नेकपा एकताः माया बैगुनी, नभई नहुनी...

नेकपा एकताः माया बैगुनी, नभई नहुनी...

२७ चैत्र, काठमाडौं । नेकपाको एकता यतिबेला यही गीतसँग चरितार्थ हुन पुगेको छ । प्रचण्ड नेतृत्वको पूर्व माओवादी र केपी शर्मा ओली नेतृत्वको पूर्व एमालेको टाउको मिले पनि शरीर, हात, खुट्टा र मन र मस्तिष्क भने अझै मिलिसकेको छैन ।

गीतमा भनिए जस्तै माया त यी दुई पार्टीबीच बस्यो ।  गाउँले, आफन्त सबैले पत्तो पाइसके । अव त्यो माया बैगुनी हुने त होइन भन्ने खतरा पनि उत्तिकै छ । केपी र पिकेबीच माया बसिसकेपछि त्यो माया बैगुनी होला कि भन्ने आशंकाले यतिबेला डरको घर पनि उत्तिकै गरेको छ ।

दुई पार्टीबीच एकता भएको त एक वर्ष हुनै लागेको छ तर अझै त्यो एकताका तल्ला तहसम्म पुग्न सकेको छैन । सरुवा, बढुवा, नियुक्ति र अवसरहरुमा पूर्व एमालेहरुकै बोलवाला चलेको छ । पूर्व एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पदमा भएको हुनाले पार्टीका हरेक तह र तप्कामा एमालेहरुकै मनोमानी छ । एकलौटी निर्णय गर्दै पूर्व एमालेले पूर्व माओवादीलाई हेपाहा शैलीमा पेलिरहेको छ ।

माओवादीहरु पनि त्यो हेपाहा शैली खुलेर बिरोध गर्न सकिरहेका छैनन् । भित्रभित्रै एमालेले आफूहरुलाई हेपेको र एकलौटी निर्णयहरु गर्दै हिँडेको माओवादीलाई चित्त बुझेको छैन । तर, भुसको आगोजस्तै यो कुरा माओवादीहरुसँग भित्रभित्रै फैलिएको छ र भदौरे भेलमा भिजेर फुलेको मुढो जस्तो गरी पूर्व एमाले गजक्क फुलेर बसेको छ ।

सत्ताधारी दल नेकपाभित्रको वर्तमान परिस्थितिलाई पूर्व एमाले र पूर्व माओवादीका केही नेताले पार्टी एकता गर्न प्रचण्ड र केपी ओली अलि हतारिँदा यस्तो अवस्था सिर्जना भएको व्याख्या, विवेचना गर्न थालेका छन् । केही शीर्ष नेताहरुको यस्तो बुझाई छ कि यदि दश महिनाअघि मात्र दुई अध्यक्षबीच पार्टी एकता घोषणा नभएर बल्ल अहिले एकता भएको भए पार्टीमा सधै बखेडा भिकिरहने अर्का नेता माधव कुमार नेपालको गुट बाहिरिइ सकेको हुन्थ्यो अनि पार्टी एकता गरेको भए त्यसले सार्थकता प्राप्त गथ्र्यो ।

तर, नेताहरुले यतिबेला जसरी परिस्थितिको विश्लेषण गरेता पनि बैगुनी माया बसिसकेको छ र त्यो माया नभई नहुनी पनि छ । दुःख गरेर लगाएको माया, चुनौतीको सामना गरेर लगाएको माया, दुनियाँलाई देखाएर लगाएको माया र दुनियाँले विश्वास गरेको माया यत्ति छिटो तोडिहाल्न पनि भएन । मायामा केही न केही बैगुनी पारा छ, केही न केही खोट छ भन्ने कुरा बल्ल थाहा भयो जतिबेला मायाको बारेमा चौतर्फी हल्ला भैसकेको थियो ।

त्यसैले यो मायालाई अव चटक्कै छोडेर धोका र विश्वासघात हुँदै परपाचुकेतिरको यात्रामा जानु भन्दा दुवै पक्षले गरेका गल्ती, कमी, कमजोरीहरुलाई आत्मसीक्षा र आत्मालोचना गर्दै अगाडि बढ्नुको विकल्प छैन । यो हुँदाखादाको माया मारेर अर्को मायालु खोज्न यो जोडीलाई छुट छैन । यही मायाले संसार जित्नु पर्छ, यही मायाले घरजम कस्नुपर्छ ।