत ७ महिनाको अबधिमा दुई सय ७७ जनाले आत्महत्या गरेका छन् । जसमध्ये झुण्डिएर एक सय ८९ जना, विष सेवन गरी ८३ जना र आगो लगाएर पाँच जनाले आत्महत्या गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुर धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक दानबहादुर थापाले जानकारी दिए । 
    
पछिल्लो समय सामान्य विवादमा आत्महत्या गर्ने प्रबृत्ति ह्वात्तै बढ्न थालेपछि स्थानीयबासीहरु चिन्तित बनेका छन् ।

बिगत ९ महिनाको अबधीमा सप्तरीमा ४८ जनाले आत्महत्या गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चैत महिनासम्ममा सप्तरीमा ४८ जनाले आत्महत्या गरेका छन् । जसमा महिलाको संख्या अधिक छ । आत्महत्या गर्नेमध्ये २० वर्ष मुनिका युवा र बालबालिका समेत छन् ।

यसैगरी आर्थिक बर्ष ०७४/०७५ मा ३६ पुरुष र ४९ महिला गरी ८५ जनाले आत्महत्या गरेका छन् । जसमा २० वर्ष मुनिका बालबालिका र युवाको संख्या १६ छ । आव ०७३/०७४ मा २६ पुरुष र ३३ महिला गरी ५९ जना तथा आव ०७२/०७३ मा ३१ पुरुष र २२ महिला गरी ५३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

यसरी अत्याधिक बृद्धि भएको आत्महत्याको ठोस कारण यकिन गर्न नसके पनि घरायसी बिबाद, पे्रममा असफलता, गरिबी, बेरोजगारी र जीवनको दुःख कष्ट सहन नसकेर अन्त्यमा आत्महत्या गर्ने गरेको बुद्धिजीवीहरु बताउँछन् ।
    

उमेरको हिसाबले १० वर्षका बालकदेखि ७० वर्षका बृद्धबृद्धासम्मबाट आत्महत्या गर्ने कार्यमा संलग्न भएको पाइएको छ ।

    यसरी उमेरको तथ्यांकलाई हेर्दा आत्महत्या गर्नेहरुमा १८ वर्षदेखि ४० वर्षबीचको संख्या बढी रहेको पाइएको छ । लिङ्गगत आधारमा आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिला बढी रहेको प्रहरीको भनाई छ ।

आत्महत्या गर्नेहरुमा सामान्य आर्थिक अवस्थाका व्यक्तिहरु बढी रहेका छन् । यसपछि न्यून आय भएका व्यक्तिहरु यसमा त्यति संलग्न रहेको पाइदैन । अनपढ र साधारण लेखपढ गर्न सक्ने व्यक्तिहरु यस अपराधमा बढी संलग्न हुने गरेको छ ।
    
आत्महत्या गर्नेहरुमध्ये अधिकांशले बिष खाएर आत्महत्या गर्ने गरेका छन् भने बाँकी मध्ये केही झुण्डिएर तथा हाम्फालेर आत्महत्या गर्ने गरेका छन् ।
    
अचेल दैनिक पाँचदेखि सात जनासम्म विष खाएर सिकिस्त भएकाहरु उपचारका लागि अस्पताल आउने गरेको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका चिकित्सकहरु बताउँछन् । 

    विष सेवन गर्ने अधिकांशले बाली विरुवामा छर्कने विषादी औषधि खाने गरेको र केहीले मुसा मार्ने, जुम्रा मार्ने औषधि खाने गरेको चिकित्सकहरुको भनाइ छ ।
    
यसरी सामान्य बिवादमा पनि विष खाएर आत्महत्या गर्ने प्रबृत्ति समाजको लागि चुनौतीको विषय बनेको स्थानीय बुद्धिजीवीहरुको भनाइ रहेको छ ।