पहिलो चरणमा १४ करोड भारतीयहरू आज मतदान गर्दै

पहिलो चरणमा १४ करोड भारतीयहरू आज मतदान गर्दै

विश्वकै सर्वाधिक ठूलो चुनावको रूपमा मानिएको भारतको लोकसभाको निर्वाचनमा मतदाताहरूले मतदान गरिरहेका छन् । पहिलो चरणको निर्वाचन अन्तर्गत बिहीबार ११ अप्रिलका दिन तोकिएका क्षेत्रका भारतीयहरूले दिनभर तोकिएको अवधिमा आआफ्नो मतदान गर्न पाउने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि यो मतदान जनमत संग्रहको रूपमा हेरिएको  छ ।

पहिलो चरणको निर्वाचनमा भारतका २० वटा प्रान्त र केन्द्रशासित क्षेत्रका ९१ वटा निर्वाचनक्षेत्रका जनताले मतदान गर्ने छन् ।

आन्ध्र प्रदेश,अरूणाचल प्रदेश,आसाम, बिहार,छत्तीसगढ, जम्मु काश्मिर, महाराष्ट्र, मिजोरम,मणिपुर,मेघालय, नागाल्याण्ड,उडिसा, सिक्किम,तेलांगना, त्रिपुरा,उत्तरप्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अण्डानमान निकोबार र लक्ष्यद्वीपका तोकिएको क्षेत्रका मतदान केन्द्रहरूमा मतदान हुनेछ ।

संसद्को तल्लो सदन लोकसभाका लागि सात चरणमा हुने निर्वाचनको अन्तिम मतदान मे महिनाको १९ तारिखसम्म हुनेछ । तर मतगणना भने २३ तारिखमा सुरु हुनेछ ।

भारतमा मतदान गर्न योग्य मतदाताहरूको संख्या ९० करोड रहेको निर्वाचन आयोगले जनाएको छ ।

मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी सन् २०१४ को निर्वाचनमा ठूलो मतसहित जितेको थियो।

लोकसभामा पाँच सय ४३ निर्वा्चित सिट छ र सरकार बनाउनका लागि कुनै पनि पार्टी वा गठबन्धनले कम्तीमा दुई सय ७२ सिट जित्नुपर्नेछ ।

भाजपाले अहिलेको जस्तै बहुमत कायम गर्न निर्वाचन अभियान चलाएको छ ।

बलिया क्षेत्रीय पार्टीहरू र राहुल गान्धीले नेतृत्व गरेको प्रमुख प्रतिपक्षी कंग्रेस पार्टीबाट ठूलो चुनौतीको सामना गर्नुपरेको छ । 

२०१४को तुलनामा यो वर्ष यो निर्वाचनमा ८ करोड ३लाख नयाँ मतदाता थपिएका छन् । १८ देखि १९ वर्ष भित्रका मतदाताहरूको संख्या यो निर्वाचन १.५ करोड  रहेका छन् ।

१० लाख मतदान केन्द्र तोकिएको यो चुनावको सबै मतदान पूरा हुन ३९ दिन लाग्नेछ ।

सन् २०१४को चुनाव भाजपाका लागि ऐतिहासिक चुनाव थियो । भाजपाको गठबन्धनलाई राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडीए) र कांग्रेस नेतृत्वको गठबन्धनलाई एकीकृत प्रगतिशील  गठबन्धन(युपीए)को रूपमा रहेका छन् । सन् २०१४मा एनडीएमा एक्लै भाजपाले २८२ सीट ल्याएको थियो । जुन भारतको सरकार बनाउन एक्लो बहुमत भन्दा १० स्थान बढी थियो । एनडीएका अन्य घटकहरूको कुल सीट ५४ थियो । युपीए गठबन्धनको कांग्रेसलाई ४४ सीट थियो । 

युपीएका अन्य घटकको  १६ सीट थियो । यी दुई गठबन्धन बाहेकको १४७ सीट थियो ।

राहुलका जिजुबुबा जवाहर लाल नेहरू भारतका पहिला निर्वाचित प्रधानमन्त्री हुन भने हजुरआमा इन्दिरा गान्धी र बाबु राजीव गान्धी प्रधानमन्त्री भइसकेका छन् । 

सन् २०१४मा ६६ प्रतिशत मतदान भएको थियो । कुनै पनि मतदातालाई दुई किलोमिटर भन्दा टाढा जान नपर्ने गरी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

सन् १९४७मा भारत अंग्रेजबाट स्वतन्त्र भएको भारतमा पहिलो पटक लोकसभाको चुनाव सन् १९५१/५२मा तीन महिना लगाएर सम्पन्न गरिएको थियो । १९६२ देखि १९८९सम्म मतदान सकिन ४ देखि १० दिनसम्म लागेको थियो । सन् १९८०मा यो निर्वाचन ४ दिनमै सकिएको थियो । यो अहिलेसम्मकै सबै भन्दा छोटो समयमा सकिएको लोकसभा निर्वाचन मानिएको छ ।

आज हुने चुनावमा १४ करोड २० लाख ५४ हजार मतदाताले मतदान गर्ने भएका छन् । आज हुने चुनावमा सबै भन्दा २५ ठाउँमा आन्ध्र प्रदेशमा चुनाव हुन्छ ,तेलांगनाका सबै १७ ठाउँमा, उत्तर प्रदेशका ८ ठाउँ, महाराष्ट्रका ७, उत्तराखण्डका ५, आसामका ५ बिहार र उडिसाका ४, पश्चिम बंगाल र जम्मुकाश्मिरका २ र बाँकी तोकिएका अन्य प्रान्तका एक एक स्थानमा मतदान हुने भएका छन् ।
 

२०७५ साल चैत्र २८ गते