प्रदेश २ को नामाकरणको बहस : मिथिला भोजपुरा नाम हुने प्रबल सम्भावना

प्रदेश २ को नामाकरणको बहस : मिथिला भोजपुरा नाम हुने प्रबल सम्भावना

सम्भवतः प्रदेश २ को राजधानी अहिले भएकै स्थानमा हुन सक्छ । राजधानीको विषयमा यो प्रदेशमा त्यति धेरै मत विभाजन नहोला तर नामाकरणको विषयमा त्यहाँ ठूलै राजनैतिक मुद्धा विवादित हुनेछ । राजपा र सससफोको दूई तिहाई बहुमत भएको भए सहजै ‘मधेस प्रदेश’ नामाकरण हुन्थ्यो होला भन्ने आम धारणा हुन सक्छ । तर त्यस्तो अवस्थामा पनि मधेस नामाकरण गर्नु त्यति सहज भने हुने थिएन । 

प्रदेशको नामाकरण सहजै हुन्थ्यो भने प्रदेश एकको पनि भइसक्ने थियो । यो प्रदेशमा नेकपाको दुई तिहाइ बहुमत छ । यसरी नै प्रदेश नं ३ को पनि नामाकरण भइसक्ने थियो । प्रदेश नं २ को नामाकरण (मधेस, मध्य मधेस वा मिथिला–भोजपुरा) जे भए पनि त्यसले नेपालको अन्य प्रदेशलाई पनि प्रभावित गर्छ । यसर्थ कमसे कम यो सेशनमा यो प्रदेश नं २ को नामाकरण हुने सम्भावना नै छैन ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले बारम्बार प्रदेश नं २ लाई ‘मिथिला–भोजपुरा’ नामाकरण गर्न र राज्यको सरकारी कामकाजी भाषा मिथिला–भोजपुर राख्न सार्वजनिक रुपमा अपील गर्दै आएका छन् । तर उनको यो भनाई ‘सार्वजनिक खपत’का लागि भनिएका बेमौसमको राग हो । ससफो र राजपाले मधेस नाम बाहेक अन्य नाममा सहमति जनाउने आन्दोलनको आदेश छैन । यो कुरा बुझेर नै कांग्रेसी नेताहरुलाई यस्तो कुरा भुट्न सजिलो परेको हो । यदि ससफो र राजपाले मिथिला–भोजपुर नामाकरण गर्ने निर्णय गरे भने पनि कांग्रेसले त्यत्तिखेर खुट्टा झिक्ने निश्चित छ । वास्तवमा अहिलेको सात प्रदेश पहिलो संविधानसभाको विषयगत समिति राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिमा नेपाली कांग्रेसले प्रस्ताव गरेको सात प्रदेशसँग अहिलेको २ नं प्रदेश बाहेक सबै मिल्छ ।

मिथिला भोजपुरा नाम हुने प्रबल सम्भावना

संघीयताको सही र एक ठोस खाका जनता समक्ष राखेर माओवादीहरूले माओवादी जनयुद्ध गरेका थिए । माओवादीहरूले पृथकतावादी धक्काबाट संरक्षण गर्दै अधिकार जनतामा पु¥याइ नयाँ प्रकारको राष्ट्रिय एकता निर्माण गर्ने योजनासहित जनयुद्धमा संघीयताका प्रदेशहरूको नामाकरण गरी जनयुद्ध अगाडि बढाए ।

नेपालीहरूमा निर्माण हुने त्यो राष्ट्रिय एकताका विरोधीहरूले नष्ट पार्ने नाममा माओवादी आन्दोलनभित्र र बाहिर जबर्जस्त प्रहार गरेर त्यो आन्दोलनलाई ध्वस्त पार्न यसरी सफलता प्राप्त गर्न सफल भए कि अहिले माओवादी पार्टीको रूपमा बिलाउन पुगेको छ भने व्यक्तिगतरूपमा आफूलाई माओवादी भएको भन्न गौरव गर्न थोरै भए पनि देश चाहेर  नचाहेर त्यही एजेन्डामा अघि बढिरहेको छ ।

