दैनिक एक हजार छ सय भत्तामा मुक्तिनाथ यात्रा 

दैनिक एक हजार छ सय भत्तामा मुक्तिनाथ यात्रा 

२९ चैत्र, धरान । धरान उप–महानगरपालिकाको नयाँ वर्षे टुरलाई लिएर वडा अध्यक्ष नेत्र काफ्लेले चर्को विरोध गरेका छन् । फजुल खर्च गर्दै पिकनिक मनाउने काम गर्न नहुने अडानपछि वडा नं. ४, १० र २० वडा अध्यक्षबाहेकले घुमघाम गर्ने नगरको निर्णय बहिष्कार गरेका छन् । 

दैनिक प्रतिव्यक्ति एक हजार छ सय भत्ता तोकिएको यो भ्रमण धरान, भरतपुर, पोखरा हुँदै मुक्तिनाथसम्म जाने तय भएको वडाध्यक्ष काफ्लेले बताएका छन् । 

यस्ता भ्रमणहरुमा कुनै पनि प्रकारको समीक्षा पनि नहुने र नगरको रकम दुरुपयोग मात्र हुँदै गएको छ  । केही दिन अगाडि मात्र यस्तो भ्रमण भएको लगत्तै यो भ्रमण हुनु फजुल खर्च हो भन्दै कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीको कार्यशैलीको विरोध तिनले सडकमै उत्रेर गरे । 

रोल्पाको सुनिल स्मृति गाउँपालिकाका पदाधिकारी छ लाख बोकेर भारत भ्रमणमा, सेवाग्राही आक्रोसित

अध्यक्ष काफ्लेले अझै अगाडि बढेर नगरको मेयर सुवेदीसँग आगामी दिनमा काम गर्न पनि नसकिने बताएका छन् । उनले चाँडै मेयरको निर्वाचन हुनु पर्ने र समस्याको समाधान गर्न अपील पनि गरे । गत वर्ष नगरका मेयर तारा सुब्बाको निधनपछि सुवेदीले कार्यवाहक हैसियत पाएकी हुन । यो भ्रमणमा केही वडाध्यक्षसहित दुइ दर्जन सदस्यहरु गएका छन् । 

रमाइलो चाहिं के छ भने भ्रमणमा जाने र विरोध गर्ने दुवैथरि साविक नेकपा एमालेबाट निर्वाचित सदस्यहरु हुन । यो भ्रमणमा तत्कालीन एमालेको गुटवन्दी झल्किएको छ ।