गरिब नेपालीको थाप्लोमा ऋण थपिन छाडेन

गरिब नेपालीको थाप्लोमा ऋण थपिन छाडेन

काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आफ्नो ५६ औं प्रतिवेदनमा गत वर्षको भन्दा यो वर्ष प्रत्येक नेपालीहरुको टाउकोमा ऋणको बोझ थपिएको उल्लेख भएको छ । 

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/०७५ अनुसार प्रत्येक नेपालीको थाप्लोमा ३१ हजार ७ सय ५० रुपैयाँ ऋण पुगेको छ। त्यसअघिको वर्षको तुलनामा नेपालीको ऋण ७ हजार ४३ रुपैयाँले बढेको हो। 

मुक्तिदाता कम्युनिष्ट दुईतिहाइको सरकार भएतापनि ऋणको भार दिनप्रतिदिन घट्नुको साटो बढ्दो देखिन्छ । समृद्ध नेपाल, सुखी नेपालीुको नारासहित दुईतिहाईको सरकार संचालन भएको एक वर्ष पूरा भए पनि आम नेपालीहरुको थाप्लोमा ऋण थपिने क्रमले भने विश्राम पाएको छैन ।

आर्थिक वर्ष ०७३/०७४ मा प्रत्येक नेपालीको टाउकोमा २४ हजार ७ सय ७ रुपैयाँ मात्र ऋण  रहेकोमा आर्थिक वर्ष २०७४/७५ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। आन्तरिक ऋण ३ खर्ब ९१ अर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड  रुपैयाँ रहेको छ ।

कुल ऋण पनि गत वर्षको तुलनामा ३१.१९ प्रतिशतले वृद्धि भएको देखाइएको छ । २०६८ को जनगणनाअनुसार कुल जनसंख्या २ करोड ८८ लाख २९ हजारलाई आधार मान्दा यो वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व ३१ हजार ७५० रुपैयाँ रहेको छ। प्रतिव्यक्ति ऋण दायित्व गत वर्षभन्दा ७ हजार ४३ ले बढ्न गएको महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको आफ्नो ५६ औं प्रतिवेदनमा जनाएको छ ।