नेपाली डोकोको कथा : भारतीय जनता पार्टीको व्यथा

नेपाली डोकोको कथा : भारतीय जनता पार्टीको व्यथा


नेपाली लोक कथामा डोकोको प्रसङ्ग साह्रै प्रसिद्ध छ । कथा अनुसार कुनै पहाडी गाउँमा एउटा परिवार बस्दो रहेछ । त्यो परिवारमा एक जना बूढो बाउ उसको छोरो, बुहारी र एक जना नाति रहेछन् । बूढो बाउ असाध्यै वृद्ध भएपछि स्याहार सुसार गर्न पनि परिवारमा समस्या हुँदै गयो । र, छोराबुहारीले बूढो यो दुःखबाट पार पाउन सल्लाह गरेछन । सल्लाह मुताविक बूढो बाबुलाई भिरबाट खसाली दिने विचार गरेछन । भिरबाट बाबुलाई खसाल्न डोको ठीक पारे । हात, खुट्टा पनि नचल्ने, आँखा पनि देख्न नसक्ने ती बाबुलाई डोकोमा हालेर भिरबाट खसाल्न लगेछन । 

यो काम गर्दा त्यो अवोध नाति पनि सँगसँगै पछाडि लागेछ । भिर आएपछि डोकोसँगै बाबु खसाल्न लागेपछि अबोध नाति केटोले भनेछ, ‘बाबु डोको चैं नफाल है ।’ बाबुले किन भनेर प्रश्न गरेछ । छोरोले भनेछ, ‘पछि तिमीलाई मैले यसरी नै फाल्नु पर्ने हुन्छ, त्यतिबेला पनि त डोको चाहिन्छ ।’ अबोध बालकको कुरा सुनेपछि उनीहरु झल्याँस्स भए र बूढो बाबुलाई भिरबाट नखसाली फिर्ता लिएर आए । अन्ततः अबोध बालकको कारण बूढो बाबुको अनाहकमा ज्यान जान पाएन । कथा यत्ति नै हो । 

तर, राजनीति यति कठोर हुँदो रहेछ कि यो कथा थाहा भए पनि चेतनशीलहरुलाई चाहिं दया लाग्दो रहेनछ । कथाकै प्रसंग यतिखेर सत्तारुढ भारतीय जनता पार्टीमा लागु भएको छ । भारतीय जनता पार्टीका संस्थापक नेता लालकृष्ण आडबाणीलाई मोदी–अमित शाहहरुले यस्तै कथाको जस्तै राजनीतिको भिरबाट खसाली दिएका छन् । गान्धी नगर निर्वाचन क्षेत्रबाट ६ पटक लगातार लोकसभा सदस्य निर्वाचित आडबाणीलाई भिरबाट नखसाल्न यसवन्त सिंह, शत्रुघ्न सिन्हाले बारम्बार अनुरोध गर्दागर्दै पनि आखिर टेरेनन् । राजनीति र प्रेममा जे पनि जायज हुन्छ भन्ने सूत्रलाई लागू गरे । बूढा आडवाणीले अनेक चित्कार गरे, गरिरहेका छन् । तर, उनको यो चित्कारको कुनै अर्थ रहेन । भाजपामा सफल वृत्त मन्त्री रहेका यसवन्त सिन्हाले पार्टी छोडेर हिँडे । भाजपामा ३० वर्ष लगानी गरेका शत्रुघ्न सिन्हाले पार्टी मात्र छोडेनन्, कांग्रेस पार्टी ज्वाइन गरे । 

भाजपाका पूर्व प्रधानमन्त्री अटलविहारी वाजपेयी जीवनको अन्तिम समयमा पार्टीबाट अलगथलग पारिए । नेपाली लोक कथामा त अन्त्यमा वुद्धि फिरेर डोकोसहित बाबुलाई फिर्ता ल्याए । तर, भाजपाको राजनीतिमा यो कथाको प्रसंगभन्दा पनि बढी भिरबाटै लडाउने काम भएको छ । यो सूत्र मुताविक राजनीतिमा बूढा हुँदै गए अमित शाहहरुले नरेन्द्र मोदीहरुलाई यसरी नै फाल्ने छन् । अमित शाहहरुलाई नितिन गडगरीले फाल्नेछन् । भाजपामा यो डोको सूत्रको अभ्यास भइरहनेछ । आसन्न आम निर्वाचनमा भाजपा गठबन्धनको हार भएमा यसैपटक नरेन्द्र मोदीहरुलाई भिरबाट खसालिने छ । 
  
२७ चैत्र २०७५ साल