हुनत केही मधेशवादी दलका कार्यकर्ता र मधेश आधारित राजनीतिक पार्टीका नेताहरूले संघीयता हाम्रो सैद्धान्तिक व्यावहारिक उपज भएको बताउन पछि पर्दैनन् । सत्य के पनि हो भने माओवादीहरूले अन्तरिम संविधानमा संघीयता शब्द राख्न कञ्जुस्याईँ गर्न नचाहेको भए मधेश आन्दोलन हुन्थ्यो न त त्यस आन्दोलनको आडमा माओवादी आन्दोलनको धार भुत्ते हुन्थ्यो ।

जे भए पनि त्यो पुरानो गीत गाएर अहिले कुनै काम छैन् । तर विगतका विषयहरू वर्तमानमा सही कदम चाल्न सहयोगी  हुन सक्छन् । 

परिणाम प्रदेशहरूको नाम राख्न अझ समस्या भइरहेको छ । प्रदेश नम्बर २ को प्रदेश सभाका पार्टीहरूबीच प्रदेश नाम राख्ने विषयमा सहमति हुन सकेको छैन् ।

प्रदेश २ कोे स्थायी राजधानी कहाँ राख्ने र नामाकरण के हुने बिषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि गर्ने प्रदेश सभा सदस्यहरूको व्यक्तिगत बुझाइ कमजोर हुनु र पार्टीहरूमा यस विषयमा वर्चस्वताको राजनीतिक जोडतोडको बुझाइ रहेकाले यसमा निर्णइ हुन नसकेको देखिन्छ ।

प्रदेशको नाम र राजधानीबारे प्रदेशसभाको दुई तिहाईले निर्णय गर्नुपर्ने संविधानले गरेको व्यवस्था छ । तर, प्रदेश २ सरकारमा सामान्यरूपमा सरकार चलाउन चाहिने ५१ प्रतिशतको बहुमत त कुनै पनि दललाई प्राप्त भएको छैन् । झन् नाम र राजधानीका लागि चाहिने आवश्यक दुई तिहाइको कुरो त झन धेरै टाढाको विषय हो ।

यो परिदृश्यमा  नामाकरण र नाम राख्न राजनीतिक दलबीच दुई तिहाईका लागि सहमति बन्नु पर्ने छ ।

प्रदेश २ को सरकार गठन गर्न संघीय समाजवादी फोरम र राजपाबीच गठबन्धन गर्नुपर्ने भएको छ । दुबै दलसँग सामान्य बहुमत अर्थात ५४ जना मात्र छ । एक सय सात सदस्यीय प्रदेशसभामा नेकपासँग ३२ र नेपाली कांग्रेसका १९ सांसद छन् । अब कांग्रेस वा नेकपामध्ये कुनै एक दलको समर्थन नभएसम्म सत्तारुढ दलले दुई तिहाई पु¥याउन नसक्ने स्थिति छ । 

तर, प्रदेशको नाममा सत्तारुढ र विपक्षीको मत फरक देखिएको छ । फोरम र राजपा प्रदेशको नाम मधेश राख्ने पक्षमा देखिएका छन् भने प्रतिपक्षी नेकपा र कांग्रेस ‘मधेश’ नाम कुनै हालतमा स्वीकार नगर्ने अडानमा छन् ।

अहिले रहेको अस्थायी राजधानी जनकपुरलाई नै प्रदेशको स्थायी राजधानी बनाउने सम्भावना बढी छ । शुरूमा वीरगञ्जमा राजधानी माग गर्दै आन्दोलन भए पनि अहिले जनकपुर नै कायम राख्नुपर्नेमा प्रदेशका अधिकांश जिल्लाबासीहरुको भावना छ । उनीहरूले जनकपुरलाई राजधानी बनाएर जाने भए पनि यसको घोषणा हुन बाँकी छ ।

