नयाँ बर्षको पहिलो दिनमा मात्र फुल्ने अनौठो फूल  

नयाँ बर्षको पहिलो दिनमा मात्र फुल्ने अनौठो फूल  

सिरहा, ३० चैत्र । सिरहाको लहान नगरपालिकास्थित ऐतिहासिक सलहेस फूलबारी पर्यटकीय क्षेत्रमा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेका दिनमात्र फुल्ने अनोठो फुल हेर्न ठूलो घुइचो लाग्न थालेको छ ।

 पश्चिम पूर्व पश्चिम राजमार्गसँगै रहेको सलहेस फूलवारीमा एक दिन मात्र फुल्ने अनौठो फूलको दर्शन गर्न नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु आउने गर्छन् । 
    
राजा सलहेस र उनकी प्रेमिका मालिनीको प्रेम प्रतिकका रुपमा स्थानीय सलहेस फूलबारी करिब १० विगाहा क्षेत्रफलमा फैलिएको छ । 

लहान बजारदेखि करिब पाँच किलोमिटरको दुरीमा रहेको फूलबारीमा रहेको प्राचीनको दुई वटा हारम प्रजातिको रुखको मध्य भागमा प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फूल फुल्ने गर्छन् । ती माला हेर्न र मेला भर्न सिरहासहित सप्तरी, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा भारतका निकटवर्ती गाउँहरुबाट ठूलो संख्यामा सर्वसाधारणहरुको घुँइचो लाग्ने गर्छ । मेलाको पूर्व सन्ध्यामा अहिले फूलबारी क्षेत्रमा चहलपहल बढेको छ ।
 
पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरुमध्ये सलहेस फूलवारीमा नयाँ वर्षको पहिलो दिन पूजा अर्चना गरी नयाँ कामको थालनी गर्छन् ।

विस १३२५ ताकाका प्रतापी राजा सलहेसको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप प्रत्येक वैशाख १ गते यहाँ परम्परागत मेला लाग्ने गर्छ । हरेक वर्षको वैशाख संक्रान्तिका बेला एक दिन मात्र फुल्ने मालाको आकार ग्रहण गर्ने फूल त्यही दिन साँझ औलाइएर जान्छ ।

सलहेस तराईका पासवान जातीको इष्टदेव रहेको जानकारहरुको भनाइ छ । तेह्रौ शताब्दीका लोकनायक भएकोले सलहेसको पूजाअर्चना गर्नाले मनोकांक्षा, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधी हरण हुने जन विश्वास रहेको छ । 

फूलबारीभित्र दुर्लभ जातिका जडीबुटीहरु खोज्न भारतको बिहार, पश्चिम बंगला, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको संख्या आउने गर्दछन् ।

हरेक नयाँ वर्षको दिन फुल्ने यो फूललाई राजा जयवद्र्धन सलहेस र दौना मालिनीको पे्रम प्रतिकका रुपमा लिइन्छ र त्यही फूललाई साक्षी राखी युवायुवतीहरु प्रणयसूत्रमा बाँधिने गर्दछन् ।

राजा सलहेस प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी फूलबारीमा आफ्ना साथीहरुसँग कुस्ती लडेपछि प्रेमीका मालिनीसँग वनविहार गर्ने किम्बदन्ती रहेको छ । 

सलहेस फूलवारी क्षेत्रत्रिभ चारैतिर मूल फुटेर पानी बगिरहेको हुन्छ । फूलवारीमा प्रवेश गरेपछि शान्ति र प्रेमको भाव आफै उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसहरुलाई मात्रै होइन, भाकल गर्ने जो सुकैको मनोकामना पूरा हुने गरेकाले भारतीय पर्यटक भक्तजनहरु आउने गर्दछन् । 

को हुन सलहेस ?

राजर्षी राजा जनकपछि मिथिलामा उनलाई ठूलोे व्यक्तित्व मानिन्छ । पाँचौ–छैठौ शताब्दीतिर मिथिलामा आफ्नो पराक्रम र चामत्कारिक नेतृत्वले गर्दा आजसम्म सलहेसको चर्चा छ ।

सिरहाको महिसोथा उनको जन्मस्थल रहेको हो । उनको वास्तविक नाम भने राजा जयवर्धन सैलेस  थियो । उनी कुनै दन्त्य कथाका पात्र होइनन्, न त पुराणका यशस्वी राजर्षी नै हुन् । उनी त्यतिबेला राजा भएता पनि लोक कल्याणमा सक्रिय थिए जसका कारण जनताका प्रिय पात्र बनेको बताइन्छ । त्यसैले आज आममानिस नै यिनको अमरत्वको रक्षक बनेका छन् । 

प्रेम, प्रकृति, शौर्य, न्याय र नेतृत्व सबै गुणमा उनी सबल मानिन्थे । सलहेसमात्र नभएर उनका सहयोगी पात्रहरू पनि देउता झैँ पूजन्छिन । पूर्वी नेपाल र उत्तरी बिहार अर्थात मिथिला क्षेत्र सलहेसको कर्मथलो रह्यो । मिथिलामा अन्याय, अत्याचार र अराजकता बढेको समयमा सलहेसको प्रादुर्भाव भएको मानिन्छ ।