विपक्षी नेकपाले मिथिला या जनक तथा कांग्रेसले मिथिला या मिथिला–भोजपुरा प्रदेश नाम राख्नुपर्ने बताउँदै आएको छ भने सत्तासीन फोरम नेपाल र राजपाले मधेश प्रदेश हुनुपर्ने अडान लिदै आएको छ ।

केही दिन अघि जनकपुरमा सम्पन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटनमा संघीय सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले प्रदेश नम्बर २ को नाम मिथिला भोजपुरा राख्नु पर्ने अभिव्यक्ति दिएपछि मधेश आधारित राजनीतिक दलको अडान केही कमजोर भएको देखिन्छ ।

धार्मिक, साँस्कृतिक, पौराणिक, भौगोलिक तथा भौतिक संरचनाका हिसाबले प्रदेशको राजधानी ‘जनकपुर’ उपयुक्त हुनेमा अधिकांश दल एकमत देखिए पनि प्रदेशको नामाकरणका विषयमा भने फरक फरक फरक धारणामा रहेका दललाई देउवाको पछिल्लो अभिव्यक्तिले पुनर्विचार गर्ने अवस्थामा पु¥याएको छ ।

मधेशबादी दलका नेताहरुले प्रदेश २ को नाम मध्य–मधेश वा मधेश राख्नुपर्ने बताउँछन भने नेकपा र काँग्रेसका नेताहरुले राजर्षी जनक, जानकी, तथा मिथिला–भोजपुरा प्रदेश राख्दा उपयुक्त हुने सुझावहरूमा लबिङ गरिरहेका छन् ।

‘मधेश’ आन्दोलन मधेश प्रदेशकै लागि भएको थियो’ संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवको बुझाइ छ । उनले भने– ‘‘आन्दोलनको भावना बिर्सेर अन्यत्र बग्ने वेला छैन, बिनाशर्त मधेश प्रदेशका लागि एक भएर लाग्नु पर्छ ।”

राजपा पनि मधेशकै पक्षमा देखिएको छ । राजपाका सप्तरी अध्यक्ष मण्डलका संयोजक सतिश कुमार सिंहले मधेश शब्दलाई आफूहरु नछाड्ने बताउँछन् ।  ’यत्रो लामो समय आन्दोलन भयो, धेरै जनताले बलिदानी दिए, त्यसलाई कसरी खेर जान दिने ?’ उनले भने–“त्यसैले मधेश शब्दबाट प्रदेशको नामांकरण हुनुपर्छ ।”

सत्तासीन दलहरुले ‘मधेश’ शब्द राख्नुपर्ने बताइरहँदा विपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यो शब्द स्वीकार्न तयार छैन् । प्राचीन युगदेखि रहँदै आएको मिथिलाको इतिहासलाई कुनै पनि हालतमा मेटाउन नदिने नेताहरु बताउँछन् ।

कुनै हालतमा मधेश स्वीकार्दैनौं, नेकपाका छेदी रजकले भने –‘‘मिथिलाको इतिहास त्रेतायुगदेखि छ, मधेशको इतिहास छैन् ।”

प्रदेशको नाम मिथिला र भाषा मैथिली हुनुपर्ने तर्क उनको छ । यो नाममा सहमति नभए मिथिला, भोजपुरा, जानकी या जनक प्रदेशबाट नामाकरण गर्न सकिन्छ ।

‘मधेश’ कसरी मान्ने, कुन आधारमा मान्ने ?’ काँग्रेसका नेता राधाकान्त देवले भने, सत्तारुढ दलले आन्दोलन गरेकै आधारमा मधेश शब्दबाट प्रदेशको नामाकरण गर्न खोजिए गलत हुन्छ । प्रदेश २ मा धार्मिक आस्था बोकको व्यक्तिहरु बहुसंख्यक भएकाले मिथिला भोजपुरा प्रदेश बनाउन सकिने उनको सुझाब छ । 

प्रदेश २ मा पर्ने आठ जिल्लामा मात्रै मधेश आन्दोलन नभएको भन्दै नेकपाका अर्का नेता भगवती यादवले भने– ‘‘आन्दोलन गर्दा समग्र मधेश एक प्रदेश माग्ने अनि अहिले आठ जिल्लालाई मात्रै मधेश भन्ने ?’ उनको भनाइमा भाषा मैथिली बनाउनु आवश्यक छ ।

तर, सत्तारुढ दलका नेताहरु भने नेकपा र कांग्रेस सहमतिमा आउने दाबी गर्छन् । मधेश आन्दोलन गरेपछि यो प्रदेश प्राप्त भएको दाबी गर्दै संघीय समाजवादी फोरम नेपालका प्रदेश मुख्य सचिव शम्भु झा नेकपा र काँग्रेससँग यस बिषयमा छलफल भइरहेको बताउँछन ।  

काँग्रेससँग धेरै पटक छलफल भइसकेको र नेकपासँग पनि छलफल गर्न लागिएको उनको भनाइ छ । 

चैत्र महिनाभित्रै प्रदेशको नामाकरण र स्थायी राजधानीको टुङ्खो लगाउने प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बताए पनि यसलाई मुर्तरुप दिन अहिलेसम्म प्रदेश सरकारले ठोस कार्य नै अघि बढाएको छैन् ।  न त संसदमा यसबारे छलफल हुन नसकेको न दलहरुबीच ठोस सहमति नै हुन सकेको छ । 

प्रदेशसभा सांसद र दलका नेताहरु मात्रै नभई जनस्तर सम्म पनि प्रदेशको नाम र राजधानीको बिषयलाई लिएर अन्यौलमा परेका छन् । प्रदेश सरकार गठन भएको एक बर्ष पुग्नै लाग्दा समेत तत्काल प्रदेशको नाम र राजधानीको बिषयमा ठोस प्रगति हुने छाँटकाँट देखिएको छैन ।

हुन त प्रदेश २ सरकारले प्रदेशको नाम, स्थायी राजधानी र भाषाबारे सुझाव दिन गत ०७५ कार्तिक ११ गते डा. हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय आयोग समेत गठन गरेको थियो । आयोगले जनस्तरबाटै सुझाब संकलन गरी प्रदेश सरकारलाई प्रतिबेदन बुझाई सकेको छ ।

प्रतिवेदन तयार पार्नेहरूसँग निकट सम्बन्ध राख्ने स्रोतका अनुसार समितिले विकल्पहरू प्रस्तुत गरेको छ । ठोसरूपमा यो वा त्यो रूपमा नाम नसुझाइएको स्रोतले जनायो । स्रोतका अनुसार मिथिलि भोजपुरा पनि एक विकल्प भएको हुन सक्ने र यसमा मतदान हुँदा दुई तिहाई पुग्न सक्ने सम्भावना बलियो हुन सक्ने छ । 

स्रोत भन्छ– नाम राख्ने विषयमा सैद्धान्तिकरूपमा नेकपा र कांग्रेस एकै ठाउँमा रहेको छ । मधेश नामै राख्ने दलहरूले पनि यो नाम प्रति त्यतिको पूर्वाग्रही हुन सक्दैनन् ।”

राजपा पार्टी निकट स्रोतका अनुसार प्रदेश २ लाई मधेश भनेर जाँदा पार्टीको राजधानी ८ जिल्लामा खुम्चिने कारणले यस विषयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता नेताहरूले औंल्याइरहेका छन् । मिथिला भोजपुरा माओवादीहरूले सुझाएको नाम हो यसलाई राख्न हुन्न भन्ने शक्ति र मानसिकता अझै बाँँकी रहेमा भन्न नसकिने प्रदेश सचिवालयका एक सदस्यले बताए ।